भक्तपुर । नेपालीहरूको महान् पर्व बडादसैँको अवसर पारेर भक्तपुरको सल्लाघारीमा ‘दसैँ रमाइलो महोत्सव–२०८३’ आयोजना हुने भएको छ।
औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा असोज २१ गते बुधबारदेखि असोज ३० गतेसम्म भक्तपुर नगरपालिका–१ स्थित सल्लाघारी खुला चौरमा महोत्सव सञ्चालन हुने भएको हो।
महोत्सवबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक संगम लामाले दसैँको अवसरमा सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय उत्पादन, व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो।
महोत्सवमा दैनिक जीवनमा प्रयोग हुने सामग्री, खाद्यान्न, अटोमोबाइल, जुत्ता–चप्पल, कृषि तथा हस्तकलाका सामग्रीलगायत विभिन्न वस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्। महोत्सवमा ५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।
बालबालिका तथा परिवारका लागि मनोरञ्जनका विभिन्न सामग्रीसमेत राखिने भएको छ। बालउद्यान, रोटेपिङ, झुला, नाउ, मिनी बन्जी जम्प, वाटर बल, मिकी माउस, ट्राम्पोलिनलगायतका खेल तथा मनोरञ्जनका सामग्री महोत्सवका आकर्षणका रूपमा रहनेछन्।
त्यसैगरी महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्ग्य तथा गीत–संगीतका कार्यक्रम सञ्चालन हुनेछन्। हरेक दिन खुला नृत्य प्रतियोगिता समेत आयोजना गरिने संयोजक लामाले बताउनुभयो।
स्थानीय व्यापारी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्टलको आकारअनुसार न्यून शुल्कमा स्टल उपलब्ध गराउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
महोत्सवमा विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
आयोजकका अनुसार महोत्सवले भक्तपुरको स्थानीय उत्पादन, व्यापार, कला–संस्कृति तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरमा आयोजना हुने महोत्सवले स्थानीय व्यवसायी तथा उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने आयोजकको विश्वास छ।
महोत्सवलाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी पूरा भइसकेको तथा अहिले स्टल निर्माणलगायतका काम भइरहेको संयोजक लामाले जानकारी दिनुभयो। उहाँले भक्तपुरवासी तथा सर्वसाधारणलाई महोत्सवमा सहभागी भई मनोरञ्जन लिन आग्रह गर्नुभयो।
महोत्सवमा के.डी. श्री डान्स कल्चर एकेडेमी प्रा.लि.को विशेष प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।




















