डिलबहादुर थोकर (ग्याम्जो)
२३ भदौ २०७७
रोशी । यतिखेर काभ्रेको रोशी गाउँपालिका वडा नं. २, काफल डाँडा स्थित तीनधारे झरनाको चर्चा निक्कै चलेको छ । चर्चा मात्र होइन, कोरोना भाइरसलाई समेत बेवास्ता गर्दै हजारौं आन्तरिक पर्यटकहरु पुगेर आनन्द लिने क्रम जारी छ ।
तीनधारे झरना काभ्रेको सदरमुकाम धुलिखेलबाट करिब २५ किलोमिटर दुरीमा पर्दछ । विपी राजमार्गको काभ्रे भञ्ज्याङ सडकखण्डदेखि नै कच्चीबाटोमा यात्रा गर्नुपरेपनि मनमोहक दृष्य र प्राकृतिक सुरन्दरताको सुन्दर नृत्य मानस्पटलमा बसेकोले कठीन यात्राको कुनै पर्वाह देखिदैन ।

विशेष गरि काठमाडौं उपत्यका र बनेपा, पनौती, धुलिखेलका युवाहरु यस झरनामा गइरहेका छन् । यो झरनाको प्रचार भएपछि विभिन्न ग्रामिण भेकका मानिसहरु समेत यहाँ आउने क्रम जारी छ ।
प्राकृतिक सुन्दरतासँग लीन हुँन पाउँदा स्वर्गीय आनन्द नै भएको अनुभूति सुनाउँछन् आन्तरिक पर्यटकहरु । ‘झरना निक्कै मनमोहक रहेछ, सुन्दरताको बयान गरेर सम्भव छैन ।’ पनौतीकी शर्मिला बञ्जारा भन्छिन्, ‘कठीन यात्रा नै विर्सिने, बाटो सबै कच्ची छ । तर पनि यो झरनामा पुगेर फर्किदा कठीनाईको अनुभूति नै भएन ।’

धेरै जसो पर्यटकहरु सुनेको भरमा बाटोभरि सोध्दै पुगेका छन् । तीनधारे झरनाको फोटो र रमाइरहेको दृष्यले आफूलाई तानेको बताउँछन् । ‘सामाजिक सञ्जाल र अनलाइन समाचारहरुमा यो झरनाको बर्णन गरेको देख्दा यो मनले मान्दै मानेन ।’ झरना हेर्न जाँदै गरेका बनेपाका सविन श्रेष्ठले तेमाल अनलाइनसँग भने, ‘बाहुबली भन्ने हिन्दी फिल्ममा यस्तो झरना देखेका थियौं । अब नेपालमा साँच्चिकै यस्तो झरना रहेछ भन्ने थाहा पाएँ । धेरै मानिसहरु त्यहाँ पुगेको देखेपछि जसरी पनि एकचोटी पुग्ने उद्देश्यले हामी हिंडेका हौं ।’

व्यापार बढ्यो, मोटरसाईकलको लर्को देखेर स्थानीय दंग
मोटरसाइकलमा तीनधारे झरनामा जानेहरुको लर्को देखेर स्थानीय नै दंग भएका छन् । शुरुका दिनहरुमा केही वास्ता नभएपनि पछिल्लो दिनमा कम्तीमा ५ वटा मोटरसाइकलमा सवार युवाहरु देखेर स्थानीय अचम्मित छन् ।
‘शुरुमा त त्यस्तो केही लागेको थिएन, आज भोलि त मान्छेहरु आएको देखेर अचम्मै लागेको छ ।’ नमोबुद्ध–९ गहतेका रत्न लामाले भन्छन्, ‘कोरोनाको कहरलाई समेत वेवास्ता गरेर प्राकृतिक सुन्दरताले कहाँ–कहाँको मान्छे तान्दो रहेछ ।’
कोरोना महामारीका कारण सबै पसलहरु बन्द भएर व्यापार शुन्य भइरहेको बेलो नमोबुद्ध नगरपालिकाको दाप्चा क्षेत्र, गहते, रोशी गाउँपालिकाको फलामे साँघु, शिखर आम्बोटेमा व्यापार पनि बढेको छ ।

कोरोनाका कारण नखोलेका पसलहरु पनि खोल्न बाध्य भएको स्थानीय पसलवालाहरु बताउँछन् । कोरोनाको जोखिममा छ भन्ने थाहा हुँदाहुँदै पनि मानवताको हिसाबले पनि पसल खोल्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । ‘व्यापार त बढेको छ नि, तर कोरोनाको डर पनि कम छैन ।’ फलामे साँघुका पसलवाला सञ्जय श्रेष्ठ भन्छन्, ‘अब त्यत्रो टाढाबाट, कच्चीबाटोमा निक्कै कठीनका साथ आएकोछ । भोक लाग्यो भन्छन्, मानवताको हिसाबले पनि त पसल खोलेर खानेकुरा दिनै पर्‍यो नि ।’
मनोरम दृष्यावलोकन गर्दै तीनधारे झर्नामा पुग्ने गर्दछन् । नमोबुद्धको दर्शन गर्दै यात्रा अघि बढ्दा हिमालको पनि राम्रोसँग अवलोकन गर्न सकिन्छ । भकुण्डेबेसी बजार, तेमाल डाँडा हेर्दै अनि महाभारत पर्वतश्रृंखला समेत हेर्दै आनन्दित हुँदै यात्रालाई रमाइलो बनाउन सकिन्छ ।

प्राचीन बजारको रुपमा रहेको दाप्चा बजार हुँदै शिखर आम्बोटेमा पुग्दा प्राकृतिक सुन्दरतासँग लीन भइसकेको हुन्छ । झरना भएको स्थानमा पुग्न १ किलोमिटर पैदल हिँड्नु पर्दछ । महाभारत लेकबाट तीन वटा धारा झरेकाले तीन धारे झरना भनिएको स्थानीयको भनाइ छ ।
यस अघि त्यति चर्चामा नरहेको यस झरना एक्कासी चर्चामा आएको हो । दिनको कम्तीमा १ सय देखि ५ सय जना आन्तरिक पर्यटकहरु आउने गरेको २ हप्ता जति भएको छ ।

यस क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने गुरु योजना नै बनाएर अघि बढे गाउँपालिकाको आन्तरिक आयस्रोत बढ्ने स्थानीय महिला नेतृ बविता बोहरा बताउँछिन् । ‘पर्यटकीय सम्भावना निक्कै छ । महाभारतको पहाडबाट झरेको स्वच्छ, सुन्दर र रमणीय छ यो झरना ।’ उनी भन्छिन्, ‘स्थानीय सरकारसँग म माग पनि राख्न चाहन्छु की यो झरनालाई पर्यटकीय केन्द्रको रुपमा विकास गरियोस् ।’

विज्ञटोलीले अध्ययन गरेर गुरुयोजना बनाउने -गाउँपालिका अध्यक्ष लामा
यसैबीच रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामा पनि पर्यटकहरुको चहलपहलले छक्क परेका छन् । गाउँपालिकाले पर्यटन विकासको लागि सम्भावनाको रुपमा पहिला चित्रण गरिसकेको र आन्तरिक पर्यटकको घुईंचोले यो सम्भावनाको पुष्टि गरेको अध्यक्ष लामाले बताए ।
‘हामीले हाम्रो गाउँपालिका भित्र पर्यटन विकासको सम्भाव्यता अध्ययन पनि गरेका थियौं । एउटा पुस्तक नै प्रकाशन गरेका छौं । त्यसमा सबैभन्दा बढी पर्यटन विकासको सम्भावना देखेको स्थानको रुपमा चित्रण गरेको छ ।’ लामाले भने, ‘यो करिब २ हप्ताको बीचमा पर्यटकहरुको घुईचोले यो सम्भावनालाई पुष्टि गरेको छ । त्यति मात्र होइन, अब यसको संरचनागत विकासको लागि पनि हामीलाई ढोका खुलेको छ ।’

गुरुयोजना नै निर्माण गरेर यसको संरचनागत विकास लागि स्थानीय जनप्रतिनिधि र विज्ञटोली बुधबार त्यस तर्फ लाग्ने उनले जानकारी दिए । ‘सम्बन्धित वडा अध्यक्ष र वडा सदस्यहरुसहितको विज्ञ सहितको टोली पुगेर अध्ययन गर्दैछौं । र वडाले पनि केही बजेटको पनि व्यवस्था गरेको छ ।’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘पर्यटन विकास बोर्डसँग पनि समन्वय गर्नेछौं । होम स्टेको लागि पनि अध्ययन गरिरहेका छौं । किताब प्रकाशन गरेका थियौं । अनि गुरुयोजना नै बनाएर अघि बढ्ने छौं ।’

ऐतिहासिक बाहुबलीझर्ना भनेर पनि चर्चा भएको पाइएको लामाले बताए ।
त्यसै गरि वडा नं. ३ को तारा खस्यो लेक, वडा नं. १२ को ग्याङडाँडा र वडा नं. २ को तीनधारे झरनालाई आफूहरुले मुख्य पर्यटन क्षेत्रको रुपमा लिएको उनले बताए ।

यो झरनासम्म पुग्न चाहिने सबै प्रकारको पूर्वाधारहरु तयार गरे नेपालकै एक पर्यटन गन्तव्य हुने सम्भावना देखिन्छ । यस प्रति स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले विशेष रुपमा हेर्नुपर्ने देखिन्छ ।
फोटोः सामाजिक सञ्जालबाट ।

Comments

comments