काठमाडौं । नेपाल तामाङ कलाकार संघको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) को प्रमुख आतिथ्यतामा शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात हलमा साधारण सभा सम्पन्न भएको हो।
नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तामाङ कला, संगीत, तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र कलाकारहरूको संस्थागत विकासका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन तथा वरिष्ठ गायक एवं संगीतकार सुरेश अधिकारी विशेष अतिथिका रूपमा सहभागी थिए। त्यस्तै वरिष्ठ गायक चन्द्रकुमार मोक्तान, चन्द्रकुमार दोङ, लगायतका कलाकार तथा स्रष्टाहरूको उपस्थिति रहेको थियो।
सभामा नेपाल तामाङ कलाकार संघका सल्लाहकारहरू रोज मोक्तान, जमुना योञ्जन, इन्दिरा योञ्जन, सञ्जीव वाइवा र विश्व दोङको समेत सहभागिता रहेको थियो। त्यसैगरी तामाङ चलचित्रकी नायिका चाँदनी मोक्तान, कलाकार सानु वाइवा, नेपाल तामाङ घेदुङका उपमहासचिव विलम मोक्तान, तामाङ संघ नेपालका अध्यक्ष दावा वाङ्गेल मोक्तान, तामाङ चलचित्र संघका उपाध्यक्ष उत्तर लामा, म्हेन्दोमाया कलाकार संघका महासचिव शिशिर तामाङ, तामाङ ढजाङका अध्यक्ष फूलकुमार बम्जनलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात डम्फू बजाउँदै राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि संघका सचिव योगेश लामाले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, कलाकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई स्वागत गरेका थिए।
वार्षिक साधारण सभाका क्रममा संघले विगतमा सञ्चालन गरेका गतिविधि, संस्थागत प्रगति तथा आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमका विषयमा छलफल गरिएको थियो। तामाङ मौलिक गीत–संगीत, चलचित्र, नृत्य तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्ताका कलाकारलाई प्रोत्साहन गर्ने विषयलाई समेत प्राथमिकताका साथ उठाइएको थियो।
तामाङ समुदायको भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणमा कलाकारहरूको भूमिका महत्वपूर्ण रहने भएकाले कलाकारबीचको एकता, सहकार्य र संस्थागत सक्रियतालाई थप बलियो बनाउँदै लैजानुपर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिएका थिए।
त्यसैगरी तामाङ कलाकारहरूले सिर्जना गर्दै आएका मौलिक गीत–संगीत तथा सांस्कृतिक सामग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन आवश्यक पहल गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। कलाकारहरूको सिर्जनालाई सम्मान, प्रोत्साहन र संरक्षण गर्ने वातावरण निर्माण गर्न सम्बन्धित संघसंस्था तथा समुदायबीच सहकार्य आवश्यक रहेको धारणा सहभागीहरूले राखेका थिए।
नेपाल तामाङ कलाकार संघले स्थापनाकालदेखि तामाङ कला, संगीत र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउँदै आएको छ। १९औँ वार्षिक साधारण सभाले संस्थागत गतिविधिलाई थप व्यवस्थित गर्दै आगामी दिनमा तामाङ कलाकार तथा स्रष्टाको हित र तामाङ मौलिक कला–संस्कृतिको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने दिशामा थप ऊर्जा प्रदान गरेको संघले जनाएको छ।
कार्यक्रमको सञ्चालन संघका महासचिव खेम मोक्तानले गरेका थिए।





















