-
फूलमान वल
झ्याउँकिरीले गाउन थालेपछि मैले साइकलको ब्रेक दबाएँ । हरिया रूखमा चराहरू नाच्न थाले । म झिकु खोला किनारको मनोरम बोटानिकल पार्कमा थिएँ । एक छिन खुब रन्थनिएँ । सहरबाट गाउँ हिँडेको– कहाँ आइपुगें म ?
बोहोरे दोभान उही थियो तर पानीघट्ट थिएन । पलाञ्चोक र तेमाल जोड्ने लोभलाग्दो पक्की पुल बनिसकेछ । यही झिकु खोलामा थुप्रैपटक सेलो गाउँदै दुवाली फर्काएको हुँ, सानो छँदा । खिर्रोको स्याउला कुटेर माछा मारेको पनि थिएँ । पौडी खेल्दा पानी छ्याप्दै जिस्किन आउने पलाञ्चोके आस्याङका छोरी पम्फा र रामशलीहरूको रातो रिबन… ।
अहो, झिकु खोलामा त एउटा सिंगै युग बगेर गएछ !
क्षितिजमा उदाउँदै गरेको जूनको गर्भिनी उज्यालोमा हामी प्रेमगीत गाउँथ्यौं यहाँ । घट्टको एकतमास लय, गंगटा र गोलभेंडाको अचार अनि ढिँडोको आदिम स्वाद । आहा !
एकाएक विस्मृतिको दोधारे विन्दुमा उभिन पुगें । आश्चर्य ! घडी र पलाहरूको यो कस्तो विस्मयकारी टाइमल्याप्स । पत्तै नदिई कसरी बिलाइगएछ समय ?
फेरि झ्याउँकिरीहरूले गीत गाए ।
म पाइडल घुमाउँदै अघि बढें । अघिल्तिर कालापत्रे सडकले रोमाञ्चककारी अँगालो फैलायो । अचम्म ! कुनै समय मैले पसिना चुहाउँदै घाँसको भारी बोकी हिँड्ने दुःखको दुरूह गोरेटो यहीँनेर थियो । अहिले सफाचट टुरिस्टबस दौडिरहेछन् । आश्चर्यको तुमुल तुवाँलो उठ्यो मनभित्र । पुल नटुंगिँदै पारिपट्टि ठूलो होर्डिङबोर्डमा ‘तेमाल कोर्वा (पदयात्रा)’ को नक्सा कोरिएको थियो । कस्तो विरोधाभास– आफ्नै गाउँ जान आज म नक्सा हेर्दै छु !
पक्कै मलाई डिमेन्सिया भएको हुनुपर्छ ।
…
सहरमा हराएको पनि ठ्याक्कै पच्चीस बर्ष भएछ । एक दशक जति त कोमामै बिताएँ हुँला । कोमाबाट ब्युँझिँदा देशमा जनयुद्ध र लोकतान्त्रिक आन्दोलन टुंगेर गणतन्त्र आइसकेको थियो ।
थाहा छैन– तिनताक के भएको थियो, मैले फेरि कोमामा जानुपर्यो । त्यो एक प्रकारले हाइबरनेसन थियो सायद । दोस्रोपटक ब्युँझिँदा देशले नयाँ संविधान पाइसकेको थियो । प्रदेशहरू निर्माण भइसकेका थिए ।
‘तपाईंका लागि पहाडी यात्रा निकै उत्तम हुनेछ,’ डाक्टर आत्माले एक दिन मलाई प्रेमपूर्वक सुझाइन् ‘त्यहाँका नागबेली बाटामा अक्सिजनको प्रेमिल नदी बगिरहेको भेटाउनुहुनेछ । यो सहर तपाईंको स्वास्थ्यका लागि हानिकारक छ ।’
त्यसपछि उनैले प्रेमपूर्वक साइकल उपहार दिएर गइन् । गइन् किनभने त्यसयता उनी कहिल्यै फर्केर आइनन् । मैलेचाहिँ आफूलाई अलिक ब्युँझिएको महसुस गरें । मनको भित्री कुनामा भने कुनै स्वैरकाल्पिक उपन्यासको पात्र हुँ कि भन्ने दिग्भ्रम कायमै रह्यो ।
यही दिग्भ्रमकै बीच साइकलको पाइडल खिचेको हुँ– काभ्रेको तेमाल गाउँतिर । तामाङ सभ्यताको यो उद्गमथलोमा पक्कै पनि मेरो बाल्यकालका यादहरू छरिबसेका होलान् । म त्यही यादहरूको बिस्कुन टिप्न हिँडेको हुँ ।
…
होर्डिङबोर्ड नाघ्नेबित्तिकै पारिपट्टिबाट ढ्याङग्रो र डम्फुको लयदार आवाज आयो । अलिक पर दुई भव्य गेट देखें । बौद्ध र बोन वास्तुकला मिश्रित एन्टिक शैलीको प्रवेशद्वार । सबैभन्दा माथि डम्फु, त्यसपछि ढ्याङ्ग्रोको क्लासिक डिजाइन । बीचको काठमा कुँदिएको थियो– ‘तेमाल कोर्वा’ । ढुंगा बिछ्याइएको सफा र फराकिलो चोकमा मानिसहरू एकतमास किन झुम्मिरहेका छन् ?
मैले फेरि सानदार ब्रेक दबाएँ ।
‘तेमाल कोर्वामा स्वागत छ है !’, तामाङ मौलिक परिधानमा सजिएकी एक युवती अघिल्तिर उभिन आइपुगिन्– ‘फ्याफुल्ला !’
गाउँ आउने पयर्टकको स्वागतमा ढ्याङ्ग्रो र डम्फु बजाउँदै मान्छेहरू नाँच्दै रहेछन् । म पनि पर्यटकसँगै मिसिएँ । कुलाकी र गोइलो लाएका मूल ताम्बाले सगुनस्वरूप रक्सीमा टोटलाको फूल चोबल्दै भुइँ, आकाश र चार दिशा छर्के । युवतीको एउटा समूह सगुन बाँड्न थाल्यो ।
‘ल्हास्सो ऽऽऽ…’
परबाट युवतीहरूको अर्को समूह टोटलाको फूलको टीका लाउँदै आइपुग्यो । दाहिने गालामा चिटिक्क कोठीवाली युवतीले मेरो निधारतर्फ फूल अघि बढाइन् । मैले उनलाई चोरी आँखाले हेरें । उनका नयनमा पनि मुस्कान दगुर्यो । म कतै हराएँ । मलाई उनको एकजोर आँखा मनपर्यो । यी आँखालाई पहिले कतै देखेको हुनुपर्छ । याद बिर्सेर हिँडेको मान्छेलाई कसले पो याद राख्छ र ?
सहरको कोमामै छँदा चीनको युनान पुगेको सम्झें । दोङबा र मिला गाउँका आदिवासीले ७ वर्षअघि यसरी नै स्वागत गरेको थियो मलाई ।
…
हो त, गाउँ साँच्चिकै बदलिएछ !
मनभरि विस्मय बोकेर रूपटार जंगल उक्लें । हरियालीबिच नागबेली पक्की बाटो बनिसकेछ । उत्तरतिर जुगल हिमाल मुसुक्क हाँस्यो । उसैलाई हेर्दै हुर्केको थिएँ म । गाईबाख्रा चराउँदै यही जंगलमा डण्डी–बियो खेलेको हुँ । अहिले त चरण र बन्यजन्तु संरक्षण गरी दुई क्षेत्रमा बाँडिएछ । अचानक, एउटा खरायो फुत्त उफ्रियो झाडीबाट । हठात ब्रेक दबाएँ । यही बेला हरिण र मयूरको लुकामारी चल्यो । लौ, भुइँ जुरेली र तित्राले खेलेको जुहारीको लय पुरानै छ त !
रूपटार चौर पुगेपछि तीनछक परें । फराकिलो पार्क, फूलैफूलले ढकमक्क । मुलगेटमा लेखिएको थियो– ‘वेलकम टु लभ पार्क’ । कुनै समय मैले घाँसको भारीसित लुटुपुटु खेलेको यहीँनेर त हो !
पार्क हरिया घाँसे मैदानमा फैलिएको रहेछ । बीचबीचमा बिछ्याइएको ढुंगे बाटाको कोरियोग्राफी उत्तिकै लोभलाग्दो । बाटा छेउछाउ रंगीचंगी फूल । एउटा प्रेमजोडी जामुनको रूखमुनि गुनगुन गर्दै थियो । उनीहरू पक्कै पाँचखाल वा भेंडाबारीतिरबाट आएको हुनुपर्छ । अलिकपर फेमेली पिकनिकको समूह नाचिरहेको देखें ।
पार्ककै बीचमा आलिंगनबद्ध यो प्रेमिल सालिकचाहिँ कसको ?
‘रूपरानी र ह्रिन्जेनदोर्जेको’ फूल गोड्दै गरेको माली मुस्कुराए, ‘तपाईं शिलालेख पनि पढ्न सक्नुहुनेछ ।’
लौ, गाउँलेहरूको लबज नि फेरिएछ । कस्तो विनयी ! कति भलाद्मी !
म सालिकतिर दौडिएँ । सानु छँदा हजुरबाले सुनाउनु हुने उही प्रेमकथा ढुंगामा खोपिएको थियो– ‘तेमालका अन्तिम राजा ह्रिन्जेनदोर्जेका दुई रानी थिए, धामोरानी र रूपरानी । रूपरानी घाँस–दाउरा गर्न यही जंगल आउँथिन् । फूलहरूबाट रङ सापटी लिएर उनी अनुहारमा लाली पोत्थिन् । कोइलीसँग मित लाउँदै सेलो गाउँथिन् । मयूरसँग हाँसखेल गर्दै नाच्थिन् । एक दिन राजा ह्रिन्जेनदोर्जे यही बाटो भएर ल्हासा जाँदै थिए, रूपरानीको चुम्बकीय जादूले तान्यो । दुवै जना प्रेममा परे । रूपरानी कान्छी बनेर ह्रिन्जेनको तेमाल दरबार भित्रिइन् । ह्रिन्जेनले आफ्नो प्रेमको स्मृतिस्वरूप जंगलको नाम नै ‘रूपटार’ राखिदिए ।’
‘छप्लक्क !’
सालिक छेवैमा प्रेमपोखरी र मिनी झरना रहेछ, बुदुना माछा फुत्त उफ्रियो । म झस्केको देखेर माली मज्जाले हाँसे । पार्कको सौन्दर्य झन् अप्रतीम बन्यो । भकुन्डे, नमोबुद्ध, कानपुर मात्रै हैन, दोलालघाट र सुनकोसीपारि सैलुङदेखिका प्रेमी आउँदा रहेछन् यो पार्कमा ।
पहेंलो घाम महाभारत पर्वतमाथिको आकाशबाट ओरालो झर्दै गर्दा म गाउँ उक्लिँदै थिएँ । यही हो मेरो पियारो डहुन्हान गाङ, अर्थात् पीपल चौतारा । यहाँ आइपुग्दा उपल्लो तेमाल जाने बाटो आधा हुने भएकाले बटुवाहरूले ‘आधाबाटो’ भन्दाभन्दै यो गाउँको नामै कुनै समय ‘आधाबाट’ बनेको थियो । अहिले गाउँलेहरू तामाङ भाषाको पुरानै नाममा फर्किएछन् । सल्ला चौताराछेउ ठडिएको भव्य गेटमा ‘डहुन्हान गाङमा स्वागत छ’ लेखिएको थियो ।
गाउँमा संघीयता यसरी आएछ ।
बाटाहरू पूरै पिच, चिटिक्क र सफाचट । दुवैतिर ढुंगा बिछ्याइएको पब्लिक लेन । हरेक आधा किलोमिटरको दूरीमा फोहोर फाल्ने चोयाको कलात्मक थुन्छे । सफा र सुकिला मानिसहरू पब्लिक लेनबाट एकदम अनुशासित भएर हिँड्दा रहेछन् । एक जनालाई सोधिहेरें– उनी वडापालिकामा स्वयंसेवा गरेर फर्किरहेका रहेछन् । अर्कोलाई सोधें– उनीचाहिँ स्थानीय अर्ग्यानिक फ्याक्ट्रीबाट ड्युटी सकाएर घर फिर्दै रहेछन् । एक युवतीलाई जिज्ञासा राखें– उनी कलेज सकाएर सामुदायिक फिल्म हलतिर हतार–हतार दौडिरहेकी थिइन् । परबाट एउटी अधबैंसे आइन्– उनी कम्युनिटी सपिङ सेन्टरमा अर्ग्यानिक तरकारी बेच्न गइरहेकी रहेछिन् । रोजगारी त यसरी सिर्जना भएछ गाउँमा ।
लौ, पच्चीस वर्षअघिको मेरो घर जाने पुरानो बाटो खै त ? अनि पूर्वेलीहरूको त्यो आँपको बोट ?
टाउकोमा कुलाकी टोपी भिरेका एक युवकले मलाई निकै गहिरोसित नियाले । उनले त मलाई होमस्टे बस्न आएको पाहुना पो ठानेछन्– मुसुक्क हाँस्दै ढुंगा बिछ्याइएको बाटोतिर औंल्याइदिए । म साइकल घिर्सार्दै लुरुलुरु उतै लागें ।
एकै छिनमा पम्परागत वास्तुकलाले भरिपूर्ण मौलिक र भव्य टोल देखियो । घरहरूमा साँझबत्ती झलमल्ल थियो । सबै घर होमस्टेमा बदलिएछन् । एउटा ठूलो घरको आँगनमा पर्यटक झुरुप्पै थिए । त्यो घरको दोस्रो तलाको कलात्मक झ्यालछेउ लेखिएको थियो– ‘तामाङ आर्ट एन्ड थिएट्रिकल सेन्टर’ ।
टोलको बीचैमा तीनतले ठूलो घर ठिंग उभिएको देखें । छानोचाहिँ प्यागोडा शैलीको थियो । वर्षौंअघि मैले छोडी हिँडेको घर यही हुनुपर्छ । एकाएक मेरो श्वास बढेर आयो । मुटु ढक्क फुल्यो । आँगनमा कपाल सेतै फुलेको बूढामान्छे पर्यटकलाई तेमाल क्षेत्रमा मात्रै पाइने बुद्धचित्त मालाको महत्त्व बताइरहेका थिए ।
मलाई देख्नासाथ ती बूढामान्छे एक्कासि झस्के । बुबाले मलाई एक पलकमै चिन्नुभयो । फोटोकपी न हुँ । सुरुमा त उहाँ केही बोल्न सक्नुभएन । अलिकपछि आमालाई डाक्नुभयो आँगनमा । आमा हेरेको हेर्यै हुनुभयो ।
यत्ति नै बेला पर थिएटरतिरबाट एक युवती हातमा खादा बोकेर मुस्कुराउँदै आइन् । अचम्म ! दिउसो तेमाल कोर्वाको पहिलो गेटमा टोटलाको फूल मेरो निधारमा सजाइदिने उनै युवती थिइन् । आँखामा उस्तै मुस्कान नचाउँदै उनी नजिक–नजिक आइन् । अन्तिममा हल्का झुकेर मलाई खादा लगाइदिइन् ।
‘यिनी टुरिस्ट हैनन्, तिम्रो जेठो दाइ हुन्’ एकाएक बुबाको गला अवरुद्ध भयो ।
म अवाक भएँ । सहर पस्दा कान्छी बहिनी तीन वर्षकी मात्रै थिइन् । अहिले तरुनी भइसकिछन् । बुबाको कुरा सुनेपछि बहिनीका दुवै आँखा भरिला भए । सायद त्यो खुसीको आँसु थियो । मैले बहिनीलाई गम्लाङ्ग अँगालो मारें । एउटा सिङ्गो समयलाई अँगालो मारिरहेको अनुभूति भयो मलाई । आमाले यो दृश्य हेर्न सक्नुभएन । दौडिँदै भित्र पस्नुभयो ।
साँझ बहिनीले मलाई थिएटर पुर्याइन् । उनका आँखा अझै ओसिला थिए । थिएटरभित्र मिनि आर्ट ग्यालरी पनि रहेछ । तेमालको इतिहास, सभ्यता, रहनसहन सबै झल्किने थाङ्का चित्र भित्ताभरि सजिएका थिए । पर्यटकको स्वागतमा नाचगान गर्ने स्टेज भव्य लाग्यो । पृष्ठभूमिमा लेखिएको थियो– ‘सेलोघर’ ।
गाउँभरिकै पर्यटक साँझपख यहीँ जम्मा हुँदा रहेछन् । कान्छी बहिनीलाई गाउँसभाले नै कार्यक्रम चलाउने जिम्मेवारी सुम्पेको रहेछ । सुरुमा किशोरी समूहले सेलो गायो । यसपछि आमा समूहले परम्परागत नृत्य गर्यो । ताम्बा र बोन्बोहरूको प्रस्तुति निकै बेजोड थियो । सांस्कृतिक प्रस्तुति सकेपछि एउटै टिकटमा गेङ, आलुम, खाप्से, आइराकलगायतका तामाङ परिकार खुवाउने नियमित सेड्युल रहेछ सेलोघरको ।
…
साँझ अबेरसम्म आमा कौसीमा मौन बसिरहनुभयो ।
यतिका वर्ष रुँदारुँदै सायद उहाँको आँसु सकिएको थियो । मलाई हेर्न छिमेकबाट भाउजू, ठूलाबा–ठूलीआमा र अरू नचिनिएका थुप्रै हाम्रो घरमा झुम्मिए, मानौ म अर्कै ग्रहबाट आएको मान्छे हुँ । एलियन हुँ ।
बुबाको अनुहारमा चाहिँ अनौठो खुसी दौडिरहेको थियो ।
यही बेला कान्छी बहिनीले कालो रङको पुरानो ट्याङ्का मेरो अघिल्तिर ल्याएर राखिदिइन् । माहोलमा सन्नाटा छायो । म पूरै अवाक भएँ । सहर पस्नुअघि एउटा अप्रिय अतीतलाई मैले यही ट्याङ्काभित्र कैद गरिराखेको थिएँ । बहिनीले हतार–हतार ट्याङकाभित्रबाट रातो डायरी निकालिन् । यादहरू कैद गरिएको त्यो पुरातात्त्विक डायरी मेरै थियो । डायरी निकाल्दै गर्दा पानाहरूबीचबाट एउटा चिठ्ठी भुइँमा फ्यात्त खस्यो । योचाहिँ मैले पाएको पहिलो र अन्तिम प्रेमपत्र थियो ।
‘म्हेन्दो कहाँ छिन अचेल ?’ अनायसै मेरा ओठ थरथराए ।
‘खै, के था ?’ बुबा फुस्फुसाउनुभयो, ‘युद्धमा गएपछि फर्केर आएकी छैन ।’
मेरो अनुहार क्लान्त बनेको हुनुपर्छ सायद । मैले पुराना दिन सम्झें । उनी युद्धमा गएको र म सहर पसेको एउटै समय थियो । उनकै कमान्डरले अपहरणको फरमान जारी नगरेको भए सायद यति बेला म बुद्धचित्तको बोट स्याहारिरहेको हुन्थें होला, यही गाउँमा । छेउमा म्हेन्दो हुने थिइन् या अरू नै कोही, कम से कम मैले सहरमा कोमाको सकसचाहिँ खेप्नुपर्ने थिएन ।
…