काठमाडौं । मलेसियाको सुन्दर तथा रमणीय परिवेशमा छायांकन गरिएको नेपाली प्रेमगीत ‘तिम्रो माया’ तामाङ चलचित्रको महानायक अमिर दोङको प्रमुख आतिथ्यमा एक विशेष  पत्रकार सम्मेलन गरि सुकेवा जक्शन बाैद्वमा सार्वजनिक भएको छ। प्रेम, समर्पण र आत्मीय सम्बन्धलाई केन्द्रमा राखिएको गीतको म्युजिक भिडियो डम्फू मिडिया हाउसबाट दर्शक तथा श्रोतामाझ ल्याइएको हो।

‘तिम्रो माया’ले प्रेमलाई केवल शब्द र संगीतमा मात्र सीमित नराखी दृश्य माध्यममार्फत समेत भावनात्मक रूपमा प्रस्तुत गरेको छ। मलेसियाका आकर्षक प्राकृतिक तथा सहरी दृश्यलाई कथावस्तुसँग जोडेर तयार गरिएको भिडियोमा प्रेमी–प्रेमिकाबीचको आत्मीयता, एकअर्काप्रतिको समर्पण र मायाको गहिरो अनुभूतिलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

गीतकार गोरखा घिसिङको शब्द रहेको ‘तिम्रो माया’मा सुरेश लामा र काजल बोम्जनको स्वर सुन्न सकिन्छ। गीतमा कबिन योञ्जनको संगीत तथा जोगलाल लामाको एरेञ्ज रहेको छ। सुमधुर धुन, प्रेमिल शब्द र भावनात्मक गायनले गीतलाई अझ आकर्षक बनाएको छ।

म्युजिक भिडियोमा भीम घिसिङ तामाङ र डोम्साङ गोले तामाङले अभिनय गरेका छन्। मलेसियाको परिवेशलाई कथाको महत्वपूर्ण पाटोका रूपमा प्रयोग गरिएको भिडियोले प्रेमको अनुभूतिलाई दृश्यसँग जोड्दै दर्शकलाई आकर्षित गर्ने प्रयास गरेको छ।

भिडियोको क्यामेरा तथा सम्पादन कबिन योञ्जनले गरेका हुन् भने पोस्ट प्रोडक्सनको सम्पूर्ण कार्य डम्फू मिडिया हाउसबाट गरिएको हो। भिडियोमा प्रयोग भएका मलेसियाका मनमोहक दृश्य, कलाकारको अभिनय र संगीतको संयोजनले ‘तिम्रो माया’लाई दृश्य तथा श्रव्य दुवै हिसाबले विशेष बनाएको छ।

नेपाली सांगीतिक क्षेत्रमा प्रेमगीतको आफ्नै लोकप्रियता रहँदै आएको अवस्थामा विदेशको सुन्दर परिवेशमा निर्माण गरिएको ‘तिम्रो माया’ले नेपाली गीत–संगीतका दर्शक तथा श्रोतामाझ छुट्टै प्रभाव पार्ने अपेक्षा गरिएको छ। विशेषगरी प्रेम र सम्बन्धका भावनालाई मन छुने शैलीमा प्रस्तुत गरिएकाले गीतले युवा पुस्तादेखि नेपाली संगीतप्रेमी सबैको ध्यान आकर्षित गर्ने विश्वास गरिएको छ।

‘तिम्रो माया’ डम्फू मिडिया हाउसको आधिकारिक माध्यमबाट सार्वजनिक भइसकेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।