लगातारको वर्षाले कृषि बालीमा ठूलो क्षति भएसंगै काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अत्याधिक बृद्धि भएको छ ।

वर्षादको समय तरकारीको उत्पादन कम हुने तथा उत्पादित तरकारीलाई बजारसम्म ल्याउन यातायात व्यवस्थापनमा अवरोध हुँदा तरकारीको मूल्य बढेको हो । १ महिनाको अवधिमा सबै तरकारको मुल्य पाँच गुँणासम्म बढेको छ ।

हरेक वर्ष यस समय तरकारीको मूल्य बढ्ने कालामाटी फलफुल तथा बजार विकास समितिले जनाएको छ । लगातारको वर्षाका कारण विभिन्न राजमार्गका सडकहरु अवरुद्ध भएकाले भारतबाट पनि तरकारी आउन नसकेको समितिले जनाएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत्र ११ गतेदेखि गरिएको लकडाउनमा करिब ४ महिनासम्म कालीमाटीमा ४ सय टनसम्म तरकारी भित्रिएको थियो । तर अहिले लकडाउन खुकुलो भएपनि तरकारीको खपत भने बढ्न सकेको छैन । सामान्य दिनमा दैनिक ८ सय टन तरकारीको खपत हुने काठमाडौंमा अहिले ५ सय टन खपत हुन मुस्किल भएको छ ।

बजारमा अत्याधिक मात्रामा खपत हुने तरकारीको रुपमा रहेको आलुको मूल्य निरन्तर उकालो लागेको छ । करिब एक महिनाको अवधिमा आलुको मूल्य ९७ दशमलव १४ प्रतिशतले बढेको छ । समितिको तथ्याङ्कअनुसार गत असार १० गते प्रतिकेजी ३५ रुपैयाँ रहेको आलुको मूल्य साउन १० गते प्रतिकेजी ६९ रुपैयाँ रहेको छ ।

त्यस्तै एकमहिना अघि प्रतिकेजी १२ रुपैयाँ रहेको बन्दा २१६ दशमलव ६७ प्रतिशतले बढेर ३८ रुपैयाँ पुगेको छ । काउली पनि एकमहिना अघि ३३ रुपैयाँ किलो रहेको थियो तर अहिले २ सय ४८ दशमलव ४८ प्रतिशतले बढेर १ सय १५ रुपैयाँ पुगेको छ । मुला ४ सय १६ दशमलव ६७, भन्टा २ सय ५४ दशमलव ५५ प्रतिशत, सिमी १ सय ३६ दशमलव ३६ प्रतिशत, हरियो साग १ सय ३२ देखि १ सय ९५ दशमलव ४५ प्रतिशत, च्याऊ ५० प्रतिशत, गोलभेँडा ५५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै हरियो खुर्सानी ४ सय २७ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ ।