असार १४ २०७७ काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ ।

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद जबज को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

नेता भण्डारी शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिनुपर्ने राजनीतिक विचारका लागि जनता माझ लोकप्रिय छन् । महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो ।

उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन ।

जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ । जबजको जग र सशस्त्र जनयुद्धको अनुभवपछि गत जेठ ३ गते भण्डारीको निधन भएको दिन एमाले र नेकपा (माओवादी केन्द्र) को एकता भई हालको नेकपा गठन भएको थियो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादले विश्वमा कम्युनिष्ट आन्दोलन थप बलियो बनाउन सफल भएको वताएका छन् । उनले नेपाली नागरिकले पनि जनताको बहुदलीय जनवादलाइ धरौटी मानेर मतदान गरेकाले त्यसलाइ अस्वीकार गर्न नसकिने पनि बताए ।

Comments

comments