२१ असार २०७७ काठमाडौं । स्वास्थ्य मन्त्रालयले ढलको पानीमा कोरोना भाइरसको जीवाणु भेटिँदैमा समुदायमा संक्रमण भएको भन्न नमिल्ने बताएको छ ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ढलमा भाइरस देखिएकै भरमा समुदायमा संक्रमण भएर जटिल अवस्थामा पुग्यो भन्न नमिल्ने बताएका हुन् ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा ढलको पानीमा कोरोना भाइरस भएको वा नभएको बारेमा अनुसन्धान गर्ने पनि प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।
भाइरसको पहिचान भएपनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि नगरेको उनले बताए । ढलमा भाइरस देखिँदैमा नआत्तिन आग्रह गर्दै उनले अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गरे ।
हालै एक संस्थाले गरेको अध्ययनमा काठमाडौंको ढलमा कोरोना भाइरसको जीवाणु भेटिएको बताएको थियो ।