Oplus_16908288

मिलन दोङ तामाङ

क्वालालम्पुर, २० जुन – क्वालालम्पुर संघीय क्षेत्रको अध्यागमन विभाग (JIM WPKL) ले गएराति १२:०५ बजेबाट पुडु क्षेत्रको एक परिसरमा ‘अप्स कुटिप’ अन्तर्गत आकस्मिक कारबाही सञ्चालन गरेको छ।

 

यो संयुक्त विशेष अपरेसनमा विभिन्न निकायका १३७ जना अधिकारी तथा सुरक्षाकर्मी सहभागी भएका थिए। टोलीमा JIM WPKL का ३०, JIM सेलाङ्गोरका २७, JIM पुत्राजायाको प्रवर्तन विभागका १५ अधिकारी, प्रहरी मुख्यालय (IPK) का ३० सदस्य, क्वालालम्पुर सिटी हल (DBKL) का ३० सदस्य तथा राष्ट्रिय दर्ता विभाग (JPN) का ५ अधिकारी सहभागी थिए।

 

अपरेसनका क्रममा विभिन्न देशका ३२० जनाको जाँच गरिएको थियो। जाँचपछि अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा १८६ जना अवैध आप्रवासी (PATI) लाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा १४९ पुरुष र ३७ महिला रहेका छन्।

 

पक्राउ परेकामध्ये ११८ जना बंगलादेशी पुरुष, २८ जना इन्डोनेसियाली (७ पुरुष र २१ महिला), २६ जना म्यान्मारका नागरिक (१३ पुरुष र १३ महिला), ५ जना भियतनामी (३ पुरुष र २ महिला), ४ जना नेपाली पुरुष, २ जना भारतीय पुरुष, १ जना पाकिस्तानी पुरुष तथा २ जना चिनियाँ (१ पुरुष र १ महिला) रहेका छन्।

 

उनीहरूलाई वैध राहदानी वा परिचयपत्र बिना मलेसियामा बसोबास गरेको तथा भिसा अवधि नाघेर बसेको आशंकामा अध्यागमन ऐन १९५९/६३ अन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

 

अध्यागमन विभागले यस्तो कारबाहीले राजधानी क्षेत्रमा अवैध आप्रवासी नियन्त्रण गरी देशको सुरक्षा र सार्वभौमिकता कायम राख्न आफ्नो प्रतिबद्धता निरन्तर रहेको जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।