काभ्रे । इलाका प्रहरी कार्यालय बनेपाले माइत र घर परिवारको रोहबरमा मिलापत्र गरी पठाएको २४ घण्टा बित्न नपाउँदै बिहीवार साँझ २३ वर्षीय एक महिला घरमै मृत अवस्थामा भेटिएकी छिन् ।

असार ६ गते प्रहरीले माइत र घर पक्षसँगको रोहवरमा मिलपत्र गरेको २४ घण्टा बित्न नपाउँदै बनेपा नगरपालिका–३, टन्ंचोकका २३ वर्षिया मिना लामाको शव बिहीवार घरमै झुण्डिएको अवस्थामा भेटिएको हो । मिनाले जस्ताको अस्थायी टहरामा नाइलनको डोरीले पासो थापेर ‘सुसाइट’ गरेको प्रहरीले जनाएको छ ।

 

छिमेकी रोशन भनिने गुनु लामाले मिनालाई पटक पटक इमोमा पठाएको अश्लिल फोटो र शब्दहरु असार २ गते मिनाका श्रीमान कविन्द्रले मोबाइलमा देखेका थिए । त्यसपछि मिना र कविन्द्रको झगडा सुरु भएको थियो । गुनुले सामाजिक सञ्जाल फेसबुकमार्फत मिनाले पठाएको फोटो सार्वजनिक गरी बेइज्जत गर्छु भन्दै धम्क्याएपछि असार ६ गते इलाका प्रहरी कार्यालय बनेपामा गुनु विरुद्ध मिनाले उजुरी दिएकी थिइन् । गुनुले इमो र म्यासेन्जरमा विद्यालयबाटै छोरी अपहरण गर्ने, श्रीमानको मोटरसाईकल दुर्घटना गराउने र मिनालाई बलात्कार गर्छु भन्दै धम्क्याउने गरेका थिए ।

मिनाले दिएको उजुरीको आधारमा प्रहरीले साइबर अपराधमा अनुसन्धानका लागि गुनुलाई पक्राउ गरेको छ । उनलाई म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिल जंग शाहले जानकारी दिए ।

मिनाको लाश झुण्डिएको अवस्थामा भेटिएपछि मिनाका श्रीमान् कबिन्द्रलाई पनि प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी महेन्द्र मरासिनीले बताए । कबिन्द्र बिहीवार सासु आमालाई पु¥याउन काठमाडौं गएका थिए । उनले रुदै भने, ‘मलाई सपना झै लागिरहेको छ, ४ वर्षकी छोरी छन् त्यो अपराधीले गर्दा यस्तो घटना भयो ।’

इलाका प्रहरी कार्यालय बनेपा, नाला प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मुचुल्का उठाई पोष्टमार्टमका लागि मिनाको शव शुक्रवार शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ ।

मर्नुअघि मिनाले डायरीमा यस्तो लेखेको थिइन्

घटनाको खबर पाएपछि पुगेको प्रहरी टोलीले घटनास्थलबाट एउटा डायरी पनि फेला पारेको छ । इलाका प्रहरी कार्याालय बनेपाका साई भक्तबहादुर श्रेष्ठ नेतृत्वको टोलीले फेला पारेको उक्त डायरीमा मिनाले झुण्डिनु अघि सुसाइट नोट लेखेकी थिइन । साई श्रेष्ठका अनुसार मिनाले डायरीमा जिन्दगीमा आफुले ठूलो भुल र गल्ती गरेको कुरा लेखेकी छिन । डायरीमा मिनाले भनेकी छिन् ‘म आफै टुहुरी छोरी हुँ ।

मेरो ४ वर्षकी छोरी सृष्टिलाई पनि टुहुरो बनाएर यो संसारबाट बिदा हुँदैछु । मेरी छोरीलाई राम्रोसँग पढाउँने र हेरबिचार गर्नु, मैले तपाईलाई मायाँ दिन सकेनन्, उही तपाईको अभागी मिना ।’ मकवानपुर हेटौंडा उपमहानगपालिका वडा नम्बर ११ थानाभञ्ज्याङकी मिना र कबिन्द्रको २०६७ साल चैत्रमा प्रेम बिवाह भएको थियो ।

प्रहरी अनुसन्धानमा घटना बारे कसले के भने ?

प्रहरीले सोधबुचका लागि स्थानीय कुमारी लामा र १३ वर्षिय राजु लामालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुसँग घटना बारे शुक्रवार राती ८ः३० मा बयान लिएको छ । स्थानीय कुमारी लामाले मिनाकी छोरी चिच्याएर रोएको थाहा पाएपछि आफु हेर्न जाँदा ढोकामा भित्रबाट चुकुल लगाइएको अवस्थामा रहेको बताइन् ।

कुमारीले इलाका प्रहरी कार्यालयका साईसँग बयानको क्रममा भनेकी छिन, ‘४ वर्षको बच्चाले मेरो स्वर सुनेर ढोका खोली दिइन्, ढोकाबाट भित्र हेर्दा मिना झुण्डिएको देखेपछि मेरो होस नै हरायो । म चिच्याएर कराएपछि छिमेकीहरु आए । १३ वर्षिय भाई राजु लामाले बाँच्छ कि भनेर डोरी काटी दिए ।’ बयानको क्रममा १३ वर्षिय राजु लामाले कसैले छुन नमानेपछि बाँच्ने आशले आफुले खुर्बाले डोरी काटि दिएको बताए । ‘सबै जना आत्तिए, रुने कराउने गरीरहे । त्यसपछि मैले यता उता हेरे । घर भित्र खुर्बा रहेछ, घाँटीमा डोरीको पासो लगाएर अन्टी झुण्डिरहनु भएको थियो । मैले त्यो डोरी काटि दिए । डोरी काटिदिए गल्ती भयो माफ पाउँ ।’

घटना घटेको दिन मिनाको श्रीमान कबिन्द्र लामा सासु आमालाई मोटरसाइकलमा काठमाण्डौँ पु¥याउन गएका थिए । भतिज विजय लामाले फोन गरेर अन्टी झुण्डिएको अवस्थामा मृत फेला परेको खबर सुनाएपछि मात्रै कबिन्द्रले थाहा पाएका थिए । ‘प्रहरी कार्यालयमाा मिलापत्र गरेर असार ६ गते मैले मोटरसाइकलमाा घर पु¥याएका थिएँ ।’ भतिज विजयले भने, ‘घर फर्किने क्रममा बाटो भरी अन्टीसँग दुःख सुःखका कुराकानी गर्दै गयौं । घर पुग्दा पनि सधै झै काम गर्न थाल्नु भयो, राम्रै थियो । एक्कासी मुत्युको खबरले हाम्रो परिवार शोक डुबेको छ ।’

काभ्रेका प्रहरी प्रमुख रविराज खड्काले घटनाको अनुसन्धान थालिसकेको बताए । ‘घटनालाई संकास्पद रुपमा लिएका छौँ, अनुसन्धान गरिरहेका छौँ ।’ उनले भने, ‘यस घटनालाई गम्भिरताका साथ हेरिरहेका छौँ अस्पतालको रिपोर्ट आएपछि सबै कुरा थाहा हुन्छ ।’

यसरी घटेको थियो घटना
यसरी मिलापत्र भएको थियो: डिएसपी

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार इमोबाट छिमेकी रोशन भनिने गुनु लामाले अश्लिल तस्बिर, यौन सम्बन्धका कुरा गरेर मिनालाई हैरान बनाउँदै आएका थिए । र यो कुरा मिनाका श्रीमान कबिन्द्रले थाहा पाए । गुनुले कबिन्द्र म्यादी प्रहरीमा जागिर खाएको दिनदेखि मिनालाई इमोमा म्यासेज लेख्ने र फोन गर्न थाले । गुनु र मिना बिच कुराकानी गरेको कबिन्द्रले थाहा पाएपछि बेला बेलामा झगडा भइरहन्थ्यो ।

असार २ गते राती गुनुले पठाएको अश्लिल शब्द र फोटो देखेपछि कबिन्द्र र मिनाबीच झगडा भएको थियो । श्रीमानसँग झगडा भएको भन्दै मिना असार ३ गते बिहानै उठेर माइतघर हेटौडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङ गइन् । उनले श्रीमानले अनाबश्यक रुपमा गाली गलौज र कुटपीट गरेको भन्दै कारर्बाहीको माग गर्दै असार ३ गते नै जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला सेलमा उजुरी दिइन् । मकवानपुर प्रहरीले उक्त उजुरी र मिनालाई जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेलमा पठायो ।

पत्र प्राप्तपश्चात जिल्ला प्रहरी कार्यालय काभ्रेले मिना र उनकी आमालाई प्रहरीले नियन्त्रणमा लिएर राखेको थियो ।
‘हेटौडाका एसपी साबले आदेश दिएपछि मैले मिनाका श्रीमान्लाई फोन गरे ।’ काभ्रे प्रहरीका डिएसपी महेन्द्र मरासिनीले भने, ‘तर उनी सम्पर्कमा आउन चाहेन । पछि उनको दाईले फोन गरेर बनेपामा रहेको जानकारी दिए । त्यसपछि जिल्लाबाट इलाका प्रहरी बनेपालाई घटनाको छानवीनको लागि जिम्मा दिइयो ।’

माइत र घर पक्षले मिल्छु भनेपछि बनेपा प्रहरीले मिलापत्र गरायो । जिल्ला प्रहरी कार्यालयका अनुसार उजुरी परेका रोशन भन्ने गुनु लामालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको थियो । गुनुकी श्रीमती बैदेशिक रोजगारका लागि इराकमा छिन् ।

यस्तो थियो मर्नुअघि मिनाले प्रहरी कार्यालयमा दिएको किटानी जाहेरी

मेरो माइत मकवानपुरमा हो । विवाह २०६७ साल चैत महिनामा सामाजिक परम्परा अनुसार बनेपा–३ टन्चोकका कबिन्द्र लामासँग भएको हो । हामी दुईको सम्बन्धबाट जन्मिएको सृष्टी लामा नाम गरेकी छोरी छिन् । मेरो श्रीमान् ब्यापार व्यवसायी गर्दै आइरहनुभएको थियो । छिमेकी रोशन लामा भनिने गुनु लामाले केही मानिसहरुसँग मागेर मेरो मोबाइल नम्बर ९८०६०८०४७०३, ९८१८५७१४६ र ९८६९२६३३१६ नम्बरबाट फोन गरिरहन्थ्यो ।

मैले त्यस्तो कुरा नगर्न बारम्बार गुनुलाई अनुरोध गरिरहन्थे । तर उनले विद्युतीय सञ्चार माध्यम इमोबाट पटक–पटक मलाई तीन महिना अघिदेखि फोन गरी तेरो अश्लिल फोटो मलाई सेन्ट गर, मेरो पनि अश्लिल फोटो तँलाई सेन्ट गर्छु । तैले मलाई तेरो अश्लिल फोटो पठाइनस् भने तेरो श्रीमान्को मोटरसाईकाल दुर्घटना गराई मारिदिन्छु, तलाई बलात्कार गर्छु । तेरो छोरीलाई अपहरण गर्छु, मेरो शरीरमा तेरो फोटो टाँस्ने, तेरो नाम लेखी फसाईदिन्छु भन्ने जस्ता धम्कीपूर्ण भाषामा बोलीचाली गरी हैरानी बनाइसकेको थियो ।

त्यसपछि मैले बाध्य भएर मेरो मुहार देखि स्तनसम्म आउने गरी फोटो खिचेर गुनु लामालाई सेन्ट गरे । झन् मलाई गुनुले बारम्बार मसँग घुम्न जाने भए आइजा । मेरो इच्छा पुराइदेऊ होइन भने तेरो अश्लिल शब्द र फोटोहरु सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरी तेरो बेइजेत गरिदिन्छु भनी धम्की दिन थाल्यो । त्यसैले निज गुनु उपर कार्बाहीको माग गर्दै निवेदन पेश गरेको छु ।

त्यसैगरी मिनाले अर्को उजुरीमा श्रीमान्ले कुटपिट गरेको र घाउजाँच गरी कानुनी उपचार गरिदिन माग गर्दै श्रीमान उपर पनि निवेदन जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दायर गरेकी थिईन् ।

आत्महत्या गरेपछि यस्तो अवस्थामा भेटियो मिनालाईः

 

Comments

comments