इजरायल– नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा आगामी १३ फेब्रुअरी २०२६, शुक्रबार इजरायलको तेलअभिवस्थित हगना–१३५ मा सोनाम ल्होछार साँगीतिक साँझ–२०२६ आयोजना हुने भएको छ। तामाङ समुदायको मौलिक संस्कृति, भाषा र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको उक्त कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।
“तामाङ भाषा, भेषभूषा, धर्म, कला, लिपी, संस्कार र संस्कृतिको प्रवर्द्धन तथा संरक्षण गरौँ, ताम्सालिङ प्राप्तिका लागि एकजुट हौँ” भन्ने मूल नारासहित, नेपालीहरूको राष्ट्रिय पर्व तथा तामाङ समुदायको प्रमुख चाड मञ्जुश्री संवत् २८६२ (ता ल्हो) घोडा वर्ग सोनाम ल्होछार को अवसर पारेर यो कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा बहुचर्चित तथा लोकप्रिय युवा गायक छेवाङ लामा र उनको ब्याण्डको लाइभ साँगीतिक प्रस्तुति रहने नेपाल तामाङ घेदुङ इजरायलले जानकारी दिएको छ। यसका साथै सोनाम ल्होछार साँगीतिक साँझमा शुभकामना आदान–प्रदान कार्यक्रम, तामाङ समुदायको प्रचलित तथा महत्वपूर्ण नृत्य तामाङ सेलो सहित विभिन्न सांस्कृतिक प्रस्तुति रहने आयोजक संस्थाकी अध्यक्ष कुमारी गल्देन तामाङले बताउनुभयो।
कार्यक्रममा नेपाली दूतावास इजरायलका प्रमुखको प्रमुख आतिथ्यता तथा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्षको विशिष्ट आतिथ्यता रहने जनाइएको छ। साथै इजरायलमा क्रियाशील विभिन्न धार्मिक, सामाजिक, राजनीतिक तथा राष्ट्रिय संघ–संस्थाका प्रतिनिधिहरूलाई समेत कार्यक्रममा निमन्त्रणा गरिएको छ।
नेपाल तामाङ घेदुङ इजरायलले सोनाम ल्होछार साँगीतिक साँझ–२०२६ मा इजरायलमा रहेका सम्पूर्ण नेपाली तथा नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ। अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि कार्यक्रमलाई भव्य, सभ्य र सांस्कृतिक पहिचान झल्किने ढंगले मनाउने तयारी भइरहेको आयोजकको भनाइ छ।
“ताम्सालिङ घ्लेठीम बाबरि जम्बुलिङला मोक्कोन तामाङ घिक ताअी” भन्ने मूल नारासहित सन् २०१० मा स्थापना भएको नेपाल तामाङ घेदुङ इजरायल इजरायलमा क्रियाशील ८ वटा राष्ट्रिय समुदाय संस्थाहरूमध्ये एक सक्रिय र सशक्त संस्थाको रूपमा स्थापित हुँदै आएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















