धुलिखेल-काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १२ मा अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको हक्की खेल प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानबीर तामाङको विशेष पहल र समन्वयमा समिति र धुलिखेल नगरपालिकाबीच करिब २०० रोपनी फराकिलो जग्गामा उक्त पूर्वाधार निर्माण गर्ने सम्झौता सम्पन्न भएको हो।
यो महत्त्वाकाङ्क्षी योजनाले धुलिखेललाई खेल पर्यटनको रूपमा विकास गर्नुका साथै स्थानीय खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन ठूलो टेवा पुर्याउने विश्वास गरिएको छ। धुलिखेल नगरपालिका वडा नं. १२ मा बन्ने यस परियोजनाका लागि आवश्यक बजेट युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट विनियोजन गरिएको छ।
जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानवीर वाइवा तामाङले यस परियोजनालाई काभ्रेली खेलकुदको इतिहासमा एक स्वर्णिम फड्कोको रूपमा लिनुभएको छ। यस ऐतिहासिक सम्झौतापछि खुसी व्यक्त गर्दै उहाँले धुलिखेलमा बन्न लागेको यो अन्तर्राष्ट्रिय हक्की प्रशिक्षण केन्द्रले हाम्रा स्थानीय खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, बजेट व्यवस्थापनका लागि उहाँले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ।
यस योजनाका लागि आवश्यक बजेट विनियोजन भएलगत्तै जिल्ला खेलकुद विकास समिति र धुलिखेल नगरपालिकाले संयुक्त रूपमा सम्बन्धित निकायहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। यसबारे धारणा राख्दै धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगमले नगरपालिकाभित्र यति ठूलो र अन्तर्राष्ट्रिय स्तरको खेल पूर्वाधार भित्रिनु सम्पूर्ण धुलिखेलवासीका लागि गर्वको विषय भएको बताउनुभयो। करिब २०० रोपनी जग्गामा बन्ने यस केन्द्रले धुलिखेललाई खेल पर्यटनको हब बनाउनुका साथै सिङ्गो जिल्लाको खेलकुद विकासमा ठूलो टेवा पुर्याउने र आफूहरू जिल्ला खेलकुद विकास समितिसँग पूर्ण समन्वय गरेर यसलाई द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता उहाँले जनाउनुभयो।
अन्तर्राष्ट्रिय स्तरको यो हक्की प्रशिक्षण केन्द्र निर्माण सम्पन्न भएपश्चात् काभ्रे जिल्ला हक्की खेल मात्र नभई समग्र खेलकुद क्षेत्रको प्रमुख तालिम केन्द्रका रूपमा स्थापित हुने विश्वास लिइएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















