भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले मुलुकमा पहिचानको विरुद्ध प्रदेश ४ बाट भिन शुरु भएको आरोप लगाएका छन् ।

शनिबार भक्तपुरमा बज्रशक्ति एकता समाज नामक संस्थाको उद्घाटन गर्दै नेता लालध्वजले उक्त आरोप लगाएका हुन् ।

‘पहिचानको विरुद्ध उभिने काम प्रदेश ४ बाट शुरु भएको छ । गण्डकी प्रदेश नामकरण गरेको सुनियो ।’ नेता लालध्वजले भने, ‘प्रदेश ३ को नामकरण पनि कतै वाग्मति प्रदेश त राख्ने कुचेष्टा त भएको छैन ?’

प्रदेश ३ को नामकरण पहिचानको आधारमा हुनुपर्ने उनले बताए । ‘प्रदेश ३ को नामकरण नेवा–ताम्सालिङ हुनुपर्छ ।’ उनले भने, ‘संघीयताको मर्म अनुसार नामकरण नभए आन्दोलनको विकल्प छैन ।’

त्यसैगरि प्रदेश ३ को सरकारी कामकाजको भाषा नेवा नेपाली, तामाङ नेपाली र खस नेपाली भाषा हुनुपर्नेमा जोड दिंदै नेता लालध्वजले प्रदेशको राजधानी सबैलाई पायक पर्ने स्थान काभ्रे नै भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य गंगाबहादुर तामाङ (बमध्वज)ले सामाजिक रुपमान्तरणमा आफू निरन्तर लाग्ने बताए । समृद्धि नेपाल निर्माणको अभियानमा लागेकोले अब सबैबाट सहयोगको अपेक्षा गरेको बताए ।

 

समाजमा रहेको बिकृती बिसंगति विरुद्ध आवाज उठाउनुका साथै सभ्य र समुन्नत समाज निर्माणका लागि जनचेतना मुलक सामाजिक क्रियाकलाप गर्ने लक्ष्यका साथ समाज बिकासका विभिन्न योजनाहरु अघि सारेर नयाँ नेपाल निर्माणमा टेवा पु¥याउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा चर्चित कलाकारहरु जनगायक मान बहादुर दोङ, गायक विशाल थिङ, खलनायक बिकु थोकर, नायक अमिर दोङ, कथा लेखक रितुराज पाख्रीन, नायिका सुनिता लुङ्बा, संगितकार निमा दोङ, कराँतेका राष्ट्रिय रेफ्री सुर्य घिसिङ, पत्रकार सुदिन दोङ, पत्रकार विष्णु दोङ, फोटोग्राफर बिकास देव लामा लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

औपचारिक कार्यक्रम पश्चात साँस्कृतिक समारोहका बिच सम्पन्न कार्यक्रममा थुप्रै कलाकारहरुले आफ्नो मनोरञ्जक प्रस्तुति देखाएका थिए । उक्त कार्यक्रमलाई करण तामाङ, सम्झना लामा र सन्जिव स्याङ्तानले संचालन गरेका थिए ।

Comments

comments