विकास निमर्लाणमा भन्दा प्रशासनिकमा खर्च बढि

काभ्रे । जिल्लाको अधिकांश स्थानीय तहमा विकास निर्माणको काममा भन्दा पनि प्रशासनिक र सडक सञ्जाललाई बढी प्राथामिकतामा राखिएको पाइएको छ ।

गाउँपालिका र नगरपालिकाहरुले प्रशासनिक खर्च बढी र विकास निर्माण खर्चमा कम ध्यान दिएको पाइएको हो । कतै सडक सञ्जाललाई बढी प्राथामिकता दिएको छ भने कतै खानेपानीलाई बढि प्राथामिकतामा राखिएको छ ।

कुन गाउँपालिका र नगरपालिकाले बढि प्राथामिकतामा राखे ?

बनेपा नगरपालिका

काभ्रे जिल्लाको व्यापारिक नगर बनेपाले आर्थिक वर्ष ०७४÷०७५ का लागि कुल बजेट २२ करोड ६९ लाख ४५ हजार ८ सय सतचालिस रुपियाँ नगर परिषदद्वारा विनियोजन गरिएकोमा नगर प्रशासन सञ्चालनमा मात्रै १७ करोड ९४ लाख ३ हजार नौ सय २६ रुपियाँ खर्च गरिएको देखिन्छ ।

नगरपालिकाका सूचना प्रविधि अधिकृत शुरेसकुमार थापाका अनुसार नगरपालिकाले नगरबासीलाई खानेपानी सुविधा पु¥याउनका लागि ६० प्रतिशत खर्च गरिएको छ । कुल बजेटको अधिकांश भाग प्रशासनिक खर्चमा सकिएको बनेपा नगरपालिकाले विकास निर्माणका अन्य काममा भने न्यून खर्च गरेको पाइएको छ । नगरले सडक र ढल निकास तथा सिंचाई शिर्षकमा क्रमागत रुपमा खर्च हुने गरेको कार्यकारी अधिकृत भोजराज घिमिरेले बताए ।

प्राविधिक जनशक्तिको अभावका कारण काम प्रभावित हुँदै आइरहेको कर्मचारीहरु बताउँछन् । विकास निर्माण अन्तर्गत बढी खानेपानी, मोटरबाटो, ढल सिँचाईमा खर्च भइरहेकोे बनेपा नगरपालिका कार्यकारी अधिकृत घिमिरेले बताए ।

त्यस्तै विकास निर्माण अन्र्तगत कालोपत्रे ३५ किलोमिटर, ग्राबेल ३० किलोमिटर, कच्ची सडक ५० किलोमिटर, अन्य भौतिक पूर्वाधार विकासमा खानेपानी सुविधा ६० प्रतिशत ढल १५ किलोमिटर, विद्युत सबै ठाउँमा र टेलिफोन सुविधा ६५ प्रतिशत नगरबासिहरुले उपयोग गर्दै आइरहेको छ ।

नगरपालिकाले भने उत्पादन तथा रोजगारमुलक कार्यक्रम सञ्चालन गरेको पाएको छैन । नगरले मास्टर प्लान समेत बनाएको छैन ।

धुलिखेल नगरपालिका

धुलिखेल नगरपालिकाले आर्थिक वर्ष ०७४÷०७५ का लागि ४७ करोड बजेट बिनियोजित मध्ये ५ करोड प्रशासनिक खर्च, उत्पादन तथा रोजगारमुलक कार्यक्रममा २ करोड र बाँकी विकास खर्चमा खर्च हुने नगर प्रमुख अशोकुमार ब्याञ्जुले जानकारी दिए ।

उनका अनुसार बिनियोजित मुख्य बजेट मध्ये खानेपानी, बाटो, पार्यटकीय विकास, सडक, शिक्षा, गरिबी निबारणमा खर्च भइरहेको छ ।

आगामी वर्षको प्राथामिकता भनेको नै पर्यटकीयस्थललाई बलियो बनाउने, खानेपानी, बाटो, शिक्षा क्षेत्र र गरिबी निबरणलाई नै प्राथामिकतामा राखेको प्रमुख व्याञ्जुले बताए । १८ वटा विषयमा मास्टर प्लानीङ बनिरहेको मेयर ब्यञ्जुले जनाकारी दिए । ‘कृषि, शिक्षा, कला सहित्य र गरिबी निबरण, पर्यटकी क्षेत्रको विकास लगायत १८ वटा विषयमा मास्टर प्लानीङ बनी रहेको छ ।’ उनले भने ।

चौरीदेउराली गाउँपालिका

चौरीदेउराली गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि कुल २५ करोड ३७ लाख गाउँ परिषद्द्वारा बिनियोजित गरेको मध्ये प्रशासनि खर्च १७ करोड छुट्याइएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जनाकारी दिए ।

उनका अनुसार स्थानीय तहको मुख्य बजेट कृषि, खानेपानी, उत्पादन तथा रोजगारमुलक कार्यक्रमहरु पनि सञ्चालन भइरहेको छ । कर्मचारी भने यहाँ पनि अपुग नै छन् । यस गाउँपालिकामा कार्यकारी, लेखा अधिकृत, वडा सचिब ३ जना छन् कामहरु प्रभावित बनिरहेको छ ।

आगमी वर्षको स्थानीय तहको प्राथामिकता भनेकै खानेपानी र उत्पादकमूलक नै रहने गौतमको भनाई छ ।

पनौती नगरपालिका

आर्थिक वर्ष ०७४÷०७५ को लागि पनौती नगरपालिकाको नगरपरिषद्द्वारा कुल बजेट ५५ करोड ८४ लाख ७३ हजार बिनियोजित मध्ये प्रशासनिक खर्च २७ करोड ३४ लाख ३० हजार छुट्टयाइएको बरिष्ठ प्रशासकिय अधिकारी इन्द्र अधिकारीले जानकारी दिए ।

 

उनका अनुसार पुँजीगत तर्फ २८ करोड २८ लाख ९३ हजार अन्य पूर्वाधार १६ करोड ९० लाख रुपैयाँ रहेको छ । नगरपालिका मेयर भिम न्यौपानेले विशेष गरी बृद्धभत्ता, कर्मचारी तलब, शिक्षा, स्वास्थ्य र कृषिमा बढि खर्च भइरहेको बताए ।

‘९४ जना कर्मचारी भएपनि विषयगत कर्मचारी छैनन् ।’ उनले भने, ‘आगमी मकर मेलाका लागि अन्तरिक तयारी र पुण्यमाता करिडोरलाई पहिलो प्राथामिकतामा राखेका छौँ । मास्टर प्लान बनीसकेको र त्यसका लागि ५ करोड रुपैयाँ रकम पनि छुट्टयाई सकेका छौँ ।’

 नमोबुद्ध नगरपालिका

नमोबुद्ध नगरपालिकाले नगर परिषदबाट कुल १७ करोड ५२ लाख रुपैया रकम बिनियोजित गरेको छ त्यस मध्ये प्रशासनिक खर्चका लागि ९ करोड ७३ लाख रुपैया विनियोजित गरेको मेयर टि.पी शर्मा तिमल्सिनाले बताए ।


सबै विकास खर्च, पूर्वधार लगायत विबिध विकासका लागि खर्च भइरहेको मेयर तिमल्सिनाले जानकारी दिए ।

पाँचखाल नगरपालिका

जिल्लाको पाँचखाल नगरपालिकाले नगर परिषद्बाट ४० करोड बजेट बिनियोजित गरेको छ । बिनियोजित कुल बजेट मध्ये प्रशासनिक खर्च ४ करोड १९ लाख खर्च भइरहेको छ । विकास खर्च २० करोड छुट्टाइएको लेखा अधिकृत कमल लामाले जानकारी दिए । उनका अनुसार १३ वटा वडा कार्यालयका लागि ३ जना वडा सचिवको भरमा काम गरी राख्नु पर्ने बाध्यता रहेको छ ।

नगरका मेयर खरेलले सेजको लागि भनेर बजेट छुट्टिइसकेको बताए । ‘हामीले पाएको जानकारी अनुसार अहिले २२ करोडको टेण्डर आह्रवान भएको छ उनले भने, ‘कोशीदेखामा केन्द्रीय सरकारबाट बिनियोजित १३ करोड रुपैयाँले खरेलथोक–कालिन्जोर मुनिसम्म बाटो पिच गर्नका लागि कटिङको काम सकिइसकेको छ ।’

आजसम्म ओझेलमा परेको बालुवाको ठकुरी गाउँमा डीप बोरिङका लागि ३० लाख रुपैयाँ बजेट छुट्ट्याएका मेयर खरेलले बताए । कोशी देखामा नवज्योति भन्ने संस्थासँग सहकार्य गरेर ७ देखि ८ करोडको लागतमा खानेपानीको योजना सुरु गरेका उनले जानकारी दिए ।
‘नगर विकासको सहयोगमा पाँचखालको बृहत खानेपानी आयोजना परेको छ । ६ नम्बर र ५ नम्बरका सबैको सहयोग भयो भने ३ वर्ष्िभत्रमा त्यो बृहत् योजना पनि लागू सञ्चालनमा आउने छ ।’ उनले भने, ‘हामीले रिङरोड बनाउने विषयको पनि निरीक्षण गरिरहेका छौँ । शिखरपुर जाने बाटोमा भवन डिभिजनको सहयोगबाट ५ करोडको टेण्डर लागिसकेको छ ।’

नगरको विकासका लागि अगामी वर्षमा मुख्य प्राथमिकता भनेको प्राथमिकतामा शिक्षा, पिउने पानी, कृषि,सडक र सिँचाईका लागि बाँध (पोखरी) लाई राखेको उनले बताए ।

मण्डनदेउपुर नगरपालीका

आर्थिक वर्ष ०७४÷०७५ का मण्डन देउपुर नगरपालिकाले ३९ करोड ८१ लाख ८५ हजार ५ सय ४७ रुपैया कुल बजेट बिनियोजित गरेको छ ।

कुल बजेटबाट ४ करोड १ लाख ९५ हजार १ सय ४० रुपैया रकम प्रशासनिक खर्च छुट्टयाइएको लेखा अधिकृत कमल खडकाले जानकारी दिए । उतपादन तथा रोजगारमूलक कार्यक्रमको ९० लाख १ हजार ३ सय रुपैया रकम खर्च गरिदै आइरहेको जनाएको छ ।

६० जना कर्मचारी हुनु पर्नेमा १० जना कर्मचारीहले सिंगो नगरपालिका सञ्चालन गर्न बाध्य रहेको लेखा अधिकृत खडकाले गुनासो गरेका छन् । विशेष गरी सोही नगरपालिकाले आगामि वर्षमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वधार र बृहत खानेपानीको लागि पहिलो प्राथामिकतामा राखिएको नगरपालिकाले जनाएको छ । ट्रिफर गुडाउनका लागि अहिले बैकल्पिक मार्गलाई मुख्य गरी खर्च भइरहेको जनाएको छ ।
रोशी गाउँपालिका

रोशी गाउँपालिकाको परिषदले आर्थिक वर्ष ०७४÷०७५ का लागि ३५ करोड बजेट बिनियोजित गरिएको छ । बिनियोजित बजेट मध्ये प्रशासनिक खर्च ३ करोड २ लाख र ७ करोड पूर्वाधार विकासमा खर्च भइरहेको प्रमुख प्रशासकीय अधिकृत युवराज आर्चायले जानकारी दिएका छन् ।

उनका अनुसार २७ जनाको दबन्दी मध्ये १२ जना मात्रै छन २ जना करार २ जना ज्यालादारीमा काम गरी रहेका छन् । आर्चायले भने, ‘समग्र क्षेत्रलाई समेटेर ५ वर्षको पर्यटन विकासको लागि मास्टर प्लान बनेको छ ।’

महाभारत गाउँपालिका

अभाव तर छलाङ्ग मार्दै
कर्मचारीकै पिरालो, भएको पनि कार्यालय जाँदैनन्

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाको परिषद्ले कुल बजेट २३ करोड ४० लाख मध्ये ३ करोड ४० प्रशासनिक खर्च छुटाएको जानकारी दिए । उनका अनुसार विकास खर्चमा १२ करोड र सडक निर्माणमा ५ करोड बिनियोजन गरिएको छ । भौतिक पूर्वाधार र उत्पादन तथा उद्योगमा १० लाख रुपैया बिनियोजना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष जिम्बाले दिएको जानकारी अनुसार अधिकांश बजेटहरु सडक निर्माण खर्च गरिने छ ।

दुर्गम क्षेत्रको अधिकांश ठाउँमा सडक पुग्न नसकेका कारण पहिलो प्रथामिकतामा राखेको अध्यक्ष जिम्बाको भनाई छ । सोही गाउँपालिकाले आगमी वर्षमा पनि पहिलो प्राथामिकता सडकलाई दिएको छ । मास्टर प्लान बनी सकेको छैन ।

१७ जना कर्मचारी दरवन्दी भएको स्थानमा प्रमुख प्रशासकिय अधिकृत एक जना बाहेक अन्य कर्मचारी छैनन् । तीनवटा कार्यालयमा कार्यरत लेखाका कर्मचारी महिनाको एक पटक पनि कार्यालय पुग्न सक्दैनन् ।

करोडौ रकम खर्च हुने गाउँपालिकामा इन्जिनियर छैनन् । वडा कार्यालयमा सचिवहरु छैनन् । त्यसका बाबजुत पनि गाउँको विकासलाई अगाडी बढाउन, अन्धकार गाउँलाई उज्ज्यालो बनाउन जनप्रतिनिधिहरु निरन्तर लागिरहेको उपाध्यक्ष चेतकुमारी माझीले बताईन् ।

कर्मचारीहरुलाई विकट स्थानमा टिकाईरहन सरकारले विशेष क्षेत्र घोषणा गरी कर्मचारीको सेवा सुविधा बढाउनु पर्ने अध्यक्ष जिम्बाले बताए ।

खानीखोला गाउँपालिका

केन्द्र आईपुग्न दर्जनौ सडक

खानीखोला गाउँपालिकाको कुल बजेट २१ करोड मध्ये प्रशासन खर्च भने अध्यक्ष कृष्ण खुलालले खुलाउन चाहेनन् ।

राम्रो कामको मात्रै समाचचार लेख्न सुचाउदै खुलालले प्रशासनिक खर्च कसैलाई थाहा नहुने बताए । ‘म खरो बोल्ने मान्छे न कार्यकारी अधिकृतलाई नै थाहा हुँदैन न त लेखा अधिकृतलाई थाहाँ हुन्छ यस्तो वाएत कुरा नसोध्नुस प्रशासनिक खर्च कत्ति छुट्याइयो र खर्च भयो भनेर ।’ खुलालले भने ।

गाउँपालिका अध्यक्ष खुलालका अनुसार स्थानीय तहको बजेट मुख्य गरी सडक खानिखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा मात्रै सडकको लागि ६ करोड रकम विनियोजन गरेकोमा अधिकांश सडकको काम सम्पन्न गरेको छ ।

गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माण गरिएका सडकहरु केहि वडाबाट केन्द्रमा आउन अझै समय लाग्ने भएको छ ।

अझै जोडन सकेन

प्राविधिक कारण देखाउँदै रक्षा मन्त्रालयमा अड्किएको फाईल फुकाउन भएका प्रयास सफल भएको छैन । तर पनि गाउँपालिकाले च्याल्टी फलामेटार सडक, डाँडागाउँ भाङ्गटार सडक, डाँडागाउँ धार्नी सडक, ताल्ढुङ्गा जगथली सडक, ताल्ढुङ्गा बाझगाउँ सडक, बोराङ्ग ताल्ढुङ्गा सडक, माझिटार बल्देउ सडक, माझिटार मासबारी सडक, मासबारी कुस्पा सडक, खजुलीबेशी धाप्ले सडक, धाप्ले बोराङ्गबेशी सडक, धाप्ले मिल्चे सडक, दयागाउँ खोरभञ्याङ्ग महादेवटार सडक, खोरभञ्ज्याङ्ग भिमसेन डाँडा सडक निर्माण भईरहेका छन् ।

सबै वडा कार्यालयबाट सवारी साधनको प्रयोग गरी गाउँपालिकाको केन्द्रमा आईपुग्न सहज होस् भन्ने हेतुले गाउँपालिकाले पहिलो प्राथमिकतामा सडक राखेर काम शुरु गरेको अध्यक्ष खुलालले बताए । दर्जन भन्दा धेरै सडक निर्माण भए पनि अझै मिल्चे र फलामेटारबाट सडक केन्द्रसम्म जोडिएको छैन ।

यस्तो छ गाउँपालिकाको बजेटमा प्राथामिकता

गाउँपालिकामा रहेका ३६ वटा विद्यालयलाई २ करोड भन्दा धेरै रकम विनियोजन गरिएको छ । मावि ६ वटा, निमावी २ वटा र प्रावि २८ वटा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको क्षमता अभिबृद्धी र भौतिक पूर्वाधार पहिलो प्राथमिकतामा राखिएको छ । सरकारले निशुल्क उपलब्ध गराउने भनिएका सबै औषधीहरु उपलब्ध गराईएको छ ।

जिल्ला र केन्द्रबाट प्राप्त हुने औषधी गाउँपालिकाबाटै खरिद गर्न लागिएपछि सर्वसाधारणलाई सहज भएको छ । सबै वडामा खानेपानी उपलब्ध गराउने अभियान शुरु भएको छ । डाँडागाउँको बाँसघारीमा बाहेक अन्यत्र सबै स्थानमा खानेपानीको सहजता रहेको उपाध्यक्ष रुकमणी गुरुङ्गले बताईन् ।

शौचालय निर्माणको क्रम जारी छ । अझै गाउँपालिकामा ११ सय शौचालय निर्माण गर्न बाँकी छ । १ हजार थान प्यान वितरण भईसकेको छ । संचार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटा मार्फत पठाईएका सोलार प्यानल वितरणको कार्य शुरु भएको अध्यक्ष खुलालले बताए ।

९५ लाख ५९ हजार बेरुजु

साविकका गाउँ विकास समितिहरु हुँदा जनप्रतिनिधि विहिन अवस्थामा खानिखोला गाउँपालिकाको ९५ लाख ५९ हजार बेरुजु देखिएको छ । महालेखा परिक्षकको कार्यालयले गरेको लेखापरिक्षणमा प्रकृयाबाट १० लाख ६२ हजार फछ्र्याैट भई बाँकी ८४ लाख ९७ हजार बेरुजु मध्ये १ लाख २ हजार असुल गर्नु पर्ने, २७ लाख ३१ हजार नियमित गर्नु पर्ने र ५६ लाख ६४ हजार पेश्की बाँकी रहेको उल्लेख गरेको छ ।

साविकको फलामेटार गाविसमा अलैची खेतीको शीप विकास तालिममा खर्च भएको ५० हजार, बहु विहानी किसान कृषि सहकारी संस्थालाई फलफूलको विरुवा वितरण गरेको ५० हजारको भर्पाई फेला परेको छैन ।

१७ जना ब्यक्तिलाई दिएको ५ लाख ४२ हजार ५ सय १९ पेश्की फछ्र्याैट हुन सकेको छैन । साल्धारा गाविसको चारवटा संस्थालाई उपलब्ध गराएको फर्निचर बापतको १ लाख ९७ हजार २ सय ९३ रुपैयाको विल भरपाई नै छैन । २२ जना ब्यक्तिले लिएको पेश्की ५ लाख ३ हजार १ सय २८ रुपैयाको फछ्र्याैट हुन सकेको छैन ।

डाँडागाउँ गाविसमा २७ ब्यक्ति र एक संस्थालाई दिएको १९ लाख ८५ हजार १ सय ५२ रुपैया रकम पेश्की छ । आरन निर्माणमा अनुदान, तालिममा सहभागिहरुको खाजा र हाजिरीमा विल भरपाई नमिलेको लेखापरिक्षणमा उल्लेख छ । साल्मेचाकल गाउँविकास समितिमा २२ जना ब्यक्ति र ५ जना संस्थालाई दिएको ११ लाख ८३ हजार पेश्की फछ्र्याैट गर्न निर्देशन दिएको छ ।

मोटरसाईकल किन्दा फरक फरक मुल्य भएको, गाडी भाडा बापत भएको खर्च रकम लेखाको नियम विपरित खर्च भएको लेखाको टिप्पणी छ । कार्यालय मर्मतका लागि गरिएको खर्चको शिर्षक फरक परेको, दक्ष जनशक्ति नहुँदै ८ लाख ३९ हजार ४ सय ६९ रुपैयाको सामाग्री खरिद गरेको भन्दै छानविन गर्नु पर्ने बताएको छ ।

जनशक्ति नहुँदा उक्त सामाग्रीको दुरुपयोग हुने अवस्था देखिएको छ । १४ लाख २६ हजार २ सय ८ को फर्निचर खरिद, ३ लाख गाडी भाडामा भएको खर्चको ब्यवस्थापन गर्न लेखापरिक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 तिमाल गाउँपालिका

आर्थिक वर्ष ०७४÷०७५ मा तेमाल गाउँपालिकाले २७ करोड रकम बिनियोजित गरेको छ । बिनियोजित रकम मध्ये १ करोड २१ लाख रुपैयाँ प्रशासनिक खर्च छुट्टयाइएको प्रशासकिय अधिकृत शर्मिला लामिछानेले जानकारी दिइन् ।

उनका अनुसार अन्य तथा भौतिकपूर्वाधारका लागि ९ करोड रकम बिनियोजित गरी खर्च भइरहेको छ । स्थानीय तहको मुख्य सडक, तेमाल बृहत खानेपानी र कृषिमा बढि खर्च भइरहेको प्रशासकिय अधिकृत लामिछानेले बताइन । अगामी वर्षमा पनि खानेपानी, मोटरबाटो र कृषिमा बढि प्राथामिकतामा राखेको जनाएको छ ।

 भुम्लु गाउँपालिका

आर्थिक वर्ष ०७४÷०७५ को लागि गाउँपालिकाले बिनियोजित गरेको २७ करोड कुल बजेट मध्ये ३ करोड ५० लाख रुपैया रकम प्रशासनिक खर्च बिनियोजित गरेको गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठले बताइन् । विकास खर्चका लागि १३ करोड रकम बिनियोजित गरेको समेत जानकारी दिइन् ।

‘बजेटको मुख्य बजेट शिक्षा, स्वास्थ्य, खानेपानी, मोटरबाटो बढि खर्च भइरहेको छ ।’ उनले भनिन, ‘बिशेषगरी अहिले कर्मचारीहरु अपुग छ, काम गर्न समस्या भइरहेको छ, शिक्षा १, स्वास्थ्य १, महिला १ प्रशासनिक अधिकृत १ र लेखा अधिकृत १ मात्रै रहेको छ वडा सचिवहरु छैनन् ।’ आगामी वर्षमा युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने उनले बताइन् ।

 

Comments

comments