विद्यालय जानुअभि आमासँगै दाउँरा ल्याएर घर फर्किदै बेथानचोक ५ काकीमीडाँडा एक बालिका ।

राजकुमार गोले
काभ्रे । शैक्षिक स्तर खस्कदै गइरहेको अवस्थामा दुर्गमका सामुदायिक विद्यालयका बालकालिका बिहान सबेरै उठ्यो, चिया–खाजा खायो । त्यसपछि एकभारी घाँस, स्याउला या दाउरा त ल्याउनैपर्छ । अनि मात्र हस्याङ–फस्याङ गर्दै स्कूल दौडनुपर्ने बाध्यता छ ।

दिनभरि शिक्षकले पढाएको सुनेपछि अपरान्ह ४ बजे घर फर्केपछि पनि बिहानकै क्रियाकलाप दोहोरिन्छ फेरि । काभ्रेको दुर्गम तथा विकट क्षेत्रमा पर्ने डाँडापारीको बालकालिकाको गृहकार्य भनेकै घर पुग्नासाथ डोको, नाम्लो समातेर कि घाँस, सोत्तर वा स्याउला काट्न दगुर्नुपर्छ कि त गाई, बाख्रा चराउन वा बस्तुभाउको चाकर गर्न तिर लाग्नुपर्छ । गाउँघरका स्कूल पढ्ने बालबालिकाले सामना गर्दै आएको साझा दिनचार्या यस्तै हुन्छ ।

विद्यालय जानुअभि आमासँगै दाउँरा ल्याएर घर फर्किदै बेथानचोक ५ काकीमीडाँडा एक बालिका ।

बिहान बेलुकी बुबाआमालाई सघाएर मात्र स्कूल जानुपर्छ भन्ने मान्यता नै बसिसकेको छ कतिपय गाउँघरमा । आमाबुबालाई नै थाहा छैन कि छोराछोरी गृहकार्य गरेर र घरमा पढेर मात्र राम्रो नतिजा ल्याउँछन भनेर । पढेर समय बिताउने छोराछोरी भन्दा आमाबुबालाई सघाउने नानी नै प्यारो हुन्छन् ।

कपेर निम्न माध्यमिक विद्यालय कक्षा ५ मा पढ्दै गरेकी सरिता विश्वकर्मा भन्छिन, ‘बालकालिकाको काँधमा पनि केही जिम्मेवारी बाँडफाँड गरेर दिएकै हुन्छ । त्यो जिम्मेवारी पूरा नगर्दासम्म हामीले स्ूकल जानै पाइउँदैनौ । काम नसकी विद्यालय गए बेलुका कुटाई खाइहाल्छु ।’

बिहान बेलुकी घरका ठूला मानिसलाई सघाउनुपर्दा बालकालिकाले विद्यालयमा जति सिक्यो त्यतिनै चित्त बुझाउन बाध्य छन् ।

दिनहुँ कि स्याउला कि घाँस त ल्याउनैपर्छ
बिहान काममा गएर फर्कदा स्कूल जान ढिला भएकाले कि विद्यालयमा ढिला पुग्ने कि त खाना नखाईकन विद्यालय जानुपर्ने अवस्था बारम्बार दोहोरिने धार्नेज्योती माध्यामिक विद्यालय कक्षा ७ की अप्सरा थिङ बताउँछिन् । थाप्लोमा रित्तो डोको र हातमा हँसिया बोकेर जंगलतिर जाँदै गरेकी अप्सराले कहिलेकाही त कामबाट फर्केर आफैले खाना पकाएर खाएरमात्र स्कूल जान पाइने बताइन् । दिनहुँ कि स्याउला कि घाँस त ल्याउनैपर्छ । घर गएर पनि आफैले पकाएर खाएर जानुपर्दा कहिलेकाहीँ त हाजिर पनि भेट्दिनँ ।’ अप्सराले दुःखेसो पोखिन् ।

घरमा काम गर्नुपर्ने बाध्यताले व्यक्तिगत सरसफाइ लगायतका काम गर्नै नभ्याउने उनीहरु बताउँछन् । कहिलेकाही त स्कूल जान ढिला हुने सम्भवनाले छिट्टै बाख्रा खोरमा फर्काउँदा अभिभावकको कुटाइसमेत खानुपरेको फलामेटार–९ हत्तिकाडाँडाका राजु तामाङको दुःखेसो छ । ‘मैले त दिनहँु बाख्रा चराउनुपर्छ, समय थाहा नभएर बाख्रा छिट्टै खोरमा लैजाँदा समेत किन छिटो ल्याइस भनेर कुटाई खनुपर्छ ।’ बाख्रा चराउँदै गर्दा हात्तीडाँडामा भेटिएका राजुले भने ।

सहरको तुलानामा बिकटतिर समस्या
सहर बजारमा विद्यालयबाट फर्केपछि पनि पढ्न पर्याप्त समय दिने र अझ ट्युसनको समेत व्यवस्था गरिने हुँदा सहरको तुलनामा दुर्गम तथा विकट क्षेत्रका बालकालिकालाई पढाउन गाह्रो हुने कालीका प्राथामिक विद्यालयकी जुनी मायाँ गोलेले बताइन् । उच्च तहमा पुगेर कम नतिजा प्राप्त हुनाका कारण पनि घरायसी कारण नै मुख्य जिमेवार रहेको शिक्षिका गोलेको भनाई छ ।

कतिपय विद्यार्थी भोकै आउने र आएरका बालकालिका पनि शारीरिक तथा मानसिक तन्दुरुस्तीसाथ विद्यालय नआउने हुँदा शिक्षण सिकाई उपलब्धि हासिल गर्न आफूहरुलाई गाह्रो हुने धार्ने ज्योती माध्यामिक विद्यालयका शिक्षक अमिर लामाले बताए । ‘उदार कक्षोन्नति अनुसार विद्यार्थीलाई अनुत्तीर्ण गराउन नमिल्ने व्यवस्था छ, अनि घरमा पनि काम नगरी स्ूलमा आउन नसक्ने, स्कूलमा सिकेका कुरामा मात्र भर पर्नुपर्ने । यी लगायत कारणले सहरी क्षेत्रका कालकालिकासँग समान प्रतिस्पर्धा गर्न मुस्किल त पर्छ नै यसका अलावा उच्चतहमा कम नतिजा समेत आउने गरेका छ ।’ लामाले भने ।

विद्यालय जानुअभि आमासँगै दाउँरा ल्याएर घर फर्किदै बेथानचोक ५ काकीमीडाँडा एक बालिका ।

पढाइ खर्च जटाउदै, पढदै
एकातिर घर बस्दा कामको बोझ अर्काेतिर घरको आर्थिक अवस्था कमजोर भएको हुँदा पढाई खर्च जुटाउन भन्दै जिल्लाका अधिकांश विद्यालयका बालकालिका आफैले भारी बोकेर पढाई खर्च समेत जुटाउनुपर्ने बाध्यता छ । डाँडापारीमा खुवाको भारी बोक्न नगए आफूहरुका लागि कपी, कलम तथा विद्यालय पोसाक नजुटने साझा समस्या रहेको छ । डाँडापारी क्षेत्रबाट दैनिक जसो खुवा बजार बोकेर ल्याउने भएकाले त्यस भेगका विद्यार्थी पढाई छाडेर खुवाको भारी बोक्न जान्छन् ।

डाँडापारी साविक साल्मेचाकल गाविसका बालकालिकाको बाध्यता भनेको भीर र जंगल नजिक रहेको बारीमा लगाइएको बाली जोगाउन बिहान उज्यालो भएदेखि साँझसम्म बारीमै रहन्छन् । गाउँभरिका साथीभाई जम्मा हुन्छन्, बारीमै खेल्छन्, घरबाट लगेको खाजा उतै खान्छन् अनि साँझ परेपछि मात्र घर फर्कन्छन् । .

विद्यालय जानुअभि आमासँगै दाउँरा ल्याएर घर फर्किदै बेथानचोक ५ काकीमीडाँडा एक बालिका ।

‘बारीमा बाली पाक्ने बेला त कहिल्यै स्कूल जाँदैनो, स्कूलमा कोही हुँदैनन् के जानु ।’ साबिक साल्मेचाक गाविस वडा न.. ८ का १३ वर्षिय सरोज कुमार तिमल्सिनाले भने, ‘जंगल र भीरछेउमा रहेको बारीमा बाली पाक्न नपाउँदै हुलका हुल बाँदर, मृगा र कालिज आएर सिध्याउने हुनाले बिहान उज्यालो भएदेखि साँझसम्म बाँदर खेदाउन बस्नुपर्ने हुन्छ ।’

यहाँका बालकालिका वर्षमा आधाभन्दा बढी समय बाँदर खेद्दैमा बिताउँछन् । कात्तिक, मंसिरमा कोदो, चैत्र बैशाखमा गहँु, जौ, जेठ असारमा आलु अनि साउन भदौमा मकैबाली जोगाउनुपर्ने भएकाले सधैँजसो बारीमा बसेर बाँदर हेर्न लाग्नुपर्छ ।

 

Comments

comments

SHARE