काठमाडौं । पछिल्लो समय टिकटकमा अत्यन्तै लोकप्रिय बन्दै गएको तामाङ सेलो गीत ‘को म्हेन्दो पोङ्री’ को अफिसियल म्युजिक भिडियो अन्ततः सार्वजनिक गरिएको छ। छोटो भिडियो प्लेटफर्म टिकटकमा हजारौँ प्रयोगकर्ताले यस गीतमा भिडियो बनाएपछि गीतले दर्शक–श्रोतामाझ विशेष चर्चा कमाएको थियो।
चर्चित तामाङ सेलो गायक विश्व दोङ र गायिका जितु लोप्चन को स्वरमा सजिएको यस गीतको भिडियो यसअघि सार्वजनिक नभए पनि गीतको अडियोले टिकटकमा नै ठूलो लोकप्रियता हासिल गरिसकेको थियो। यही लोकप्रियतालाई ध्यानमा राख्दै डम्फु मिडिया ले शुक्रबार गीतको आधिकारिक म्युजिक भिडियो सार्वजनिक गरेको हो।
सार्वजनिक भिडियोमा तामाङ चलचित्रका महानायक अमिर दोङ र लोकप्रिय अभिनेत्री अम्बिका तामाङ को आकर्षक अभिनय देख्न सकिन्छ। भिडियोले तामाङ समुदायको प्रेम भावना, मौलिक संस्कृति, चालचलन र सामाजिक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। गाउँले परिवेश, परम्परागत पहिरन र भावनात्मक दृश्य संयोजनले भिडियोलाई अझ जीवन्त बनाएको छ।
गीतका शब्द ताम्सालिङ मान्बा मोक्तान ले लेखेका हुन् भने संगीत रेन्जिन तामाङ को रहेको छ। भिडियोलाई युवा निर्देशक प्रतिक ङ्यास्युर ले निर्देशन गरेका छन्। छायांकन, सम्पादन तथा कलरको जिम्मेवारी त्रिलोक लामा ले सम्हालेका छन्, जसले भिडियोको दृश्यात्मक पक्षलाई निकै आकर्षक बनाएको छ।
प्रेम र परम्पराको सुन्दर संगम प्रस्तुत गर्ने ‘को म्हेन्दो पोङ्री’ ले पुरानो स्वाद र आधुनिक प्रस्तुतीलाई एकैसाथ समेटेको छ। टिकटकबाट सुरु भएको यस गीतको यात्रा अब अफिसियल म्युजिक भिडियोमार्फत झनै फराकिलो दर्शकसम्म पुग्ने अपेक्षा गरिएको छ।
हाल यो म्युजिक भिडियो डम्फु मिडिया को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ, जहाँ दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन्।





















