४ फाल्गुण २०७४
काठमाडौं/पार्टी एकताकोबारेमा कुरा नमिलेपछि सरकारमा सहभागी नभएका माओवादी केन्द्र अब चाँडै सरकारमा सहभागी हुने भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाचौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा सहभागी हुने र पार्टी एकताबारे आजभोलि नै टुंगो लगाउने बताएका हुन् । अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग हुने पार्टी एकताका लागि छलफल भइरहेको बताउँदैे पार्टी एकता र सरकार निर्माणको विषयमा एमालेसँगको छलफल सकरात्मक रहेको बताएका छन् ।

‘एमालेसँग पार्टी एकता, मन्त्रालय बाँडफाँड, सरकार निर्माण र राजनीतिक नियुक्तिका विषयमा सहमति बनाउने प्रयास भइरहेको छ’, प्रचण्डले भने, ‘माओवादी केन्द्रले सरकारमा मन्त्री नपठाउँदा प्रश्न उब्जेको छ, पार्टी एकता र सरकारमा सहभागिताबारे आजभोलि नै सहमति हुन्छ ।’ प्रचण्डले सरकारले गर्न नसकेका काम अहिलेको सरकारले गरेर देखाउने भन्दै नयाँ सरकार गुणात्मक रुपले धेरै काम गर्ने दावी पनि गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।