वडाअध्यक्ष नै अध्यक्ष भएको सहकारीले अनियमितता गरेको भन्दै लगाएको ताला सहमति पछि खुल्यो

मोहन तामाङ
संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका ७ मा रहेको निमनगडी साना किसान कृषि सहकारीमा लगाइएको ताला खुलेको छ । बिहिबार लगाइएको ताला २७ घण्टापछी खुलेको हो ।

सहकारीले हिसाव सार्वजनिक नगरेको, लामो समय देखि साधारण सभा नराखेको र २०७२÷०७३ मा गरिएको लेखा परिक्षणमा लाखौं रुपैंया वेरुजु देखिएको भन्दै सेयर सदस्यहरुले ताला लगाएका थिए । यस अघि पटकपटक हिसाव सार्वजनिक गर्न र साधारण सभा राख्न अनुरोध गरे पनि वेवास्ता गरेको सेयर सदस्यहरुले आरोप लगाएका छन् ।

शुक्रबार सेयर सदस्य र सहकारीबिच चार बुदे सहमति भएपछि ताला खुलाइएको सन्तोष वस्नेतले बताए । आजको मितिले १५ दिन भित्रमा लेखा परिक्षणले दिएको प्रतिवेदन छानविन समितिमा बुझाउनु पर्ने, बुझाएको प्रतिवेदनका आधारमा ५ दिनभित्र समितिले छानविन गरी साधाराण सभा बोलाउनु पर्ने, साधारण सभा बोलाउन नसके विशेष साधारण सभा बोलाएर सेयर सदस्यलाई सहकारीको हिसाब खाज्न जिम्मा दिनुपर्ने ताला खुलेको हो ।

२०७२/०७३ मा ३६ लाख ७० हजार ९ सय ६२ रुपैंया वेरुजु देखिएको सहकारीका अध्यक्ष कृष्ण बहादुर खड्काले स्वीकार गरे । उनी वडा नम्बर ७ का वडाध्यक्ष समेत हुन् ।

Comments

comments