काभ्रे, साउन ११ गते । बनेपा स्थित प्रसिद्ध त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काभ्रे बहुमुखी क्याम्पसले आफ्नो जग्गा र शैक्षिक कार्यक्रमहरूका विरुद्ध भइरहेका अवाञ्छित गतिविधिहरूप्रति ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि ६ सदस्यीय वार्ता समिति गठन गरेको छ। क्याम्पस प्रमुख के.जी. वैदारद्वारा जारी विज्ञप्तिमा बनेपा नगरपालिका वडा नं. ६ स्थित बुडोलमा रहेको क्याम्पसको स्तरोन्नति र विकासका लागि सबैसँग संवाद गर्न तयार रहेको जनाइएको छ।

विज्ञप्ति अनुसार, बनेपा वडा नं. ६ का वडावासी, स्थानीय समुदाय र पूर्व वडाध्यक्षहरू स्व. पृथ्वीध्वज केसी, स्व. कृष्णबुद्ध बजगाईँ तथा भैरव केसीको अतुलनीय योगदानमा यो क्याम्पसको स्थापना भएको थियो। तत्कालीन प्रधानपञ्च स्व. पृथ्वीध्वज केसीले गाउँपञ्चायतबाट जग्गा प्रदान गर्ने निर्णय गराई मिति २०५२ साल असार १९ गतेको मन्त्रिपरिषद्को निर्णयबाट काभ्रेपलाञ्चोक, श्रीखण्डपुर पञ्चायत वडा नं. ५ (हाल बनेपा-६) स्थित कित्ता नम्बर १६५ को १८ रोपनी १० आना ३ दाम जग्गा क्याम्पसको नाममा हकहस्तान्तरण तथा पुर्जा प्राप्त भएको थियो। उक्त निर्णयले क्याम्पसलाई सो जग्गाको हकाधिकार र भोगचलनको स्पष्ट अधिकार दिएको क्याम्पसले जनाएको छ।

तर, विगत केही वर्षदेखि केही व्यक्तिहरूले क्याम्पसलाई जग्गाको स्वामित्वबाट बञ्चित गराई सुकुमबासी बनाउने र क्याम्पसै बन्द गराउने मनसायले अवाञ्छित क्रियाकलाप गरिरहेको आरोप विज्ञप्तिमा लगाइएको छ। क्याम्पसमा सञ्चालित आइटी, विज्ञान, शिक्षा, व्यवस्थापन लगायतका ११ वटा शैक्षिक कार्यक्रमहरूलाई प्रभावित पार्न खोजिएको तथा बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (BCMT) मार्फत राजर्षिजनक विश्वविद्यालयबाट अनुमति लिई सञ्चालित B.Sc. CSIT, BBA र MBA जस्ता कार्यक्रमहरू बन्द गराउन निर्लज्जतापूर्वक दबाब र धम्की दिइएको प्रति क्याम्पस प्रशासनले आपत्ति जनाएको छ।

उक्त समस्या समाधान गरी क्याम्पस र समुदायबीचको सम्बन्ध सुमधुर बनाउन क्याम्पसले कृपेन्द्र श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको छ। समितिका सदस्यहरूमा डा. माधवप्रसाद तिमिल्सिना, श्रीराम श्रेष्ठ, आत्माराम थापा, युगेश्वर कायस्थ र रोहिन पराजुली रहेका छन्। क्याम्पसको विकास र समृद्धिको लागि जहाँसुकै गएर वार्ता गर्न तयार रहेको उल्लेख गर्दै क्याम्पस प्रशासनले क्याम्पसको अस्तित्व नै नामेट पार्ने वा क्याम्पस विरुद्ध क्रियाकलाप गर्नेहरूलाई नै न्यायाधीश मानेर वार्ता गर्न भने अस्वीकार गरेको छ।

क्याम्पस प्रमुख के.जी. वैदारले स्थानीय अग्रजहरू र प्रबुद्ध नागरिकहरूलाई बनेपाको यो ऐतिहासिक शैक्षिक धरोहरलाई जोगाउन र शिक्षाको दीप निभ्न नदिनका लागि निरन्तर सहयोग गर्न हार्दिक अपिल गर्नुभएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।