१. पृष्ठभूमि
`खेप्पास्हुङ’ शब्द नसुनेको तामाङ कमै होलान् । किन नेपाल छोडेर भारत पुगिसक्ता समेत यो शब्दलाई भुल्न नसकेका होलान् ? उच्चारणमा थोरै परिवर्तन भएको सुनिन्छ । यो के हो भन्ने बारेमा खासै जानकारी नहोला । `ख्यप्पास्हुङ’ नै सही अझै सुन्न पाइन्छ । कोही न कोहीले सुनाउँछन् । के हो खेप्पास्हुङ ? तामाङको हो र ? हिन्दूको होला । झाँक्रीको रहेछ । हैन, बौद्धको हो । यस्ता अनेक तर्कहरू प्रशस्त सुन्दै आएका छौं । यो म्हेनङसँग जोडिएको एउटा पूजा हो । यसैको बारेमा यहाँ स्पष्ट पार्ने प्रयास गरिएको छ ।
२. शब्दोत्पत्ति
`खेप्पास्हुङ’ तामाङ बोली हो । यसको व्युत्पत्ति `खेप्पा’ (अग्रज; बुढो; पुर्वज; पितृ)मा `स्हुङ’ (पूजाको लागि कबोल गरेको) बाट भएको देखिन्छ । यो शब्द सांस्कृतिक रूपमा बोनसँग सम्बन्धित रहेको छ । यसैलाई नै स्थान अनुसार `ख्याप्पास्हुङ’ अखेस्हुङ, आख्खेस्हुङ’ जस्ता शब्दका प्रयोग गर्दछन् । बोनबाट आएको देखिएतापनि यो संस्कृतिले लामा (बौद्ध)मा समेत स्थान जमाएको पाइन्छ ।
तामाङ लामाहरूले यसलाई नै `खेपासुम’ वा `अखेसुम’ भन्दछन् । भुल्न नहुने तथ्य यो पनि हो कि- ‘स्हुङ’ र ‘सुङ’को अर्थ फरक हुन्छन् । ‘स्हुङ’को अर्थ माथि नै खुलाइसकेको छ । ‘सुङ’को अर्थ चाहिँ मुख भन्ने हुन्छ । ‘सुम’को अर्थ चाहिँ ‘तीन’ हुन्छ । यत्ति पनि बुझ्न नसक्दा समस्या बढेको देखिएको छ ।
बोनको खेप्पास्हुङमा मुख्य गुरुचन रहेको हुन्छ । यिनी को हुन् भन्ने सम्बन्धमा विभिन्न मिथहरू पाइएका छन् । जसको बारेमा पनि तल प्रसङ्गानुसार उल्लेख गरिएको छ । यसको प्रतीक स्वरूप बुझू/तोर्मा निर्माण गरेको हुन्छ । लामाले भने छ्योइकु, ल्हुङ्कु र टुल्कुलाई मान्छन् । यी तीन जना सङ्ग्ये नै हुन् । यसप्रकार गुरुचनलाई मुख्य मानेर बोम्बोले खेप्पास्हुङ साथै लामाले खेप्पा/अखेसुम भन्ने गरेका छन् ।
३. गुरुचन
तामाङ बोन विश्वास अनुसार पृथ्वी उत्पत्ति हुनुअघि यहाँ `तोङ्पा’ (महाशून्य) थियो । महाशून्यको पनि `हिङ्गैछमस्थित होमेन तेवा’ (अग्नीमय केन्द्र)मा तीनजना `ल’ (देउता) उत्पत्ति भएका थिए । तिनीहरूमा ल छङ्बै रेञ्जेन, ल वङ्बै ग्यप्चेन र ल महादेओ थिए । महाशून्य मात्रै रहेकोले के गर्ने र नगर्ने भन्ने अन्यौलता परेछन् । ल छङ्बै रेञ्जेनले `ङ्यम्बाडुप्पा’ (ध्यान) गरेछन् । ध्यानबाट पृथ्वी सृष्टिको ज्ञान प्राप्त गरेछन् । त्यसपछि पृथ्वीको निर्माण गरेछन् ।
स्हेङ्बा (निर्माण)कै क्रममा `म्हिए रेञ्जेन कोल्मी’ (आदिपुरुष मानव)लाई उत्पत्ति गराएछन् । ल छङ्बै रेञ्जेनले उत्पन्न गराएकैले तिनको नाम पनि रेञ्जेन राखेछन् । म्हिए रेञ्जेनलाई जीवनसाथीको रूपमा `लएलमो (देवकन्या) उत्पत्ति गराएछन् । ती दुर्इ जनाका बीच ब्रेल्वा (वैवाहिक सम्बन्ध) कायम गराइदिएछन् । मनुष्यसँग विवाह गरेकी हुनाले लएलमोलाई नै `गङ्सल्मो’ भन्न थालेछन् । `गङ्सल’ अर्थात् अर्ध र `लमो’ अर्थात् देवी बाटै गङ्सल्मो भनेका हुन् ।
शुरूमा मानिसले ल छङ्बै रेञ्जेनसँग मिलेर शिकार खेल्न सिके । त्यसक्रममा `ब्रोङ्चेनकर्पो/जिब्रोङ नामक सानो कदको चरी मारेछन् । त्यसरी शिकार खेल्न हिँड्ने क्रममा म्हिए रेञ्जेनको नाम `किरल्पा गोम्बो’ रहन गएछन् । यसको अर्थ शिकारी भन्ने हुन्छ । यही किरल्पाबाटै किरात भएको हो । बोन शेरप अनुसार शिकार गरिसकेपछि किरल्पा गोम्बोले आफ्नो भागमा परेको चरीको फिला कानमा सिउरेर फर्केछन् । घरमा पुगेपछि गङ्सल्मोले के ल्यायौ भनेर सोध्नुभएछ ।
साह्रै सानो भएकोले “इ तिम्रो बुवाको कमाई’’ भनेर गङ्सल्मोको काखमा चरीको फिला फालेछन् । त्यसैले लागेर गङ्सल्मोको तिघ्राको हड्डी भाँचिएछ । पीडा सहन नसकी गङ्सल्मो रुन थालिछन् । रुवाई सुनेपछि ल छङ्बोले छोरोलाई पठाएछन् । तिनले बहिनीको तिघ्राको हड्डी भाँचिएको भनी बाउलाई खबर गरेछन् । त्यसपछि मनुष्यसँग नफाल्ने रहेछ भन्दै ल छङ्बोले छोरी फिर्ता लगेछन् ।
त्यसरी फिर्ता लगिएकी गङ्सल्मो गर्भवती भइसकेकी रहिछन् । माइतीमै तिनले छोरो जन्माइन् । आमा देवकन्या र बुवा मनुष्य भएकाले तिनी देउता र मनुष्य दुवै हुन सकेनन् । त्यसैले तिनी चन (शिकारी) भए । तिनी साह्रै शक्तिशाली भएर आए । त्यसैले तिनी चनहरूका पनि मुख्य भए र नाम पनि गुरुचन रहन गयो । यसप्रकार गुरुचनलाई शेरपमा चिनाइएको पाइन्छ ।
४. खेप्पास्हुङ
गुरुचन देव र मनुष्य लोकमा बसेनन् । उनी चन हुन पुगेकाले चनलोकमा नै बसे । त्यहीको मुख्याधिकारी भएका थिए । तामाङ लोक मान्यता अनुसार एक पटक गुरुचन अंश माग्न भनेर मामा कहाँ पुगेछन् । तिम्रो बुवा र भाइहरूसँग माग्न जाऊ भनेर मामाले पठाएछन् । त्यसपछि गुरुचन सिधै मनुष्यलोकमा आइपुगेछन् । यता बाउ म्हिए रेञ्जेन कोल्मी र गङ्सल्मोबीच सम्बन्ध टुटेपछि, `ब्रागैलमो’ (भीर/पहरोकी देवी)सँग विवाह भएको रहेछ । तिनका सन्तानहरू फैलिइसकेका रहेछन् ।
गुरुचनले आफ्नो परिचय दिँदै अंश मागेछन् । मनुष्य भाइहरूले पनि, हामीले तिमीलाई के अंश दिऔं त भनेर सोधेछन् । गुरुचनले भने वर्षमा एउटा भाले र तो’फोले(सयपत्री फूल) चाहिँ अंशभाग स्वरूप चाहिन्छ भनेर माग गरेछन् । अन्य भाइले पनि हुन्छ भनेछन् । त्यही बेलादेखि दाइ गुरुचनको नाममा एउटा भाले बलि दिने भएछन् । खेतबारीको पनि कान्लामा फुल्ने ता’फोले चाहिँ गुरुचनको अंशभाग मानेछन् । त्यसैले ता’फोले प्रत्येक वर्ष गुरुचनलाई नचढाएसम्म मनुष्यले चलाउन नपाउने भएछ ।
सम्झौता अनुसार मनुष्यले गुरुचनलाई वर्षेनी अंशभाग बुझाउनुपर्ने भएछ । ता’फोले पनि फुल्ने साथै वर्षको सबैभन्दा उत्तम ऋतु पनि भएकोले म्हेनिङमै बुझाउने भएछन् । त्यसका लागि विधिविधान पनि तोकिएछन् । चन भएकोले अंशभाग बुझाउनका लागि मनुष्य भाइले गुरचनको ब्रङ्गी (मण्डप/आशन) निर्माण गरेछन् । दाइ गुरुचनको प्रतीक स्वरूप कुप्रे बुझू (गुरुतोर्मा) बनाएछन् । गुरुचनलाई आह्वान गर्दै भाले बलि दिन र ता’फोले चढाउन थालेछन् । अहिलेसम्म पनि तामाङले नयाँ ता’फोले खेप्पास्हुङ नगरी चलाउँदैनन् । घरमा समेत हुल्दैनन् । जुठो पार्नु हुँदैन; गुरुचनको अंशभाग हो भन्छन् । यसप्रकार गुरुचनलाई अंशभाग बुझाउन थालेछन् ।
कर्णसिंह तितुङका अनुसार रसुवातिर भने खेप्पास्हुङको लागि केही महिना पहिले नै भाकल गर्ने प्रचलन रहेको छ । डोल्मा गोले लेख्छिन्, पहिले रातो भाले बलि दिन्थे । अहिले फलफूल मात्रै चढाउन थालेका छन् । मोहनकुमार योञ्जनले जनाउनु भएअनुसार इलामतिर भने बैशाखमा मने छ्योद्छी गरेपछि म्हेनिङमा खेप्पास्हुङ गर्ने प्रचलन रहेको छ । यदि मने छ्योद्छी गरेको रहेनछ भने खेप्पास्हुङ गर्न पाइँदैन । यसैपालि मात्रै Mohan Lama Rumba फेसबूकवालमा पनि म्हेनङ तथा खेप्पास्हुङको बारेमा पनि मकवानपुर क्षेत्रमा प्रचलित परम्परासम्बन्धी लेख्नु भएको छ ।
तामाङ समाजले अन्नबाली लगाउने क्रममा नम्दुङ ल (सौर्यपात्रो अनुसार चाहिँ चैतेदशैँ भनिएको) को बेला सेरकेम गरेका हुन्छन् । अन्नबाली लगाउने र खनजोत गर्ने क्रममा हुनसक्ने गल्तीको लागि क्षमा गर्ने, भूमि सुद्ध पार्ने र ह्युल्जे (भूमेपूजा)को लागि आश्वासन दिएका हुन्छन् । सोही अनुरूप दुगु ङ्ह्यमा ह्युल्जे गरेर अन्नबाली सफल बनाइदिन स्थानीय झ्योहो, झ्योमो, नेदा र सिप्दा लगायतसँग आह्वान गरेका हुन्छन् । त्यसैले अन्नबाली सफल हुनुलाई झ्योहो, झ्योमो, नेदा र सिप्दा लगायतको विशेष भूमिका रहेको विश्वास गर्दछन् ।
त्यही भएकोले म्हेनिङमा ती सबै झ्योहो, झ्योमो, नेदा र सिप्दा लगायतप्रति कृतज्ञता ज्ञापन गर्दछन् । म्हेमेदङको वाचन गर्दछन् । सोही शिलशिलामा ब्रङ्गी निर्माण गरेर गुरुचनलाई अंशभाग बुझाउने प्रचलन रहेको छ । त्यसरी गुरुचन लगायतका सम्पूर्ण खेप्पा (पितृ)हरूलाई समेत पूजा गरिने हुनाले नै त्यसलाई `खेप्पास्हुङ’ भनिएका हुन् । यसप्रकार खेप्पास्हुङ भनेको गुरुचनलाई अंशभाग बुझाउने पूजा हो । अन्नबाली र घरको सदस्य साथै पशुपङ्क्षीको सुरक्षा गरिदिएबापत् झयोहो झ्योमो, पितृहरू साथै नेदा र सिप्दासमेतलाई कृतज्ञता (धन्यवाद) ज्ञापन गर्ने संस्कृति हो ।
५. खेप्पास्हुङको पूजा विधि
`खेप्पास्हुङ संस्कृति एउटा स्वरूप पनि हो । यो एक प्रकारको पूजा नै हो । यसको बोन विधि र लामामा खेपासुम/अखेसुम विधि रहेको पाइन्छ । यतिखेर भने बोन विधि अनुसारको खेप्पास्हुङको बारेमा उल्लेख गरिएको छ । जुन निम्नानुसार रहेको छ ।
म्हेनिङमा गरिने पूजाहरूमध्ये सबैभन्दा मुख्य खेप्पास्हुङ हो । यसको लागि बोन विधि अनुसारको मण्डप बनाउँछन् । यो पूजा बेलुका गर्दछन् । एकै जना बोम्बोले धेरै घरमा भ्याउनुपर्ने भएमा दिउँसो तीन/चार बजेतिरबाटै पनि शुरू गर्दछन् । यसमा जुठो नगरी चोखोनिधो बस्नुपर्ने भन्ने हुँदैन । सर्वप्रथम घर लिपपोत गर्छन् । चोखो चामललाई पानी थोरै कम जस्तो हालेर पकाउँछन् । पाकेपछि भाँडामै ढिकीको मुसल वा बाँसको मुसल जस्तोले भातलाई किच्याउँदै डल्लो बनाउँछन् ।
ती भातका डल्लालाई सफा नाङ्लोमा निकाल्छन् । तेल (त्यस्तै परे घिऊ) लगाउँदै मुछ्न र बुझूको आकार दिन्छन् । पहिले कुप्रे बुझू बनाउँछन् । बनेपछि नाङ्लोमा ठडाउँछन् । त्यसपछि ब्लीसोर र सोमसोर एक एक बुझू बनाउँछन् । अरु दुर्इ वटा मन (सादा) बुझू बनाउँछन् । कुप्रे बुझू नै गुरुचनको प्रतीक हो । त्यसलाई नाङ्लोको एक छेउमा स्थापित गर्छन् । त्यसैको दायाँतिर ब्लीसोर र बाँयातिर सोमसोर बुझू राख्छन् । ती तीनको अघिल्तिर दुइटा मन बुझू राख्छन् । प्रत्येक बुझूलाई ता’फोलेले सजाउँछन् । नाङ्लोको बीचमा दुनो (मको अर्थात् तिमिला वा केराको पहिलो पात)मा कुदुङ (चामलको पीठो), फुल र सानो सगुन पोङमा सगुन राखेर सजाउँछन् ।
स्हिने (अन्न)को प्रतीक स्वरूप नयाँ मकैको केही दाना पनि नाङ्लोमा राख्छन् । नाङ्लोको चारैतिर हुनेगरी बीँडमा टोटला फूलद्वारा निर्मित चारवटा ठिसिङले सजाउँछन् । त्यसरी सजाउने क्रममा मण्डपको रूपमा सजाएको नाङ्लो राख्ने ठाउँमा लिपपोत गरेको हुन्छ । नाङ्लोसँग जोडेर ठिक अघिल्तिर भने केराको पात बिछ्याउँछन् । त्यसमाथि सोकसोली राख्छन् । त्यो भने फापरसिङ(भीमसेनपाती)को पातद्वारा बनाएको सोली जस्तो आकारको हुन्छ । योभित्र फापरसिङ(मा)को पात र ता’फोले राख्छन् । राखिएका पाँच वटा मध्ये बीचकोमा भने मान्छे आकारको सानो बुझू राख्छन् । त्यसलाई ह्युम बुझू भन्छन् ।
बुझू भने स्थान र बोन अनुसार २१ वटासम्म पनि राखेका पाइन्छन् । खोटाङ मूढे क्षेत्रमा भने खेप्पा(आख्खे)स्हुङको क्रममा घरमूली महिलाको छेकूSबा गर्दछन् । यसको अर्थ आयू थप्ने वा प्रतिस्थापन गर्ने भन्ने हुन्छ । त्यसका लागि डालामा छेने राख्छन् । त्यसक्रममा धान राख्ने प्रचलन रहेको छ । पूजाका लागि थालीमा अक्षता, बुझू, दियो र भेटी समेत राख्छन् । ताफोलेलाई काँसका थालीमा पनि राख्ने गर्दछन् ।
पूजाको क्रममा कुलपितृका नामावली वाचन गर्दछन् । त्यसैलाई म्हेमेदङ/तङ, फरप र लरप आदि पनि भन्ने गर्दछन् । घरभित्र गुरुचनको मण्डप बनाएपछि स्युक्पा (धूपी)द्वारा सङ गर्दै बोनले फलाक्छन् । सोही क्रममा नगा च्योल्बा पनि गर्दछन् । त्यसपछि मण्डपको रूपमा रहेको नाङ्लोसहितका सामान आँगनमा निकाल्छन् । कुप्रे बुझूलाई भने नाङ्लोबाट बाहिर निकालेर पातमा राख्छन् । भूर्इँमा चौकुना मिलेको केराको पात बिछ्याउँछन् । त्यसमाथि पाँच भाग अक्षता र अबीर राख्छन् । त्यहीँ कुदुङको पाँच धर्का तानेका हुन्छन् । बीचको धर्कोको बीचनेर एक मुठी जति कुदुङ राख्छन् । त्यसैमा फुल पनि राख्छन् । नाङ्लोमा गाडेका ठिसिङ निकालेर त्यो पातलाई चारै कुनामा गाड्छन् । सोकसोली रहेको पातमाथि पनि अबीर र कुदुङले कोरेर त्रिशुल बनाउँछन् ।
त्यसपछि पुनः विधिपूर्वक बोम्बोले फलाक्छन् । अन्ततः भाले बलि चढाउँछन् । यो बलि चढाउने विधि फरक हुन्छ । भालेलाई रेट्दैनन् । दुर्इ जना मिलेर एउटाले जीउतिर समात्छन् । अर्कोले टाउको समाउँछन् र अचानोमाथि राखेर छिनाउँछन् । टाउको थानमा राख्छन् । रगत चढाउँछन् । बुझूमा पनि रगत लगाउँछन् । त्यसैगरी खेप्पास्हुङको अवसरमा घरमूली महिलाको छे’कूSबा प्रचलन पनि रहेको देखिन्छ । यो पूजाको लागि पहिलो पटक घरमा ता’फोले भित्र्याउँछन् ।
पूजा सकिएपछि सबैले ता’फोले लगाउँछन् । महिलाले कपालमा सिउरन्छन् । पुरुषले कानमा सिउरन्छन् । तिहारमा मयुङ (दाजुभाइ)लाई टीका लगाउने बुसिङ (चेली)ले भने जुठो हुन्छ भनेर तिहारअघिसम्म पनि ता’फोले लगाउँदिनन् । यो पूर्णतः बोन विधिको कुरा हो । बौद्ध मतावलम्बीले पनि यस्तै लाग्ने `खेपासुम/अखेसुम’ गर्दछन् ।
शब्दमा समानता देखिएपनि यी दुर्इ पूजा साँच्चैमा फरक मान्यता र दर्शनमा आधारित रहेका छन् । तसर्थ, खेप्पास्हुङ र खेपासुम/अखेसुममा समेत आकाश जमीनको फरक देखिएको छ । खेप्पास्हुङ छोडेमा कुल पितृका नामावली वाचनको क्रम छुट्नेछ । त्यो छुटार्इ तामाङ समुदायलाई मौलिक पहिचानको मुद्दामा साह्रै महङ्गो सावित हुने भएकोले म्हेनिङलाई छोड्न हुँदैन भनेको हो ।
यसको अर्थ दशैँ मनाउनु भन्ने पटक्कै होइन । त्यसरी बुझेमा दूर्भाग्यपूर्ण हुनेछ । हिजोआज कतिपयले म्हेनिङ भनेको सुनेकै छैनौं । हाम्रोतिर छैन भन्न र लेख्न थालेका छन् । तामाङ हुँ भन्ने तर म्हेनिङ भन्ने नै थाहा छैन भन्नु खाना खाएँ तर पकाएकै छैन भन्नु जस्तै हो । कम्तिमा पनि तामाङ महिनाको नाम नै थाहा नभएको जस्तोगरी यस्तो प्रतिक्रिया दिनु लज्जास्पद हो ।
हाम्रोतिर छैन; त्यसैले तामाङको होइन भन्नुको अर्थ- जे पनि हामीले वा मैले गरेमा मात्रै तामाङको हुन्छ । अन्यत्रकाले गरेका चाहिँ तामाङको होइन अर्थात् तिनीहरू तामाङ होइनन् भन्नु हो । यस्तो बुझाईले बिखण्डन निम्त्तयाउने हुन्छ । त्यसैले बेलैमा सचेत हुन आवश्यक छ । त्यस्तैगरी म्हेनिङ मान्दा दशैँलाई फाइदा वा हानी पुग्ला भनेर डराउनु वा कराउनु पनि पर्दैन । पुर्खाले स्थापित गरिराखेका रिमठिमलाई गौरवताका साथ पालना गर्नु नै सच्चा सन्तानको धर्म र दायित्व हो ।

Comments

comments