बुबा रकमसिं तामाङ र आमा बुद्धिमाया तामाङको कोखबाट २०११ साल श्रावण ८ गतेका दिन तेमाल गाउँपालिका वडा नं. ६ ठूलोपार्सेल, देवीस्थान टोलमा जन्मनुभएका सलाम सिं तामाङ तेमाल गाउँपालिलकाका अध्यक्ष हुनुहुन्छ ।
राजनीतिक र सामाजिक कार्यमा निक्कै सक्रिया तामाङको इतिहास निक्कै नै प्रेरणादयी छ । २०३६ सालमा जनमत संग्राह हुँदा बहुदलीय व्यवस्थाको पक्षमा उभिएका तामाङ गाउँफर्क अभियान अन्तर्गत गाउँमा आएर बहुददिय व्यवस्थाको पक्षमा उभिनुभएको थियो ।
राजनीतिक यात्रालाई अघि बढाउने क्रममा २०४३ सालमा सम्पन्न गाउँ पञ्चातको निर्वाचनमा उहाँ प्रधानपञ्चको उम्मेदवार बन्नु भएको थियो । त्यतिबेला उहाँ ३५ भोटको अन्तरमा हार्नुुभएकोे थियो ।
बहुदलिय व्यवस्थाको स्थापना भएपछि राजनीतिमा झन् सक्रिया हुनुभएका तामाङ ०४८ सालमा नेपाली काँग्रेस ठूलोपर्से गाउँ इकाइ समितिको सभापतिमा निर्वाचित हुुनुभएका थिए । २०४९ सालको स्थानीय निर्वाचनमा पार्टीले टिकट दिएपनि पार्टीको कम्जोर संगठनका कारण उहाँले उम्मेदवार दिनुभएन ।
२०५४ सालममा पार्टीको जिल्ला सदस्यमा निर्वाचित हुनुभएको तामाङ ०५८ साल देखि हालसम्म पनि नेपाली काँग्रेस पार्टीको महासमिति सदस्य हुनुहुन्छ ।
रानीतिक यात्रा मात्र होइन सामाजिक क्षेत्रमा पनि तेमालमा उहाँले धेरै नै योगदान दिनुभएको छ । २०६० सालमा सीसीएस नेपाल नामक सामाजिक संस्था मार्फत उहाँले तेमालमा गुणस्तरीय शिक्षाको लागि ठूलो योगदान दिनुभएको छ । संस्था मार्फत ५३ वटा विद्यालयमा वालविककास केन्द्र स्थापना गरि ५३ जना शिक्षकको समेत व्यवस्था गर्नुभएको थियो । त्यति मात्र होइन तेमालका विभिन्न विद्यालयहरुमा ३५ वटा मावि दरबन्दी, ५३ वटा निमावि दरबन्दी र ३८ वटा प्रावि दरबन्दीको १३ वर्षसम्म व्यवस्था गर्नुभएको थियो ।
त्यसैगरि तेमालमा विद्युतिकरण गर्न समेत उहाँको योगदान रहेको छ । हाल उहाँ गाउँपालिका अध्यक्षको भूमिकामा हुनुहुन्छ ।
तेमाल अनलाइनका प्रधान सम्पादक डिलबहादुर थोकर (ग्याम्जो) ले उहाँको कार्यकक्षमै पुगेर गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

० आजसम्मको अनुभव बताइदिनुहोस् न ।
– तेमाल गाउँपालिकामा ०७४ सालको जेष्ठको ४ गते हामीले सपथ ग्रहण लिँदै अहिले ०७६ सालको पुष ३ गतेसम्म आइपुग्दाखेरि तेमाल गाउँपालिकामा हामीले गर्नुपर्ने, हुनुपर्ने कामहरु त्यति राम्रोसँग गर्न सकिरहेको छैन । यहाँ भौगलिक हिसावले डाँडाकाँडा, उकालो, ओरालो भएकोले हामीले देखिने काम गर्न त्यति सकेका छैनौं । यो गरें त्यो गरें भन्ना नसकिरहेको महासुस भइरहेको छ ।
० निर्वाचनको क्रममा तपाईंले धेरैवटा बाचाहरु गर्नुभएको थियो, कतिपूरा भयो कति पूरा भएन ?
–निर्वाचनको क्रममा तेमालका ५ हजार २ सय घरधुरीमा म जाँदाखेरी मैले धेरै ठूलो आस्वशानहरु दिएको थिएन । मैले यो गर्छु त्यो गर्छु भनेको थिएन तर मैले के मात्र भनेको थिएँ भने तेमालमा कच्चि सडक भएपनि प्रत्येक वडामा, प्रत्येक टोलबस्तीमा पु¥याउछुँ, सडक सञ्जालले जोड्छु भनेको थिएँ, हामीले तेमाललाई शिक्षामा अलिकति राम्रो प्रगति, गुणस्तरीय शिक्षाको लागि केही गर्छु र अर्को भनेको खानेपानीको समस्या तेमालमा छ, त्यसको लागि केही कामहरु जस्तै पहिलेकै हाम्रो स्रोत साधन, पहिलेको कुवा, धाराहरुहरुको संरक्षण र व्यवस्थित गर्छु भन्ने यो तीन वटा कुरालाई मैले घरदैलोमा जाँदै गर्दा जनतासँग भनेको थिएँ । भौगोलिक हिसावले डाँडाकाँडा जे भएपनि प्रतयेक वडा, टोल र बस्तीहरुमा सडक पुगेको छ । हाम्रो तेमाल भोगोलिक हिसाबले पनि केही समस्या भएकोले यसपटकको बर्षाले सडकहरु भत्किने भइरहेको छ । यो दशैंको बीचमा हाम्रो तेमालमा जनतालाई घरसम्म सहज तरिका जानसक्ने वातावरण हामीले बनायौं । खानेपानीमा पनि व्यवस्थित भएको छ ।
तेमाल बृहत खानेपानीको सूचारु राम्रै भइरहेको छ । तेमाल गाउँपालिकाले पनि यो योजनाको लागि १ करोड रकम विनियोजन गर्न पाउँदा खुशी नै लागेको छ ।
शिक्षामा पनि अहिले अलिकति प्रगति भएको जस्तो लाग्छ । यो वर्ष एसइइ परिक्षामा सम्मिलित हुँदै गरेका ३ सय ४९ जना विद्यार्थीहरुको लागि कोचिङ कक्षाको व्यवस्था गरेका छौं । विशेष गरि अंग्रेजी, विज्ञान र गणित विषयको कोचिङ कक्षा सञ्चालनको लागि प्रति विद्यार्थी ३ सयको दरले बजेट पनि विनियोजन गरेका छौं । यो काम पौष २ गतेबाट तेमालका प्रत्येक विद्यालयमा सञ्चालन भइरहेको छ ।
तेमाल गाउँपालिकाले तेमालको ४५ वटा विद्यालयको प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरीहरु दिने योजना अन्तर्गत सबै विद्यालयसँग संझौता भइसकेको छ ।
० वडा कार्यालय र गाउँपालिकाको कार्यालय निर्माण नहुँदा धेरै समस्या व्यहोर्न बाध्य देखिन्छ, निर्माण प्रक्रिया के हुँदै छ ?
–तेमाल गाउँपालिकाको भवन यो असार मसान्तसम्म तयार गर्ने भनेर हामीले ४ करोड ५० लाखको यो टेन्डर आव्हान गरेका छौं । अहिले यो १५ दिन भित्रमा पहिलो तल्ला चाहिं ढलन गरिसक्ने निर्माण पक्षसँगको परामर्शमा कुरा भएको छ । यो असार मसन्त भित्रमा तेमाल गाउँपालिाकालाई आधुनिक किसिमको व्यवस्थित कार्यालय भवन पाउँछ भन्ने हामीले विस्वास गरेका छौं । यो भवन असार मसन्तसम्म पायौं भने काभ्रे जिल्लाको १३ वटा स्थानीय तह मध्य विकट भए पनि तेमालको राम्रो र व्यवस्थित ठाउँमा रामेछाप, महाभारत, हिमश्रृंखलाहरु देखिने गाउँपालिका हुनेछ ।
वडा कार्यालय निर्माणको क्रममा ६ नं. वडामा २ ढलन हुन लागेको छ । सबै वडाको संझौता भइरहेको छ । संझौता नभएको वडा भनेको वडा नं. ५, वडा नं. ७, वडा नं. ८ र वडा नं. ९ रहेको छ । अरु वडाको काम सूचारु भइरहेको छ । सूचारु रहेको ५ वटा वडा कार्यालयहरु असार मसन्तसम्ममा सम्पन्न हुने अवस्थामा रहेको छ ।

० तपाईंको कार्यकालभरिमा सम्पन्न हुने गरि पर्यटन विकासको योजनाहरु केके बनाउनु भएको छ, त्यसको शुरुवात कसरी भइरहेको छ ?
–हामीले भिजिट नेपाल २०२०, तामाङ संग्राहलय, होमस्टेको लागि व्यवस्थित तरिकाले सूचारु गर्ने क्रममा छौं । जसअन्तर्गत तेमालमा एउटा तामाङको (ह्रिमठीम) रितिरिवाज लागि पनि कार्यक्रम सूचारु भइरहेको छ । तेमालमा ८५ प्रतिशत तामाङ जाति भएको ठाउँमा डम्फू पार्क निर्माण गर्न लागेका छौं । डम्फू भनेको तेमालको तामाङको पहिचान हो । यो डम्फू पार्कको लागि पनि हामीले डिपीआर शुरु गर्न लागेका छौं । यसको बजेट व्यबस्थित रुपले हामीले विनियोजन गरेका छौं ।
धार्मिक रुपले पनि पञ्चबुद्ध निर्माण पनि हामीले शुरुवात गरेका छौं । गूरु ह्रेम्बोर्जेको तवोभूमि यो तेमालमा गूरु ह्रेम्बोर्जेको मूर्ति पनि बनाउन लागेका छौं । भ्यू टावरको पनि बेस लाईन तयार भइसकेको छ । तोङसूम कुण्डामा सिंडी निर्माण भइरहेको छ ।
तेमालमा पर्यटनको लागि राम्रो व्यवस्थित र तेमालको पर्यटन क्षेत्रको लागि डिपीआर तयार पार्दैछौं । पर्यटन सम्भाव्यता अध्ययनको लागि हामीले डिपीआर तयार पार्दैछांै ।
० तपाईंले यी योजनाहरु बनाउँदै गर्दा कति समयभित्रमा सम्पन्न गर्ने सोंचमा हुनुहुन्छ त ?
– भिजिट नेपाल २०२० त अब १ महिना मात्रै बाँकी छ । तर ६ महिना भित्रमा सम्भव्यता अध्ययन चाहिं पूरा गरेर कुन ठाउँमा के गर्ने भन्ने कुरा तयार पार्ने छौं । गूरु ह्रेम्बोर्जेको प्रतिमा र पञ्चबुद्धको प्रतिमा निर्माण कार्य पनि हामीले असार मसन्तसम्ममा सम्पन्न गर्नेछौं ।
नमोबुद्ध र तेमालको सिमानामा हामीले प्रवेशद्वार निर्माण गरिसकेका छौं । यसको सोनाम ल्होछारको आसपासमा औतारी लामा गूरुज्यूहरुलाई ल्याएर उद्घाटन गर्ने योजनामा छौं । यो गेट पनि अलिकति धार्मिक रुपले तेमाल गूरु ह्रेम्बोर्जेको तपोभूमि भएकोले अष्टमंगल गेटमा राखेर तेमालमा प्रवेश गर्नुहुने सबै प्राणीहरुलाई शान्ति, सुव्यस्थाका साथै तेमालमा प्रवेश गरिसके पछि धार्मिक रुपले तेमाल एउटा राम्रो हो भन्ने झल्को दिने खालको गेट चाहिं हामीले बनाइसकेका छौं ।

० जनताले देखिने गरि तेमालमा अहिलेसम्म के भएको छ जस्तो लाग्छ ?
– मैले अघिनै भनिसकेको छ । मलाई धेरै लाज पनि लागरिहेको छ । सबै जनताले देखिने गरि काम गर्न सकिरहेको छैन । म जनतासँग माफी माग्न चाहन्छु । तेमाल अनलाईन मिडिया मार्फत तेमालका सबै दाजुभाई, दिदी बहिनी, देशविदेशमा रहेका सबैसँग म माफी माग्न चाहन्छु किनभने देखिने काम मैले गर्न सकिरहेको छैन । हाम्रो भौगोलिक विकटता, नयाँ संरचनामा जानुपर्ने र पहिलो चोटी भएकोले देखिने काम हामीले गर्न सकिरहेको छैन । जनतासँग प्रत्यक्ष माफी माग्न चाहन्छु । अर्को आर्थिक वर्ष २०७७।७८ मा हाम्रो जनताले, तेमालले यो देखिने काम गर्नुपर्छ भन्ने महासुस मैले गरेको छु । वडा अध्यक्षहरुसँग पनि छलफल गरिरहेको छु । तेमालमा हुने प्रत्येक घरमै गएर माफी माग्ने प्रयत्नमा छु ।
देखिने गरेर काम गर्न सकेन । मैले यो काम गरें त्यो काम गरें भन्दा म गलत हुन्छु ।
० तेमालका सयौं युवाहरु तेमाल छोडेर स्वदेशमै वा विदेशमा जान बाध्यछन्, उनीहरुलाई तेमालमै रहेर केही गर्न कुनै योजना बनाउनु भएको छ ?
–तेमालमा कुनै कम्पनीहरु छैनन् । यहीं बसेर केही गर्ने वातावरण बताउन सकिरहेको छैन । तर तेमालमा समस्या चाहिं छ । दाजुभाइहरु सबै काठमाडौं वा विदेशमा बस्नुहुन्छ । यहाँ आमाबुबाहरु मात्रै हुनुहुन्छ । र हामीले युवाहरुलाई रोजगारीको लागि तेमाल गाउँपालिकामै फर्काउन कृषिमा आधारीत हुनका लागि पानीको समस्या छ । ठूला–ठूला चौर जग्गा छैन, सबै भिरालो छ । आकासे पानीको भरमा तेमालमा बस्नुपर्ने भएकोले समस्या छ । ३ वर्ष पहिले बुद्धचित्त मालाले व्यवस्थित तेमाल थियो । मालाको दररेट घट्दा युवाहरुलाई यहीं रोजगारको व्यवस्था गर्न सकिरहेको छैन । त्यसैले युवाहरुलाई तेमालमै टिकाइराख्न सक्ने वातावरण अहिलेसम्म मिलाउन सकिरहेको छैन ।

० ८५ प्रतिशत तामाङ समुदाय भएकोले यहाँको जनताको भावनासँग जोड्न र संवैधानिक अधिकार उपयोग गर्न यहाँको बहुसंख्याक तामाङ जनताले बोलिने भाषा तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन कतिको सम्भावना देख्नुहुन्छ ?
– यहाँ ३ वटा विद्यालयमा तामाङ मातृभाषाको माध्यमबाट पठान पाठन गराउनका लागि छनौंट गरेका थियौं । त्यति प्रभावकारी नहुने रहेछ भन्ने भएको छ । तामाङ भाषा मात्र भनेर नहुने रहेछ, रोशी जाँदा तेमालको भन्दा अलि फरक, चौंरीदेरालीमा जाँदा अलि फरक, पाँचखाल जाँदा अलि फरक छ । यो भएकोले तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन अलि सजिले देखिदैन र उपयुक्त लागेन ।
सरकारी कामकाजमै तामाङ भाषालाई प्रयोग गर्दैगर्दा अफिसियली रुपमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा जाँदाखेरि यो अलिकति नहोला जस्तो मलाई लागेर तामाङ भाषामै सरकारी कामकाज चलाउने भन्ने योजना बनाउन सकिरहेको छैन ।
० यहाँको भाषाको संरक्षण गर्ने दायित्व त सरकारकै हो नि होइन र ?
–त्यो सरकारकै हो तर भएपनि तामाङ भाषामा बोलिरहँदा सरकारी कामकाजको भाषा चाहिं तामाङ हुनुपर्छ भन्दा सबै तामाङहरु हुनुहुन्न । र प्रमुख प्रशासकीय अधिकृत नेपाली भाषी हुनुहुन्छ । खलाङ निवारी भन्ने मात्र बुझ्न थाल्नु भएको छ । आप्ठ्योरो चाहिं छ ।
० हिंउदे अधिवेशन पनि आगामी पुष २५ गते हुने भएको रहेछ, यो अधिवेशनमा के–के योजना लिएर जाँदै हुनुहुन्छ ?
– हिउँदो अधिवेशनमा हामीले बनाउन बाँकी ऐन कानूनहरु बनाउने हो । ४९ करोडको योजना हामीले अघिल्लो अधिवेशनमा बनाइसकेका छौं । त्यो भन्दा बढी योजना लाने योजनामा हामी छैनौं । कुनै पनि अधुरो र गर्न नसकिने १० प्रतिशत योजनाहरु गाउँसभामा लाने र पारित गर्न सकिने प्राब्धन भएकोले नयाँ योजनाहरु हिउँदे अधिवेशनमा लाने छैन ।
० गाउँपालिकामा कुनकुन ऐनकानून बन्यो, कुनकुन बाँकी छ त ?
–गाउँपालिाकले बनाउनुपर्ने कानून भनेको व्यवस्थित रुपले गाउँपालिका सञ्चालन गर्नका लागि केही कानून बनिसकेको छ । कर, शिक्षा लगायतका कानूनहरु बनाईसकेका छौं । अरु केही बनाउन बाँकी रहेकाहरु बनाउने छौं ।
० अब आगामी दिनहरुमा तेमालबासी जनताको माझ कसरी जानुहुन्छ त ?
– तेमालमा सबैभन्दा बढी खानेपानीको समस्या छ । तेमाल बृहत खानेपानी आएन छ भने विकल्प खोजेर भएपनि खानेपानीलाई व्यवस्थापन गर्ने छु । पहिलेकै पूरानो संरचनाहरुलाई संरक्षण गरेर भएपनि यो समस्या समाधान गर्नेछु । पहिलो प्रथामिकतामा मेरो खानेपानी रहनेछ । दोस्रोमा शिक्षा र स्वास्थ्य र तेस्रो नम्बरमा कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढ्नेछु ।
अर्को आर्थिक वर्षको लागि अहिलेदेखि नै सबै तयारी गरेर जानेछौं । यो कृषि कार्यक्रम अन्तर्गत तेमाल क्याप भनेर तेमालको ५ वटा स्थानमा कार्यक्रम सञ्चालन गर्ने भनेर काम शुरु गरेका छौैंं । वडा नं. १ को अमलटारी, वडा नं. २ को चुखाबेसी, वडा नं. ४ को बन्दिबा खोला, वडा नं. ५ को याङबेल डाँडामा थोपा सिञ्चाइ र वडा नं. ७ को काल्धार बेसीलाई छनौंट गरेका छौं । ९ नं. वडाको भण्डारी बेसीमा एस आरसी क्यापले काम गरिहेको छ । वडा नं. ५ को थिल्वारमा पनि यसले काम गरिरहेको छ । वडा नं. ८ को भोज्र्याङमा शुरुवात गर्ने भएको छ ।
० विकास निर्माण जनताको अपेक्षा अनुसार नहुनुको कारण अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्र्रशासकीय अधिकृत बीचको अन्तरविरोधका कारण हो भन्ने आरोप छ नि ?
– यहाँको त्यति नराम्रो सम्बन्ध छैन । राम्रो छ । सूचारु र व्यवस्थित रुपले नै अगाडि बढिरहेको छ । भौगोलिक विकटताले गर्दा पनि विकास निर्माणमा समस्या भइरहेको छ । जनप्रतिनिधि र कर्मचारी बीच कुनै द्वन्द्व छैन । तर यहाँको एउटा समस्या चाहिं गाउँपालिका भरिमै एकमात्र सचिव छ । तर पनि जनताको कामलाई व्यवस्थित बनाउन विषयगत शाखाका कर्मचारीहरुरुलाई नै थप जिम्मेवारी दिएर वडावडामा पठाएका छौं ।
० अन्तमा तेमाली जनतालाई के भन्नुहुन्छ ?
–तेमाल अनलाईन मार्फत तेमाली जनतालाई म के भन्ना चाहन्छु भने मैले तपाईंंको चित्ता बुझ्ने तरिकााले काम गर्न सकेको छैन । मेरो मोवाईल नं. ९८५१०८३९५३ मा जतिखेर पनि फोन गरेर मेरो कमीकम्जोरी, सल्लाहसुझाव दिनुहुन म हार्दिक अनुरोध गर्न चाहन्छु । तपाईंको सल्लाह सुझावलाई नै सिरोधार्य गरेर तेमाल गाउँपालिका, तेमालको इज्जत राख्ने गरेर काम गर्ने म प्रतिबद्धता जाहेर गर्न चाहन्छ । सोनाम ल्होछारमा ३ दिनको छुट्टि पनि हामी दिन्छौं । यो विदाको समयमा तेमालमा आउनुहोस् । अहिले देखि नै निमन्त्रणा छ । धन्यवाद ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।