काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि बुधबार पनि छलफल भएको छ । बैठकमा बिधेयकमाथिको दफा ३ र ४ मा रहेको बिदेशबाट नेपाल आउन पाउने र नेपालबाट बिदेश जान पाउने बिषयमा छलफल भएको थियो ।

विधेयकमाथिको छलफलमा भाग लिँदै गृहमन्त्री रामबहादुर थापाले सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरुका लागि भिसा सम्बन्धि केही खुकुलो बनाउने जानकारी दिए । उनले नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताए । अध्यागमन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले छलफलको क्रममा रहेको छ ।

अध्यागमन सम्बन्धि विद्यमान कानून परिवर्तन गर्नुपर्ने विभिन्न पक्षबाट आवाज उठ्न थालेपछि सरकारले केही कानून संशोधन र एकीकरण गनए विधेयक ल्याएको हो । नेपालमा विदेशीको आगमन, उपस्थिति र नेपालबाट विदेशीको प्रस्थानलाई नियमित र व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको सरकारले जनाएको छ ।

विदेशी नागरिक नेपाल आउन चाहेमा नेपालमा प्रवेश गराउन सकिने व्यवस्थाहरुमाथि छलफल भएको राष्ट्रियसभा सदस्य प्रकाश पन्थले जानकारी दिए । यस्तै नेपाली नागरिकहरु विदेश जान चाहेमा नागरिकको अधिकार अनुसार जान पाउनुपर्ने व्यवस्थामाथि पनि बैठकमा छलफल भएको थियो ।

छलफलपछि दफा ३ र ४ रहेको व्यवस्थालाई मिलाउन गृहमन्त्रालयलाई भनिएको पन्थले बताए । यसअघि मंगलबारको बैठकमा अध्यागम बिभागले विदेशी नागरिक नेपाल आउन चाहेमा त्यसको पूर्वजानकारी लिनका लागि अध्यागमनमा अग्रिम यात्रु प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको थियो ।

Comments

comments