अञ्जली तामाङ
काभ्रे । भूकम्प गएको ३ वर्ष भन्दा बढी समय विते पनि काभ्रे जिल्लामा भूकम्पपीडित मध्ये करिब ६१ प्रतिशतले दोस्रो किस्ता लिएका छन् ।

पुनःनिर्माण प्राधिकरणले असार मसान्तसम्म दोस्रो किस्ता लिनै पर्ने बाध्यकारी नियम बनाएको भएपनि जम्मा ६१ प्रतिशतले मात्र दोस्रो किस्ता लिइएको पाइएको हो ।

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले दिएको जानकारी अनुसार असार मसान्तसम्ममा पहिलो किस्ता वापतको रकम लिएकामध्ये हालसम्म ६१ प्रतिशत अर्थात् ४० हजार ८ सय १२ लाभग्राहीले दोस्रो किस्ता वापतको १ लाख ५० हजार रुपैँया रकम बुझेका छन् ।

त्यस्तैे अनुदान रकम दिई घर निर्माणका लागि दोस्रो किस्ताको रकम बुझेका मध्ये करिब २४ प्रतिशत भूकम्प पीडितले तेस्रो किस्ताको रकम लिएका छन् । दोस्रो किस्ताको रकम लिएका ४० हजार ८ सय १२ लाभग्राहीमध्ये १६ हजार १ सय १९ लाभग्राहीले मात्रै तेस्रो किस्ताको रकम लिएका छन् ।

एक हजार ३ सय ६० लाभग्राहीले गैह्र सरकारी संस्थाबाट र १४ हजार ७ सय ५९ ले नेपाल सरकारले उपलब्ध गराएको अनुदान रकम लिएका हुन् । काभ्रेमा ६६ हजार ९ सय ९१ भूकम्प पीडितले नीजि आवास पुनःनिर्माणको लागि भन्दै सरकारले उपलब्ध गराएको पहिलो किस्ताको रकम बुझेका थिए ।

जिल्ला आयोजना कार्यानवयन इकाइ काभ्रेले २३ हजार ९ सय २९ वटा गुनासोमध्ये हालसम्म ९८ प्रतिशत अर्थात् २३ हजार ४ सय ८६ वटा गुनासो फस्र्यौट भइसकेको जनाएको छ । भूकम्पबाट सामान्य क्षति भएका नीजि घरहरुमध्ये प्रवलिकरण अर्थात् रेट्रोफिटिङ गर्नुपर्ने २ हजार ४ सय १५ लाभग्राहीमध्ये हालसम्म २३ प्रतिशत अर्थात् ५ सय ५४ लाभग्राहीसँग मात्रै अनुदान सम्झौता भएको जनाएको छ ।

Comments

comments