३१ जेष्ठ २०७७ काठमाडौं । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान दिएको जानकारी अनुसार पर्वतका चार जना र नवलपरासी पूर्वमा थप एक जनामा संक्रमण पुष्टि भएको हो।

पर्बत कुश्मा नगरपालिका ६ वर्षीय बालर र १७ वर्षीया युवती तथा जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १७ वर्षका पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १६ वर्षीय अर्का युवामा कोरोनको संक्रमण पुष्टि भएको छ।

त्यस्तै नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ।

यसअघि, शुक्रबार एकैदिन ४ सय ४८ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको थियो । सरकारले पीसीआर परीक्षणको विधिलाई पछिल्लो समय तिव्रता दिएको छ । पछिल्लो २४ घण्टामा करिब ६ सय जनाको पीसीआर परीक्षण भएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ९ सय २५ र आरडिटी विधिबाट ९ हजार ९ सय ९ जनाको नमुना परीक्षण भएको छ ।

अहिलेसम्म पीसीआर विधिबाट १ लाख २१ हजार ८ सय ६२ र आरडिटी विधिबाट १ लाख ८८ हजार ५२ जनाको नमुना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख ५८ हजार ५० जना रहेका छन् । आइसोलेसनमा ४ हजार १ सय ६९ जना उपचाररत रहेका छन् । शुक्रबार १६ जना डिस्चार्ज भएसँगै आजसम्म ८ सय ७७ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

Comments

comments