लेखक
                                                                                                        -धर्मचन्द्र योञ्जन तामाङ

 पृष्ठभूमि 

वास्तवमा अहिले जो कोही सामाजिक सञ्जालविना बाँच्न सक्दैन भनेपनि हुन्छ । मुहार-पुस्तिका, ट्वीटर, इनस्ट्राग्राम लगायतका थुप्रै सामाजिक सञ्जालहरू छ्यासछ्यास्ती छन्। बालकदेखि ज्येष्ठ नागरिकहरूसम्मका व्यक्तिहरू ति समाजिक सञ्जालहरूबाट टाढा छैनन् ।  भर्खरै मात्र माध्यामिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक भएको छ । शिक्षाविद्हरूले नेपालको शैक्षिक नतिजा उल्टो दिशामा कुदिरहेको बताइरहेका छन् ।
परीक्षा उतिर्ण नवयुवा वर्तमान र  भविष्यका आधार हुन्, सिर्जनाका खानी हुन् । युवा उत्साह, जोस, जाँगरले भरिपूर्ण ऊर्जा हुन्, । त्यसैले भन्ने गरिन्छ – युवा क्रान्तिका जननी र समृद्धिको संवाहक हुन् । युवा श्रमिक, मजदुर, अन्वेषक, सिद्धान्तकार, अनुसन्धानकर्ता, सर्जक र आविष्कारक हुन् । त्यसैले हरेक कुराको आविष्कार र नयाँ कुराको खोज अनुसन्धान पनि युवाले नै गरेको छन् ।
केही नेपाली युवाहरू कतारलाई स्वर्णभूमि बनाउँन तल्लिन भएर लाग्नु परिरहेको छ । कोही नेपाली युवाहरू साउदी अरबको चर्को घाम नभनी रात्तोदिन खटिरहेका छन् । तर नेपालमा भुकम्प पीडित नेपालीहरूले घर बनाउँदा निदाल बोक्नको लागि सहायता पाएको छैन । ढुङ्गा फोर्ने, अनि चिर्पट चिर्ने सहयोगी पाउन मुस्किल छ । यद्यपि विदेशमा जस्तोसुकै कठिन परिस्थितीमा पनि काम गर्न अघि सर्ने युवा नै हुन् ।
जहानियाँ राणा शासनविरुद्ध हाँसी हाँसी फाँसीमा चढ्ने गङ्गालाल हुन् या गोले काँइला अनि पोक्ची तामाङ यी सबै युवा नै थिए । उबेलाका युवाहरू रगतको भेटी चढाउन अग्रसर भएका थिए । नेपाली श्रम र पसिनाले खाडी मुलुक विश्वका समृद्ध राष्ट्रको रूपमा विकसित हुँदैछ । त्यस किसिमको विकासको आधार नेपाली युवा नै हुन् ।
केही युवाहरू अझै मैले भन्ने गरेको घोप्टेकली जसलाई अंग्रजीमा फेसबुक भनिँदो रहेछ, यसैमा अल्झिरेको पाएको छु । कसैले नेपालीकरण पनि गरेर मुहार पुस्तिका भन्ने गरेका रहेछन् । खैर जे होस् – यसलाई सामाजिक सञ्जाल भनेर बुझ्न सकिन्छ । हो यही सामाजिक सञ्जालले हामीलाई फाइदाको साथमा बेफाइदा पनि गरिरहेको छ । यसैको सहयोगमा संसार एउटा गाउँजस्तै भएको छ । यसैको माध्यमबाट विभिन्न सुचना सहज तरिकाबाट एक ठाउँबाट अर्को ठाउँमा सजिलै संप्रेषण हुने गरेको छ ।
विश्वमा यि र यस्तै प्रविधिको विकास नभएको अवस्थामा युवाहरूले ठुला ठुला महान कार्यहरू गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा कमरेड पुष्पलाल २५ वर्षे युवक थिए । बुद्धले युवा उमेरमा नै साधना गरेका थिए । तर अहिलेका नेपाली युवाहरू मुहार पुस्तिकामा अल्झिरहेका छन्, पढ्न छाडेर सामाजिक सञ्जालमा रमाउँछन् । यसैको कारण नतिजा नतिजा कमजो भएको हो । अझ कोही कोही त फेसबुकमै भए पनि समाज सेवा गरिरेछन् अनि भन्छन् युवाको प्रत्यक्ष संलग्नताविना विकास र समृद्धिको परिकल्पना गर्न सकिन्न ।
के युवाले सामाजिक सञ्जाल फसबुकमा लाइभ गरेर नानाभाँती कुरा गर्दैमा विकास र समृद्धिको सपना साकार हुन्छ ? अनि स—साना झिना मसिना कुराहरूलाई तिलको पाहाड बनाउँदै पोजपोजका तस्विर पोष्ट गर्दैमा समाज सेवी भन्न रूचाउनेहरूबाट कस्तो खालको सामाजिकीकरण हुन्छ ? र समाजले यस्ता युवाहरूबाट के पाउँन सक्छ ?  हो आज यी र यस्तै विषयमा विमर्श गर्न वाञ्छनीय हुनेछ भन्ने लागेको छ ।

अहिलेका युवा-युवती

लामो समयदेखिको नेपाली समाजले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को परिकल्पना गरेको थियो । आज परिक्ल्पना अर्थात् सपना साकार हुने अवस्था सिर्जित भएको छ । राजनीतिक सामाजिक क्षेत्रको आन्दोलनको रूप परिवर्तन भएको छ । नेपाली समाजको प्रधान अन्तरविरोध फरक भएको छ । यस प्रकारको फरकपन र परिवर्तनमा युवा वर्गकै नेतृत्व र पहलकदमी अग्रस्थानमा थियो ।
सबै कुरामा परिवर्तन आएसँगै मानिसहरूको इच्छा र चाहानाहरूमा परिवर्तन निश्चित रूपमा आउँछ । कुनै समय घाइतेको लस्करमा, शहिदका पङ्क्तिमा युवाहरूको नाम हुन्थ्यो  । अहिलेका युवाहरू फेसबुकमा तस्विरहरू कैद गर्नमा ब्यस्त देखिन्छन् । फेसबुकमा प्रतक्ष्य प्रसारण गर्न मिल्ने प्रावधान जुकरवर्गले व्यवस्था गरेका मात्रै के थिए, हाम्रा केही नेपाली युवा-युवतीहरूको जागीर नै फेसबुकमा केन्द्रीय प्रसारण लाइनबाट प्रतक्ष्य प्रसारण गर्नु भएको छ ।
कुनैपनि देशको गौरवपूर्ण इतिहास निर्माणमा युवाशक्तिको अतुलनीय योगदान रहने कुरामा दुई मत हुँदैन । हिजो राज्य व्यवस्थाको विरुद्ध लड्भिड गर्नुपरेको थियो आज अवस्थाको परिवर्तनका लागि, गरिबीको विरुद्ध जुद्नु परेको छ भनेर लेख्ने गर्थेँ । तर त्यो होइन रहेछ – कनै समय बोल्न, लेख्न र अभिव्यक्ति पेश गर्न लगभग मनाही जस्तै थियो । अहिले यो कुरामा पनि आकास पातालको फरक छ, हिजो बोल्न डराउनु पर्थ्यो, आज मन नपरेका कुरा घरमा गएर पेटभरी लाइभ गरेर बोल्न पाइने भएको छ ।
के आफ्नो सामाजिक प्रतिष्ठा नै बिर्सिएर लाइभ टेलिकास्ट गर्न पाउनु पनि एउटा महत्वपूर्ण परिवर्तन होइन र ? गरिबीको छट्पटाहटले भरिएको दिनहरूमा शोषण, दमन र विभेदलाई पनि एउटै चिहानमा गाड्नु पर्छ भनेर आवाज उठाइन्थ्यो । पहिले भन्दा समय र परिस्थितिमा निकै परिवर्तन भएको पनि हो तर यो परिवर्तनमा आदिवासी जनजाति युवा-युवतीहरूको अमुल्य योगदान थियो । तर आदिवासी जनजाति युवा-युवतीहरूको जिवनशैली, काम गर्ने तौरतिरका, चिन्तन मननको शैली, हेराइ बुझाइ गराइमा आमूल परिवर्तन अझै आवश्यक देखिएको छ ।
युगले मागेको, समयले चाहेको, वर्तमानले रोजेको, भविष्यले आशा गरेको व्यवस्था निर्माण गर्न हामी युवा तयार हुनु आवश्यक थियो । तर हाम्रो कर्यशैली र वर्तमान अवस्थाले त्यसतर्फको यात्रालाई गिज्याइरहेको छ । वर्तमान समयमा आदिवासी जनजातिमध्येको तामाङ युवा-युवतीहरूले विगतको ढर्रालाई फेर्न पनि नसकेको र समातिरहन पनि नचाहेको जस्तो देखिएको छ । हिजो गाउँको बिसाउनीमा बसेर एउटाको कुरा गरेर दिन कटाउथे, आज फेसबुकबाट लाइभ गरेर अरूको कुरा गर्न, अरूलाई खिस्याउन युवापिढी ब्यस्त देखिएको छ । यो वर्तमानको यथार्थ र वास्तविकता पनि हो । के यसलाई हामीले त्याग्न पर्दैन ?
अबका दिनहरूमा पनि यो ल्होछार, त्यो ल्होछार, म्हेनिङ वा दशैँ, बलिहाङको कथा या तिहार जस्ता विषयमा मात्रै तामाङ लगायतका जनजातिहरू अल्झिरहने र सामाजिक सञ्जालमा दोहोरी खेलिरहने कार्य नत्याग्ने र अरूले गरेको कार्य सफल या असफल भनेर चिच्याउने कार्य नछाड्ने हो भने हाम्रा पुरातन पूर्खा र हामीमा के फरक रह्यो त ? यति भन्दै गर्दा पुर्खाहरूको महान कार्यहरूलाई बिर्सनु पर्छ भनेको चाहिँ पक्कै होइन ।
यस्ता कार्यहरूले ‘समृद्धिको यात्रा’ पार गर्न निकै मुस्किल होला । सफल यात्राका लागि एकता, सहकार्य र भातृत्वको आवश्यकता कत्तिको जरूरी छ भन्ने कुराको पनि ख्याल गर्न जरूरी छ कि छैन ? अनि सहअस्तित्व स्वीकार गर्न नसक्ने कट्टरवादी मानसिकताले समाज र सामाजिकीकरणमा कस्तो खालको प्रभाव पर्दछ भन्ने कुराको निर्क्योल तामाङ युवा-युवतीहरूले गर्नुपर्छ कि पर्दैन । त्यही मानिस सामान्य उकालो बाटोमा त ख्यु-ख्यु गरेर थकान महसुस गर्छ अनि त्यस्तै अर्को मानिस विभिन्न अप्ठ्याराहरू पार गर्दै सगरमाथा आरोहण गर्छ । कोही अफ्ठ्यारा चुनौती पर्खालहरू नाघ्दै शिखर चुम्न सफल होलान्, कोही शिखर चुम्नै लाग्दा विभिन्न कारणले निश्फल होलान् ।
सफलता र असफलतालाई भन्दा पनि साहसको कदर गर्न अवश्य जान्नु पर्दछ । साहसको कदर गर्न नजान्दा नजान्दै पनि अब तामाङ एकताको रोडम्यापको खाका तयार गर्न जरूर छ । सहजतापूवर्क सबैले बुझ्ने र पार गर्न सक्ने उक्त रोडम्यापमा उत्साहपूर्वक आम जनसमुदाय लामलस्कर लगाउन सक्नु नै सच्चा समाज सेवा हुन सक्छ । नत्र वर्तमानको त्यो फेसबुक लाइभ गरेर समाज सेवाको ढोँग फुक्नुको कनै तुक छैन । विगतको एउटा ढर्रा बदलेर नयाँ कोर्समा प्रवेश गनैपर्ने अवस्थामा हाम्रो समाज रहेको छ ।

समात्नु पर्ने दिशा

पुर्खाले हाम्रा लागि जोगाइदिनु भएको संस्कार र संस्कृतिमा टेकेर भविष्यको सपना बोकेर सत्मार्गतर्फ फर्किएर लम्किनु नै वास्तवमा युवाहरूको कार्यदिशा बन्नु पर्दछ । विना सपनाको कार्यदिशा हुन सक्तैन । समाज या समुदायको लक्ष्य र उद्देश्यलाई जुरुक्क बोक्ने काम, प्रकाश पार्ने काम कार्यदिशाले गरेको हुन्छ । आज तामाङ युवाहरूलाई समृद्ध ताम्सालिङ निर्माण नगरी भएको छैन । सिद्धान्त र व्यवहारबीचको तालमेल नल्याई भएको छैन ।
अनि श्रमको विश्वव्यापी मान्यता अनुसार परिश्रम गर्न सक्नेलाई श्रम नदिई भएको छैन । सबैखाले विभेदका बीउहरूलाई नामेट नगरी भएको छैन । यसर्थ तामाङ समाजलाई विभिन्न विषयहरूमा एकआपसमा कटाक्ष गरेरे समय बर्बाद गर्न छाडेर सुसंस्कृत समाज निर्माण गर्नको लागि सहयोग गर्न सक्ने मार्गदर्शक सिद्ध समाजिकीकरण सिकाउने दिशा समात्न जरूरी देखिन्छ । यो युवाहरूको कर्तव्य पनि हो ।

समाज सुदृढीकरण

सामाजिक एवम राजनीतिक गुणले अरूलाई आकर्षण गराउन जरूरी ठान्ने जो कोहीले समाजभन्दा पहिले आफुलाई सुधार गर्नु आवश्यक हुन्छ ।  हो समाज रूपान्तरणका लागि युवाहरू निश्चित रूपमा चाहिन्छ । बेरोजगार फेसबुके युवाहरूको केन्द्र मात्रै होइन, उद्यमीशील युवाहरूहरूको भीड, चन्दा उठाउने मात्रै होइन, कर तिर्ने जमातको पङ्क्ति, अनि गराई खाने मात्रै होइन गरी खाएकोमा गर्व गर्ने संस्कारयुक्त लामालस्कर तयार पार्नु पनि त समाज सुदृढीकरणको महत्वपूर्ण सवाल हुनसक्छ ।
त्यसका लागि अव युवाहरू फेस बुकमा चिच्याउने मात्रै होइन, अध्ययन – अनुसन्धान संगसंगै दक्ष जनशक्ति निर्माण र उत्पादनमा सहयोग हुने खालको  विचार पैदा गर्न सक्ने दार्शनिक बन्नु पर्ने छ । कोठामा बसेर समाज सेवाको धाक लगाउनुभन्दा ‘डेभलभमेन्ट फोर्स’को स्थापना गरेमा विकास निर्माण र उद्योग कलकारखाना सञ्चालन, ऊर्जा लगायतको क्षेत्रमा योगदान गर्नेछ । ‘वर्क फोर्स’ निर्माण गरेर प्रत्येक युवालाई सीपयुक्त र प्रविधि मैत्री बनाउनु उचित होला ।
सीप र प्रविधियुक्त युवा देश विकासका आधार स्तम्भ पनि त हुन् । जब युवाहरू खेतका गह्रा, कारखाना र उद्योग आदिमा हुनेछन् तब मात्र एउटा गतिशील समाज निर्माण गर्ने आधार तयार हुनेछ । अनि समाजमा लाखौं युवा सामेल हुनेछन् । यसले सशक्त समाज निर्माण हुनेछ, समृद्ध ताम्सालिङ निर्माणको आधारशिला खडा हुनेछ । ती फेसबुकमा लिप्त युवा श्रमशक्ति र उत्पादनशक्तिमा रूपान्तरण हुनेछन् ।

 सोसियोकल्चरल रूपान्तरण 

साँच्चै नेपाली समाज बहुभाषा, बहुधर्म, बहुसंस्कृति र विविधताले भरिपूर्ण छ । सयौँ जाति, भाषा, धर्म, संस्कृतिका बीच नेपालीपनमा सहिष्णु समाज निर्माण गर्नु युवाहरूको महत्वपूर्ण कार्य हो । समाजको सामाजिक सांस्कृतिक क्षेत्रमा रहेका जडसुत्रवादलाई फाल्नु छ, मौलिकतालाई जोगाउनु छ । जबरजस्त रूपमा रहेका कुरीति कुसंस्कार विकृति र विसङ्गतिलाई उखेल्नु छ । सामन्तवादी ह्याङलाई मेट्नु छ ।
हो अलौकिक, निराकार, अदृश्य शक्तिप्रतिको जुन भक्तिभाव छ, त्यसलाई प्रष्ट्याउनु पर्नेछ । घुमिरहेको जाँतोलाई जसरी ओइरोको आवश्यक्ता पर्छ त्यसैगरी बेरोजगार युवालाई श्रमको आवश्यक्ता पर्छ । राज्यले श्रमको ओइरो व्यापक सिर्जना गर्नै पर्छ । यसो गर्दा दिनभरि बुढापाका चियापसलमा गफिने र छोराछोरीले दिउँसभर फेसबुकमा बाझाबाझ गर्ने अवस्थाको अन्त्य हुनेछ । श्रमको सम्मान हुने हो भने दैनिक ४ लाख युवा क्यारेम खेल्न छोडेर श्रममा हामफाल्ने छन् । यी श्रमिक युवा समाज तोड्ने बञ्चरोजस्तो होइन बरु जोड्ने धागो उनिएका सियो जस्ता हुनेछन् । सामाजिक सांस्कृतिक रूपान्तरणको अभियान्ता तिनै युवा हुनेछन् ।

भविष्य

जेनतेन फेसबुकमा लेख्न र लाइभमा बोल्नु मात्रै ठूलो कुरा होइन रहेछ । त्योभन्दा ठूलो कुरा त समाज र श्रम बजारमा आफु टिक्न र दुनियाँका सामु सीप विकाउन सक्नु चाहिँ महत्वपूर्ण सवाल रहेछ । ठूला ठूला गफ लडाएर होइन, पछिल्ला पिढीहरूलाई बहुप्राविधिक सीप भएका मानिसको रूपमा चिनाउन सकेमा उनिहरूको भविष्य उज्ज्वल हुने छ । त्यसर्थ युवाहरूले नवयुवाहरूलाई अवश्य शिक्षित गराउनु पर्दछ, भविष्य देखाउन पर्ने रहेछ भनेर बुझ्नु उत्तम हुने छ ।

Comments

comments

SHARE