काठमाडौं । शुभ संगीत पाठशाला प्रा. लि. को आयोजनामा लेखक तथा संगीतकार शुभ लाल घलान तामाङद्वारा लिखित पुस्तक “तामाङ ह्वाइ काई” को विमोचन तथा सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार राष्ट्रिय नाचघर जमल, काठमाडौंमा आयोजित कार्यक्रममा सर्लाहीको हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा पुस्तकको लोकार्पण गरिएको हो।
लेखक शुभ लाल घलानको यो दोस्रो कृति हो। यसअघि उनले “सेलो राग” नामक पुस्तक प्रकाशित गरिसकेका छन्। तामाङ ह्वाइ काई पुस्तकले तामाङ समुदायको मौलिक संगीत, बाजा, र तामाङ संस्कृतिलाई संकलन तथा संरक्षित गर्न विशेष योगदान पुर्याउने उद्देश्य लिएको छ। पुस्तकमा तामाङ संगीतको प्रमुख बाजा डम्फु बजाउने तरिका, विभिन्न ताल र तामाङ मौलिक भाकाहरूलाई लिपिबद्ध गरिएको छ। “डम्फुला तालरी तामाङ ह्वाइ जाम्बुलिङरी छार्ना लाई” भन्ने नारासहित पुस्तकले तामाङ संगीतको सांस्कृतिक महत्त्वलाई उजागर गरेको छ।
कार्यक्रममा तामाङ समुदायकै पहिलो वरिष्ठ गायक चन्द्रकुमार मोक्तान र म्हेन्दो माया गीतसंगीतका पहिलो गायक लेक योञ्जन तामाङलाई विशेष स्रष्टा सम्मान प्रदान गरिएको थियो। म्हेन्दो माया तामाङ गीतहरू धादिङ, नुवाकोट, र रसुवा जिल्लामा विशेष लोकप्रिय छन्, जसले तामाङ समुदायको सांस्कृतिक पहिचानलाई सुदृढ बनाएको छ।
पुस्तक विमोचनको क्रममा विभिन्न कलाकारहरूको सांगीतिक प्रस्तुति पनि राखिएको थियो। गायक तथा संगीतकार शुभ लाल घलान,गायक तथा टुङ्ना बादक छेवाङ तेन्जिङ लामा, गायिका सुमिना लो, लक्ष्मी स्याङ्तान, रेशमा बोम्जन, पारु लामा, डम्फु बादक राजु थिङ, एन्जल घलान, बाँसुरी बादक चन्द्र लामा, र टुङ्ना बादक राम गोम्जाले आफ्नो प्रस्तुति दिएर दर्शकलाई मोहित पारेका थिए। तामाङ मौलिक बाजा डम्फु, टुङ्ना, बाँसुरी, ढ्याङ्ग्रो, र घण्टीको प्रयोगले कार्यक्रमलाई सांस्कृतिक धरोहरको महत्त्वपूर्ण परिधिमा राख्न मद्दत पुर्याएको थियो।
वरिष्ठ गायक चन्द्रकुमार दोङ, चर्चित गायक प्रेम लोप्चन, र उत्प्रेरक वक्ता विकास देव योञ्जन, वाइवा समाजका पुर्व अध्यक्ष विगेन्द्र वाइवा तामाङ गायक सुवास मोक्तान , समाजसेवी फुर्पादोर्जे मोक्तानलगायत विभिन्न संघ, संस्थाहरुका अतिथिहरूको उपस्थिति कार्यक्रममा रहेको थियो।
शुभ लाल घलानले तामाङ ह्वाइ काई पुस्तक लेख्नुको मुख्य उद्देश्य तामाङ भाषा, भेषभुषा, संस्कार, र संस्कृतिलाई गीतसंगीतमार्फत जगेर्ना गर्ने रहेको बताए। तामाङ समुदायको मौलिक बाजाहरूको संरक्षण र त्यसको सही तरिकाबाट प्रचारप्रसार गर्न पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो। यस पुस्तकमा विशेषगरी तामाङ समुदायका भिन्न भेगहरूमा गाइने मौलिक भाकाहरूलाई एकत्रित गरी तिनलाई लिपिबद्ध गरिएको छ।
कार्यक्रममा उपस्थित दर्शकहरूले तामाङ मौलिक संगीतको समृद्ध संस्कृति र परम्परालाई जगेर्ना गर्न यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गरे। लेखक तथा संगीतकार शुभ लाल घलानको यो प्रयासले तामाङ समुदायको सांस्कृतिक धरोहरको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।कार्यक्रम नायिका सुनिता लुङ्वाले सञ्चालन गरेका थिए।