हेटाैँडा– बागमती प्रदेश सरकारले प्रदेशबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी धनी दर्ता पूर्जा (ब्लु बुक) छपाइ गर्ने भएको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले लाइसेन्स र ब्लु बुक छपाईका लागि मेसिन खरिदको प्रक्रिया अघि बढाएको हो ।
मन्त्रालयले गत वैशाख ४ गते लाइसेन्स र ब्लु बुक छपाईका लागि मेसिन खरिदको बोलपत्र आह्वान गरेको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार टेन्डर प्रक्रिया सम्पन्न गरेर आगामी असारबाटै लाइसेन्स र ब्लु बुक छपाईको काम अघि बढाउने तयारी रहेको छ ।
मन्त्रालयले टेन्डर मार्फत ३ वटा लेजर प्रिन्टर खरिदको लागि प्रस्ताव आह्वान गरेको हो । लेजर प्रिन्टरबाट २ लाख ३५ हजार लाइसेन्स र ३ लाख ब्लु बुक को डिजिटल कार्ड छापिने गरी मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको उनले बताए ।
लाइसेन्स छपाइ गर्ने मेसिन प्रदेशका ३ जिल्लामा राखेर कार्ड छपाइको कार्य गर्ने मन्त्रालयको योजना रहेको उनले बताए । हाल लाइसेन्स वितरणको सेवा रहेका कार्यालयबाट प्राप्त डाटालाई उक्त मेसिनहरूबाट छपाई गरेर छिटो छरितो रूपमा नागरिकलाई सेवा दिने मन्त्रालयको तयारी रहेको उनले बताए ।
भौगोलिक अनुकूलता अनुसार १३ जिल्लालाई पायक पर्ने गरी स्थानमा मेसिन राखिने सूचना अधिकारी पौडेलले बताए । असारबाट छपाईको काम सुरु गरेर आगामी आर्थिक वर्ष २०८२/०८३ को साउनबाट नियमित रूपमा कार्ड छपाइ गरिने उनले बताए ।
प्रदेश सरकारले लाइसेन्स तथा ब्लु बुक छपाईका लागि सङ्घीय सरकार अन्तर्गतको यातायात व्यवस्था विभागबाट डाटा तानेर ल्याइएको उनको भनाई छ । प्रदेश सरकारले छुट्टै सिस्टम निर्माण गरेर लाइसेन्स र ब्लु बुक छपाई गर्ने गरी काम अघि बढाएको उनले बताए । सङ्घीय सरकारले बनाएको लाइसेन्स र ब्लु बुक को डिजाइन अनुसार प्रदेश सरकारले छपाई गर्ने उनले बताए ।
‘यसअघि यातायात व्यवस्था विभागले लाइसेन्सको डिजिटल कार्ड छापेर पठाउने गरेको थियो । जसले गर्दा सेवा प्रवाह निकै समस्या भइरहेको थियो । हले वर्षैसम्म लाइसेन्स छपाईको काम अल्झिएर रहेको छ ।’ उनले भने, ‘अब प्रदेशबाटै लाइसेन्स छपाई गर्ने गरी काम अघि बढेको छ । हामीले लाइसेन्स छपाईको काम अघि बढाउन मेसिन खरिदको बोलपत्र पनि आह्वान गरेका छौँ । टेन्डर प्रक्रिया सकेर असारबाट छपाईको काम थाल्ने योजना रहेको छ । प्रदेशको छुट्टै सिस्टम बनाएर ३ जिल्लामा मेसिन राखेर छाप्ने प्रक्रिया अघि बढाउँछौ ।’
बागमती प्रदेशको १२ लाख थान लाइसेन्स कार्ड छाप्न बाँकी रहेको छ । २०७८ मा लाइसेन्स लिने प्रक्रियामा गएकाहरूको समेत छाप्न बाँकी रहेको उनले बताए । प्रदेश सरकारले उक्त अवस्थालाई मध्यनजर गरेर लाइसेन्स छाप्ने मेसिन खरिदको काम अघि बढाएको उनको भनाई छ ।
विभागले २०८१ चैतसम्मको कार्ड छापेर पठाउने र २०८२ वैशाखदेखिको कार्डहरू प्रदेशबाट छपाई गर्ने गरी अघि बढिएको उनले बताए ।उनका अनुसार एक वर्षमा २ लाख लाइसेन्स कार्ड र १५ लाख ब्लु बुक छपाई गर्ने र उक्त कार्डले प्रदेशलाई धान्न सक्ने अनुमान मन्त्रालयको रहेको छ ।
उक्त कार्यका लागि मन्त्रालयले आफ्नै ‘बागमती ईडीएल’ (इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स) प्रणाली निर्माण गरेको उनले बताए । वैशाख १९ गते उक्त प्रणालीको उद्घाटन गर्ने तयारी रहेको उनको भनाई छ । उक्त सफ्टवेयरबाट यातायात क्षेत्रको सबै कामहरू गर्न सकिने र राष्ट्रिय परिचयपत्रसँग जोडिएकाले बायोमेट्रिक समेत स्वतः प्रणालीले प्राप्त गर्न सक्ने गरी स्तरोन्नति गर्ने काम अघि बढाइएको उनले बताए ।
मन्त्रालयले क्युआर कोड सहितको लाइसेन्स कार्ड छपाईको तयारी गरेको उनले बताए । चिप्स सहितको कार्ड खर्चिलो हुने भएकाले प्रविधि अनुसारको क्युआर कोर्ड रहेको कार्ड छपाइमा मन्त्रालयले काम गरिरहेको उनले बताए । सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को दसौँ संशोधनबाट क्युआर राख्न सकिने व्यवस्था गरिएको उनले बताए ।
प्रदेश सरकारले विगतदेखि नै लाइसेन्स छपाई तथा वितरणका लागि बजेट छुट्याउँदै आएको थियो । उक्त योजनामा बजेट छुटिए पनि कार्यान्वयन नहुँदा वर्षेनी बजेट फ्रिज हुँदै आएको थियो ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा मन्त्रालयले लाइसेन्स छपाई मेसिन खरिदका लागि ४ करोड २० लाख रुपैयाँ र कार्ड खरिदका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको सूचना अधिकारी पौडेलले बताए । –रातोपाटीबाट
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।