• रचना मोक्तान तामाङ, पूर्व जनमुक्ति सेना
सबै खाले शोषण दमन र सामन्ती राज्यसत्ताको विरुद्ध नेपाली जनताले २०५२ साल फाल्गुन १ गते जनयुद्धको शंखघोष गरे । त्यही क्रममा मेरो बाल मष्तिष्कमा पनि प्रभाव पर्यो । जनयुद्ध किन? भन्ने सवालमा देशमा भएको सामन्ती एकात्मक राज्य व्यवस्थाको विरुद्ध पहिचान सहितको संघीय राज्य व्यवस्था स्थापना गर्नु थियो ।
वर्गीय मुक्ति सङ्गसङ्गै जातिय, क्षेत्रीय, लैङ्गीक, समानुपातिक, समावेशी, धर्म निरपेक्षता सहितको गणतन्त्र स्थापना गर्ने लक्ष्यका साथ अगाडि बढेको थियो । वर्गीय मुक्ति बिना अन्य संभव नहुने हुँदा वर्गीय मुक्तिको लागी जनयुद्धमा होमियो ।
देश र दुनियाँ परिवर्तनको खातिर जनताले लडेको लडाइँ नै जनयुद्ध हो । जनयुद्ध सफल भएपछि सबै खाले शोषण, उत्पीडन र दमनको अन्त्य हुन्छ । सबै नेपाली जनताले सुखको अनुभूति गर्नेछ । सबै नेपाली जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी हुनेछ भन्ने सपना थियो । वर्ग विहीन समाज राज्यको विलोपीकरणको अवस्थासम्मको व्यवस्थाको परिकल्पना सहित लागेको थियो ।
जनयुद्धको नेतृत्व गर्नुहुने नेतृत्वद्वारा त्यही सपना बाडेको थियो । देशमा चलिरहेको शिक्षालाई बुर्जुवा शिक्षा र स्तुतीगान शिक्षाको अन्त्य गरि जनवादी र वैज्ञानिक शिक्षाको स्थापना गर्ने सपना बाडियो र जनवादी र वैज्ञानिक शिक्षाको स्थापना गर्ने अठोटको साथ स्कुलले विद्यार्थी जीवनलाई त्यागेर जनयुद्धमा अगाडि बढेको थियो । त्यही क्रममा राज्यपक्ष र विद्रोही पक्ष दुबैबाट ईमानदार सोझा नेपाली जनताका छोराछोरीहरु बलिका बोका बनाए । कयौ इमानदार छोराछोरीहरु कोही पढ्दा पढ्दै स्कुले जीवनबाट जनयुद्धमा लामबद्ध भए । कयौ शिक्षकहरु विद्यालयको पठनपाठन छोडेर बन्दुक बोक्न बाध्य भए ।
आफ्नो पेसालाई थाती राख्दै आफ्नो नीजि जीवनलाई परित्याग गरि सामूहिक जीवन शैलीमा होमिए । आफ्नो नीजि सम्पत्तिलाई पार्टीकरण गरि सम्पूर्ण परिवार नै पूर्णकालीन बने ।
धेरैको घरबार विहीन भए, कतिको काख रित्तिए, कत्तिको सिंदुर पुछिए, नाबालकहरु बाआमा विहीन टुहुरो भए । कलकलाउदो उमेरमा विदुवा हुन बाध्य भए तर अहिले तिनै त्याग र बलिदान पूर्ण जनयुद्ध लडेका योद्धाहरु कोही खाडीमा ४२ डिग्रीको तातो घाममा भेडा चराउदै छ्न । कतिपय योद्धाहरु समाजमा घृणाको पात्र भएर बाँच्न विवश छन । कतिपय आफ्नो दैनिक गुजाराको निम्ती ज्याला मजदुरी गर्न बाध्य छन ।
जनयुद्धको बेला गोलीले अङ्गभङ्ग भएका घाइते योद्धाहरु अहिले पनि शरीरभरी गोली र बममा छर्रा बोकेर बाँच्न विवश छन । उनीहरुको आर्थिक रुपमा विपन्नताका कारण उपचार हुन सकि रहेको छैन । यी दर्दनाक पीडा त एकातिर छदैछ । जनयुद्धले केही सिमित र अवसरवादी व्यक्तिहरू प्रधानमन्त्री, मन्त्री र सभासद बने । कोही अवसरवादीहरु जनयुद्धको नामले नवसामन्ती र नवधनाढ्य बने ।
साँच्चिकै देश र सर्वहारा वर्गको परिवर्तनको लागी लडाइँ लडेका इमानदार , सोझा र आदर्श बोकेकहरुको जीवनस्तर ज्यूका त्यूँ छन । देश र जनताप्रति समर्पित मान्छेहरु तेस्रो दर्जाको नागरिक सरह जीवन जिउन बाध्य छन । वर्तमान अवस्थामा तिनै हिजो जनयुद्धको नेतृत्व गर्ने नेतृत्वगण नै ऐस, आराम सुख सयल र भोग विलासमा चुर्लुम्म डुबिसके ।
हिजोको जनताप्रतिको प्रतिबद्धता, मूल्य मान्यता र आदर्श बिर्से । सेवक हैन शासक बने । आधारभूत वर्गको वर्ग चरित्र भुले । वर्गीय हित भन्दा पनि व्यक्तिगत हितमा अग्रसर भए । आफ्ना पूराना बिरासतलाइ त्यागेर छदमरुपी भेषमा आउन थाले । गरीब, किसान, मजदुर श्रमजीवी वर्गको पृष्ठपोषण गर्नुको साटो दलाल पूँजीपति, नोकरशाही वर्गको पृष्ठपोषण गर्न थाले । वर्ग, लिङ्ग ,क्षेत्र, समानुपातिक, समावेशी, धर्म निरपेक्षता, जातिय श्वशासन आत्म निर्णय सहितको अधिकार, दलित र महिलालाई विशेष अधिकार, जातीय, क्षेत्रीय, सस्कार सास्कृतिक पहिचानलाइ बुटले कुल्चेर पुरानै पन्चायत कालीन शैलीमा फर्किए । फेरि पनि वर्गको जन्म भयो । स्वेत सामन्तको अन्त्य सँगै लाल सामन्तको जन्म भयो । रातारात नवधनाढ्य बन्दै आलिसान महल बनाउने, जनताले तिरेको करबाट मोजमस्ती गर्ने गरेको छ ।
विकृती , विसङ्गती, भ्रष्टाचार, कालोबजारी, महँगी दिनप्रतिदिन बढ्दै गएको छ । लुट, बलात्कार, गुन्डागर्दी बढ्दै गएको र यसको संरक्षण तिनै जनयुद्ध लडेकाहरुबाटै भएको छ ।
जनयुद्धमा ज्यान गुमाएकाहरुको परिवारलाई कुनै किसिमको राहतको अनुभूती गर्न पाएका छैन । तिनका परिवार अझै छट्पटाइ रहेका छन । घाइते अपांगहरुको अहिले सम्म उपचार हुन सकेको छैन । घाइते अपांगको शरीरमा अहिले पनि गोलीको छर्लाहरु बोकेर पीडायुक्त जीवन बोकेर बाचिरहेका छन । त्यस्तै बेपत्ता परिवार आफ्नो बेपत्ता भएको परिवार कहिले घर आउला भनी तड्पिरहेका छन । सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्न सकेको छैन । प्रतिक्रान्ति भइरहेको छ । द्वन्द्वकालीन मुद्दाहरु जस्ताको तस्तै छन । हिजोको जनयुद्धमा लाग्दाको अवस्थस भन्दा अहिलेको अवस्था ठिक उल्टो भइरहेको छ ।

Comments

comments