काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले केपी शर्मा ओलीले नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा नदिए संसदबाट गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् ।

सर्वोच्चको आदेशमा संसद पुनःस्थापना भएपछि प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजित सभालाई सम्वोधन गर्दै भुसालले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी हुन् । उनले १३ दिनभित्र संसद बैठक बस्ने र त्यसअघि राजीनामा नदिए संसदबाट गलहत्याउने चेतावनी दिइन् ।

उनले भनिन्, ‘ संसद पुनःस्थापना गरेपछि प्रतिगामीहरूले नैतिकता भए राजीनामा देलान् भनेका छौं । अझैपनि नैतिकता छ भने राजीनामा दिइयोस्, हारेको प्रतिगामीले उठ्छु भन्ने दिवास्वप्न नदेखे हुन्छ । नत्र गलहत्याएर निकाल्छौं ।’ उनले सर्वोच्चको फैसलाले नेपालको हिटलर बन्न खोज्ने ओलीको तानाशाही पराजित भएको र देशले जितेको बताइन् । संसद पुनःस्थापना भएको खुसीयालीमा प्रचण्ड–नेपाल समूहले काठमाडौंको रत्नपार्कबाट विजय र्याली निकालेको थियो । प्रचण्ड–नेपाल समूहले संसद पुनःस्थापनाको खुसीयालीमा आज देशभर विजय र्याली निकालेको छ ।

 

Comments

comments