काठमाडौं । तामाङ सांगीतिक क्षेत्रमा मौलिकता, संस्कृति र आधुनिक प्रस्तुतिको संयोजनसहित नयाँ गीत ‘उत्तर लामा दाइ’ सार्वजनिक भएको छ। छोर्वाला काई रेडियो कार्यक्रमको तेस्रो प्रस्तुतिका रूपमा बजारमा आएको यो गीत विशेषगरी तामाङ समुदायमा र्याप संगीतको सुरुवाती यात्रासँग जोडिएका पहिलो तामाङ
र्यापर उत्तर लामाको सांगीतिक योगदान र पहिचानलाई केन्द्रमा राखेर तयार गरिएको हो।
उत्तर लामा तामाङ समुदायमा तामाङ र्याप संगीतलाई प्रारम्भिक चरणमै अंगालेर आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकारका रूपमा चिनिन्छन्। तामाङ सांगीतिक क्षेत्रमा र्याप विधालाई स्थापित गराउने सुरुवाती पुस्ताका कलाकारमध्ये उत्तर लामाको नाम महत्वपूर्ण रूपमा लिइन्छ। यही सांगीतिक यात्रालाई सम्मान र स्मरण गर्दै गीतको शीर्षक नै ‘उतर लामा दाइ’ राखिएको निर्माण पक्षले जनाएको छ। उत्तर लामा तामाङ समुदायको पहिलो तामाङ र्यापर स्थापित नाम हो।
गीतमा पत्रकार तथा सञ्चारकर्मी सुदिन दोङ र गीतकार कुमार बोम्जनको शब्द तथा सिर्जना रहेको छ। गीतमा गायिका सुमिना लो, पूजा लामा र अर्पण थिङको स्वर रहेको छ भने युवा र्यापर इमान लामाले र्याप प्रस्तुत गरेका छन्। गीतको संगीत संयोजन गायक जोगलाल लामाले गरेको हो।
त्यस्तै गीतको रेकर्डिङ तथा मिक्सिङ अर्पण थिङले गरेका छन् भने गीत अर्पण स्टुडियोमा तयार गरिएको हो। मौलिक तामाङ सांगीतिक स्वादलाई आधुनिक शैली र र्याप प्रस्तुतिसँग जोड्दै तयार गरिएको गीतले तामाङ गीत–संगीतमा नयाँ प्रयोगको संकेतसमेत गरेको छ।
‘उत्तर लामा दाइ’ केवल मनोरञ्जनका लागि तयार पारिएको गीत मात्र नभई तामाङ समुदायमा र्याप संगीतको विकासक्रम र त्यसमा उत्तर लामाले पुर्याएको योगदानलाई सम्झने सांगीतिक प्रयासका रूपमा पनि प्रस्तुत गरिएको छ। पछिल्लो पुस्ताका कलाकारले आधुनिक संगीतका विभिन्न विधालाई आत्मसात् गरिरहेका बेला पुरानो पुस्ताका र्याप कलाकारको योगदानलाई गीतमार्फत नयाँ पुस्तासम्म पुर्याउने प्रयासलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
तामाङ समुदायमा र्याप संगीतको सुरुवाती यात्रामा उत्तर लामाले देखाएको बाटो र त्यसपछि विकसित हुँदै आएको सांगीतिक यात्राबीचको सम्बन्धलाई गीतले प्रस्तुत गर्न खोजेको छ। यस अर्थमा ‘उत्तर लामा दाइ’ नयाँ पुस्ताका कलाकारका लागि अग्रज पुस्ताको सांगीतिक योगदानप्रतिको सम्मान र सम्झनाको अभिव्यक्ति पनि बनेको छ।
छोर्वाला काई रेडियो कार्यक्रमले तामाङ भाषा, संस्कृति, कला र संगीतलाई प्राथमिकतामा राख्दै विभिन्न सिर्जनात्मक कार्यक्रम तथा सांगीतिक प्रस्तुति गर्दै आएको छ। सोही शृंखलाको तेस्रो प्रस्तुतिका रूपमा सार्वजनिक गीतले तामाङ समुदायका श्रोता–दर्शकसँगै र्याप संगीतप्रेमीमाझ समेत चासो बढाउने अपेक्षा गरिएको छ।
गीतको आधिकारिक म्युजिक अडियो विभिन्न डिजिटल तथा सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरिएको छ। निर्माण पक्षले तामाङ गीत–संगीतप्रेमी सम्पूर्ण श्रोता तथा दर्शकलाई गीत सुनेर प्रतिक्रिया, सुझाव र साथ दिन आग्रह गरेको छ।
गीत सुन्नुहोस्


















