मिलन दोङ तामाङ 

क्वालालम्पुर, मलेसिया — नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाले आफ्नो पाँचौँ अधिवेशन तथा २१औँ वार्षिक उत्सव आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार कार्यक्रम २०२६ सेप्टेम्बर १३ गते आइतबार बिहान ११ बजे क्वालालम्पुर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजना हुनेछ।

 

तामाङ समुदायको भाषा, धर्म, संस्कृति, कला तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

साथै, मलेसियामा रहेका तामाङ समुदायलाई एकताबद्ध गर्दै संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने तथा आगामी कार्यदिशा तय गर्ने अवसरका रूपमा अधिवेशनलाई लिइएको आयोजकले जनाएको छ।

 

अधिवेशन मार्फत संस्थाको आगामी नेतृत्व तथा कार्यसमिति सम्बन्धी प्रक्रिया अघि बढ्नेछ। कार्यक्रममा मलेसियामा रहेका तामाङ समुदायका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा शुभेच्छुक हरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

 

आयोजक नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाले अधिवेशन तथा वार्षिक उत्सवलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न तयारीलाई तीव्रता दिएको जनाएको छ।

कार्यक्रमको मूल सन्देशका रूपमा “संसार भरी छरिएर रहेका तामाङहरू एक हौँ, हाम्रो भाषा, धर्म र संस्कृतिको जगेर्ना गरौँ” भन्ने नारालाई अघि सारिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।