२५ श्रावण २०७७ काठमाडौं । कोरोनाको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएकाले यसबाट कोरोना सर्ने जोखिम उच्च रहेको छ ।

गत बिहीबारदेखि जोरबिजोर लागू गरिएपछि सार्वजनिक यातायातमा सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्न पाउने भनी यसअघि यातायात व्यवस्था विभागले लागू गरेको नियमको पनि पालना नभएको यात्रुको गुनासो छ ।

सार्वजनिक यातायातले साबिककै जति यात्रु बोक्न थाले पनि भाडा भने विभागले तोकेअनुसार ५० प्रतिशत बढाएरै असुल गरिरहेका छन् ।

आजदेखि काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द भएका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर कार्यालयले दिँदै आएका सेवाहरु दुई साताको लागि बन्द गरिएको हो ।

उपत्यकामा कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि लामो दूूरीका सवारी पास वितरणमा कडाइ गरिएको छ । उपत्यकाबाट बाहिर जाने सवारी पास लिँदा अत्यधिक भीड बढेपछि जिल्ला प्रशासन काठमाडौंले थप कडाइ गरेको हो ।

तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । उपत्यकाको केही स्थानमा सङ्क्रमण फैलिएपछि सिल गरिएको छ भने केही ठाउँलाई उच्च निगरानीमा राखिएको छ । अहिलेसम्म उपत्यकामा एक हजार बढी सङ्क्रमण भएको छ ।

उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको स्वास्थ्यविज्ञहरु बताउँछन् । उपत्यकाका १ सय २० भन्दा बढी स्थानमा सङ्क्रमण देखिइसकेको छ ।

यसैगरी, सङ्क्रमण बढेसंगै विभिन्न जिल्ला र स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन् । समुदायले आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने चिकित्सकले बताएका छन् ।

Comments

comments