बनेपा– आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, बनेपा काभ्रेमा प्रभावकारी उपचार हुन थालेपछि सेवाग्राही बढेको छ । गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षमा सेवाग्राहीहरु निक्कै बढेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ४ हजार ६ सय ५८ जनाले ‘पञ्चकर्म र अकुपञ्चर’ सेवा लिएका छन् । जसमा महिला सेवाग्राही २ हजार ९ सय ३६ जना र पुरुष सेवाग्राही १ हजार ७ सय ३२ रहेको छ । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, काभ्रेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा अकुपञ्चर सेवा अन्तर्गत महिला ९ सय ६३ र पुरुष ६ सय ३० गरी १५ सय ९३ जनाले सेवा लिएको छ भने पञ्चकर्म सेवा भने महिला १९ सय ६३ पुरुष ११ सय २ जना गरी ३ हजार ६५ जनाले लिएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको नामबाट सञ्चालन भएको यस केन्द्रको नाम परिवर्तन भएर आयुर्वेद तथा बैकल्पिक चिकित्सालय नामाकरण गरिएको छ ।
यसँगै वागमती प्रदेश स्वास्थ्य मन्त्रालयले १६ शैयाको अस्पताल स्वीकृत गरेपनि बजेटको ब्यबस्थापन भने नगरेको आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, काभ्रेका कविराज प्रताप लामाले जानकारी दिए । यस चिकित्सालयमा ‘पञ्चकर्म र अकुपञ्चर’ उपचार विधि प्रभावकारी बनेको कविराज (निरिक्षक) लामाले जानकारी दिए ।
महिला पुरुषको लागि छुट्टाछुट्टै पन्चकर्मको लागि रुम ब्यबस्थापन गरेको लामाले बतबाए । ‘पन्चकर्म र अकुपन्चर सबैभन्दा बढी प्रभावकारी भएको छ । विभिन्न कार्यक्रम सन्चालन पनि निक्कै प्रभावकारी भएको छ ।’ उनले भने ।
पन्चकर्मको लागि महिला अभ्याङकर्ता बिमला पराजुली र पुरुषको लागि छिरिङ लामाले रहेका छन् । यस कर्मबाट सबैप्रकारको रोगको उपचार गर्न सजिलो हुने र बिशेष गरि बाथब्यादी रोगको लागि निक्कै प्रभावकारी हुने कविराज लामाले बताए ।
अकुपन्चर सहायक रबि बासुकलाका अनुसार चाइनिज पद्धति समेत रहेको अकुपञ्चर विधिले पनि सबै रागेको उपचारमा सहयोग पुग्छ । विशेष गरी यसबाट ब्लड सर्कुलेशन राम्रो हुने, इन्टरफिर हार्मोनलाई सर्कुलेशन गर्ने, हाटजोर्नी, नशारोग र टाउको दुख्ने आदि रोगको उपचार प्रभावकारी हुने सहायक बासुकलाले बताए । दुवै सेवा लिनका लागि दैनिक १०/१२ जना आउने गरेको उनले जानकारी दिए ।
भौतिक पूर्वाधारको अभाव
यसैबीच भौतिकपूर्वाधारको अभावका बाबजुध पनि सेवाग्राहीलाई सकेको सेवा दिएको कविराज लामाले जानकारी दिए । ‘अहिले भएको भवनलाई नै जसोतसो प्रयोग गरिरहेको र सेवाग्राहीको चाप बढ्दा सेवा प्रवाहमा समस्या भएको छ ।’ उनले भने, ‘भवनको अभावमा विरामी भर्ना गरेर उपचार गर्न नसकेको बताउँदै लामाले चिकित्सालयको भवन भएको भए आयुर्वेदिक उपचार अझ प्रभावकारी हुने थियो ।’
आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको भौतिक संरचनाको अभाव रहेकोले तत्कालको लागि सिंगै घर भाडामा लिएर चलाउने योजना रहेको लामाले जानकारी दिए ।
‘आगामी दिनमा बिरामी भर्ना नै गरेर राख्ने हो । १६ बेटको लागि यो अपुग छ । जग्गा खोजिरहेको छ । पाएको छैन ।’ उनले भने, ‘बिरामी चेकजाँच कक्ष बढाउने छौं । जग्गाको लागि बनेपा, धुलिखेल र पनौतीसँग कुरा भैरहेको छ । बनेपा नगरपालिका सकारात्मक छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।