काठमाडौं । नेपाल तामाङ मौलिक ह्वाईला न्हानको छैटौँ वार्षिक उत्सव तथा साधारणसभा–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। तामाङ समुदायको मौलिक कला, संस्कृति, भाषा, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार काठमाडौंको बौद्धस्थित बोधिसत्व सेवा समाज, बुद्धचोक, बौद्ध लभडाँडामा कार्यक्रम आयोजना गरिएको हो।
नेपाल तामाङ मौलिक ह्वाईला न्हानका अध्यक्ष सञ्जिव योञ्जन (पोङ्दीला च्याङ्बा)को सभापतित्व तथा तामाङ समुदायका मौलिक गायक फुलकुमार बोम्जनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि फुलकुमार बम्जनले तामाङ समुदायको पहिचान नै मौलिक संस्कृति, भाषा, कला र परम्परासँग जोडिएको बताउँदै यसको संरक्षणमा सबै पुस्ता एकजुट हुनुपर्नेमा जोड दिएका थिए। उनले आधुनिकताको प्रभावसँगै मौलिक सांस्कृतिक अभ्यासहरू ओझेलमा पर्दै गएको अवस्थामा नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार, गीत–संगीत, भेषभूषा, बाजागाजा तथा परम्परासँग जोड्नुपर्ने धारणा राखेका थिए।
उनले मौलिक कलाकार तथा संस्कृतिकर्मीको योगदानको सम्मान गर्दै अग्रज पुस्ताबाट सिकेका ज्ञान, सीप र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके मात्रै तामाङ समुदायको मौलिक पहिचानलाई दीर्घकालीन रूपमा जोगाउन सकिने बताएका थिए। मौलिक संस्कृति संरक्षण कुनै एक संस्था वा व्यक्तिको मात्र जिम्मेवारी नभई सम्पूर्ण तामाङ समुदायको साझा दायित्व भएको उनको भनाइ थियो।
वार्षिक उत्सवसँगै साधारणसभामा संस्थाले हालसम्म गरेका गतिविधिको समीक्षा, आगामी कार्ययोजना निर्माण तथा संगठनात्मक सुदृढीकरणका विषयमा छलफल गरिएको थियो। आगामी दिनमा तामाङ मौलिक कला, संस्कृति, भाषा, गीत–संगीत, नृत्य तथा परम्परागत सांस्कृतिक अभ्यासको संरक्षणका लागि थप प्रभावकारी कार्यक्रम अघि बढाउने विषयमा समेत छलफल भएको थियो।
अध्यक्ष योञ्जनका अनुसार आधुनिकताको बढ्दो प्रभावसँगै लोपोन्मुख अवस्थामा पुगेका मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउनु संस्थाको प्रमुख उद्देश्य हो। संस्थाले तामाङ समुदायको मौलिक पहिचानलाई जीवन्त राख्न निरन्तर पहल गर्दै आएको उनले बताए।
कार्यक्रममा वेस्ट बंगाल तामाङ बुद्धिस्ट कल्चरका अध्यक्ष सञ्जय मोक्तान, तामाङ निर्देशक संघका महासचिव विनय दोङ, तामाङ पत्रकार संघका अध्यक्ष छेडुप तामाङ लगायत विभिन्न संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
“मौलिकता हाम्रो पहिचान, एकता हाम्रो अभियान” भन्ने मूल भावनाका साथ सम्पन्न छैटौँ वार्षिक उत्सव तथा साधारणसभाले तामाङ मौलिक संस्कृति संरक्षणको अभियानलाई थप संस्थागत र प्रभावकारी बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।
कार्यक्रम संस्थाका अध्यक्ष सञ्जिव योञ्जन (पोङ्दीला च्याङ्बा)को सभापतित्वमा सम्पन्न भएको थियो भने महासचिव हिलेला ज्ञानु तामाङले सञ्चालन गरेका थिए।


















