काभ्रे । जिल्लाको तेमाल गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष ज्ञानबहादुर मोक्तानले तेमालबाट बुद्धचित्त माला निर्यातमा कुनै समस्या नआएको बताएका छन् ।

गाउँसभाले बुद्धचित्त माला निर्यात गर्दा प्रति किलो १० रुपैयाँका दरले निकासा कर निर्धारण गर्ने र वडा कार्यालयले सिफारिस दिने नीति पास गरेपछि सहज भएको प्रवक्ता मोक्तानको भनाई रहेको छ ।

‘पहिला वन कार्यालय जानुपर्ने, विभिन्न निकायमा धाउनुपर्ने बाध्यता थियो । हाम्रा किसानहरुले धेरै दुःख व्यहोर्न बाध्य थिए ।’ प्रवक्ता मोक्तानले भने, ‘गत असार १० गते सम्पन्न गाउँसभाले बुद्धचित्त मालाको सवालमा प्रति केजी १० रुपैयाँको दरले निकासा कर ठोस गरेको छ ।’ हाल किसानहरुलाई कुनै पनि झन्झट नभएको उनले बताए । गाउँसभाले सबै प्रक्रियाका जिम्मा वडालाई नै दिईसकेको मोक्तानले जानकारी दिए ।
आफ्नै वडाबाट सिफारिस दिएपछि सजिलो
विगत लामो समय देखि बुद्धचित्त मालाको व्यापार गर्दै आएका तेमाल गापा वडा नं. ७ निवासी माधव मैनालीले निर्यात गर्न आफूलाई पहिला भन्दा सजिलो भएको बताए ।

‘पहिला वन कार्यालय देखि विभिन्न कार्यालयसम्म धाउनुपथ्र्यो । प्रक्रिया लामो थियो ।’ मैनालीले भने, ‘अहिले वडा कार्यालयबाटै सबै प्रक्रिया पूरा हुने भएकोले धेरै सजिलो छ ।’

त्यसैगरि तेमाल गापा वडा नं. ४ का इन्द्रजीत तामाङले पनि यसपाली सहज अनुभूति गरेका छन् । कागजी प्रक्रियाको झन्झटिलो कामले अनावश्यक खर्च बढी भएको उनको गुनासो थियो । तर हाल गाउँपालिकाको गाउँसभाले गरेको निर्णयले भने उनीहरुलाई धेरै राहत मिलेका तामाङले बताए ।

Comments

comments