काठमाडौं । काभ्रेपलाञ्चोकको तेमालकी नाङसाल डोल्मा वल तामाङ ‘किड्स ग्ल्याम नेपाल’ प्रतियोगितामा फर्स्ट रनरअप हुनुभएको छ। बालबालिकाको प्रतिभा, व्यक्तित्व विकास तथा प्रवर्धन गर्ने उद्देश्यले द राइजिङ क्रियशन नेपालीको आयोजनामा आइतबार काठमाडौंमा सम्पन्न ग्रान्ड फिनालेमा तामाङले उत्कृष्ट प्रदर्शन गर्दै फर्स्ट रनरअपको उपाधि हात पारेकी हुन् ।
स्वयम्भूस्थित द सनसाइन स्कुलमा कक्षा ९ मा अध्ययनरत तामाङले अन्तिम प्रतिस्पर्धाका विभिन्न चरणमा उत्कृष्ट प्रस्तुति दिनुभएको थियो। उहाँले परिचय प्रस्तुति, नृत्य कला तथा प्रश्न–उत्तर राउन्डमा प्रभावशाली प्रदर्शन गर्दै निर्णायकहरूको ध्यान आकर्षित गर्न सफल भएकी थिइन् ।

फर्स्ट रनरअप बनेसँगै तामाङले सिल्भर क्राउनसहित नगद ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ। यसका साथै उहाँले प्रतियोगितामा ‘वेस्ट पोज’ को टाइटल अवार्डसमेत जितेकी छिन् ।
प्रतियोगिताको अन्तिम चरणका लागि विभिन्न जिल्ला तथा विद्यालयमा अध्ययनरत ३५ जना बालबालिका छनोट भएका थिए। अन्तिम प्रतिस्पर्धामा मेल र फिमेल दुवैतर्फका विजेता घोषणा गरिएको थियो।
फिमेलतर्फको मुख्य उपाधि भने सोफिया बलामीले जितेकी छिन् । प्रतियोगिताले बालबालिकामा रहेको प्रतिभा पहिचान गर्दै उनीहरूको आत्मविश्वास, व्यक्तित्व तथा सिर्जनात्मक क्षमताको विकासमा योगदान पुर्याउने आयोजकको उद्देश्य रहेको थियो।





















