-लोक लामा
जीवनको बाटो
निकै ठाडो थियो
हिँड्न सजिलो थिएन
तर मणिक लामा
त्यही बाटो रोजेर हिँडिरहे ।
गाउँको माटोमा जन्मिए, हुर्किए,
पढे, बढे
स्कुल जाने बाटो नसकिँदै
पञ्चायतविरोधी बाटो हिँडे
निर्मल लामाको विचारले छोयो
बाटो झन् अप्ठ्यारो भयो,
तर पाइला रोकिएन ।
विद्यालयको शिक्षक बने
तर किताब मात्रै पढाएनन्
समाज पनि पढे, पढाए
समय पनि पढे, पढाए
मानिसका दुःख पनि पढे, पढाए ।
विचार बोकेबापत
धम्की आए, दबाब आए,
तर अप्ठ्यारो बाटो हिँड्न छाडेनन् ।
जनआन्दोलनहरुमा
जनतासँगै सडकमा आए
अग्रपंक्तिमा उभिए
जनताले आफ्नै प्रतिनिधि बनाए ।
उनी पदमा बसे
तर पदले उनलाई बदलेन ।
बरु गाउँको दुःख बदल्ने
कोसिस गरिरहे ।
उनको जीवन
राजमार्गजस्तो थिएन
ठाडो गोरेटोजस्तो थियो
अप्ठ्यारो, साँघुरो बाटोमा
चेतनाको चिंगारी बोकेर
हिँडिरहे निरन्तर ।
आज उनी छैनन्
तर उनले हिँडेको बाटो छ
उनका पाइलाहरु छैनन्,
तर पाइलाका डोपहरु छन् ।
उनी गए,
कहिले नफर्किने ठाउँमा गए
तर गाउँको गोरेटोले भनिरहेछ
खै नयाँ मणिक लामाहरु ?
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















