१० जेठ, काठमाडौं । एक हिमाल आरोहीले आइतबार विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा दलाई लामाको झण्डा फर्फराएर फर्किएका छन् । एक चीन नीतिप्रति प्रतिवद्ध रहेको नेपालमा भएको यस्तो गैरकानूनी कार्यबारे नेपाल सरकारले छानविन सुरु गरेको छ ।

भारतमा निर्वासित तिब्बतीयन धर्म गुरु दलाई लामाका समर्थकले सगरमाथाको चुचुरोमा पुगेर झण्डा फर्फराएको रिर्पोट नेपाल सरकारको सम्वन्धित निकायहरुमा पुगेको छ । तर, दलाई लामाको झण्डा फरफराउने व्यक्ति तिब्बतियन नागरिक हुन् वा नेपाली हुन् भन्ने खुलेको छैन ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार अहिले पनि सगरमाथाको चुचुरोमा दलाई लामाको झण्डा फर्फराइरहेको छ । झण्डासँगै चुचुरोमा दलाई लामाका फोटो समेत राखिएको छ । सरकारी निकायहरुले उक्त झण्डा हटाइदिन सगरमाथा चढिरहेका हिमाल आरोहीहरुलाई आग्रह गरेका छन् ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले अहिले यस विषयमा छानविन भइरहेको बताए । उनले नेपालकै संयन्त्रबाट त्यस्तो सूचना सरकारलाई आएको र उक्त कार्यमा संलग्नको खोजी भइरहेको बताए ।

कसरी पुग्यो झण्डा र फोटो ?

पर्यटन विभागले उक्त झण्डा र तस्वीर कसरी सर्वोच्च शिखर सगरमाथासम्म पुग्यो भन्नेबारे आश्चर्य प्रकट गरेको छ । हरेक हिमाल आरोहीको हिमाल चढ्नुअघि सुरक्षा जाँच हुन्छ । तोकिएको भन्दा बाहेक अन्य घातक वा गैरबानूनी वस्तुहरु लान नपाउने नियम छ । ।

विभागले अहिले सगरमाथाको आधार शिविरमा सुरक्षा जाँच कडा गरेको छ । घटनामा संलग्नलाई पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।

नेपाल सरकारले सगरमाथाको उत्तरी मोहडा हुँदै तिब्बती क्षेत्रबाटै सगरमाथाको शिखरमा झण्डा पुर्‍याइएको हुन सक्ने आशंका समेत गरेको छ ।

Comments

comments