तेमाल- तेमाल गाउँपालिका–९ का तीन विद्यालयका विद्यार्थीलाई समाजसेवी, युवा व्यवसायी तथा शिक्षाप्रेमीहरूले पोशाक तथा शैक्षिक सामग्री सहयोग गरेका छन् । स्थानीय विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको उक्त सहयोगबाट २६४ जना विद्यार्थी लाभान्वित भएका छन्।

२०८३ साल असोज ७ गते समाजसेवी, युवा व्यवसायी तथा शिक्षाप्रेमी रोशन लामा र उनकी जीवनसंगिनी रविना तामाङले तेमाल–९ स्थित श्री मैनाजाङ आधारभूत विद्यालयका ५० जना र श्री बुद्धकिरण आधारभूत विद्यालयका २७ जना विद्यार्थीलाई ट्रयाकसुट, स्विटर र टी–सर्ट वितरण गरेका हुन्। सोही अवसरमा दुवै विद्यालयका विद्यार्थीलाई समाजसेवी, युवा व्यवसायी तथा शिक्षाप्रेमी महेशकुमार तामाङले स्टेशनरी सामग्रीसमेत उपलब्ध गराएका थिए।

त्यसैगरी, असोज ८ गते श्री कुशेश्वर माध्यमिक विद्यालयका १८७ जना विद्यार्थीलाई पनि पोशाक वितरण गरिएको थियो। सहयोग कार्यक्रम प्रतिनिधिसभाका पूर्व सांसद तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गंगाबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा सहयोगीदाता रोशन लामा, रविना तामाङ र महेश कुमार तामाङ सहित तेमाल गाउँपालिका–९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा, कुशेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डिलबहादुर थोकर, श्री छारह्युल कृषि सहकारी संस्थाका कोषाध्यक्ष जगतलाल तामाङ, वडा सदस्य कान्छा लामा तथा शिक्षाप्रेमी कमास तामाङलगायतको सहभागिता रहेको थियो।

विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री सहयोग गरेकोमा कुशेश्वर माविका प्रधानाध्यापक दमैसिं दोङ, मैनाजाङ आविका प्रधानाध्यापक डिलबहादुर दोङ र बुद्धकिरण आविका प्रधानाध्यापक सुविध्या त्रिपाठीले सहयोगदाताप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा पूर्व सांसद तामाङले विद्यार्थीको शैक्षिक उन्नयनका लागि गरिएको सहयोगले महत्वपूर्ण टेवा पुग्ने बताए। उनले विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराउने यस्ता कार्यले शिक्षाप्रतिको पहुँच र उत्साह बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।

सहयोगदाता रोशन लामाले विद्यार्थीलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए। उनले आगामी दिनमा पनि विद्यार्थी तथा विद्यालयको आवश्यकता अनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। कुशेश्वर माध्यमिक विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका लामाले आफ्नो पूर्वविद्यालयसहित स्थानीय विद्यालयका विद्यार्थीलाई सहयोग गरेका हुन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।