काठमाडौँ । प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति जनाउँदै ७ जना मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले राजीनामा दिएका हुन् ।

राजीनामा दिने मन्त्रीहरुमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, शक्तिबहादुर बस्नेत, रामेश्वर राय यादव र बिना मगर छन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ ।

विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ । साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

Comments

comments