काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराको हो ।

डा. केसीसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ । त्यस्तै आपसी विमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग गर्दै डा. गोविन्द केसी भदौ २९ गते जुम्लामा आमरण अनशन सुरु गरेका थिए । हाल उनी त्रिवि शिक्षण अस्पतालमा छन् ।