-सलन मगर काभ्रेली
मेरो जीवनका पानाहरू पल्टाएर विगत सम्झँदा कहिलेकाहीँ आफैलाई अनौठो लाग्छ (म कसरी ती भयावह दिनहरू पार गरेर यहाँसम्म आइपुगेँ होलारु ती कठिन घडीहरू सम्झँदा लाग्छ, मृत्यु मेरो अगाडि हजारौँ पटक आएर उभियो, तर हरेक पटक मलाई नछोई फर्कियो । कतिपय क्षणमा त मृत्यु र जीवनबीचको दूरी यति सानो थियो कि एउटा सामान्य गल्तीले पनि सम्पूर्ण जीवनको कथा त्यहीँ समाप्त हुन्थ्यो ।
आज शान्त वातावरणमा बसेर ती दिनहरू सम्झँदा मनमा अनेकौँ भावनाहरू एकसाथ उर्लिएर आउँछन् । आँखा अगाडि घुम्न थाल्छन् (ती अँध्यारा रातहरू, ती उकाली (ओराली, ती अनिश्चित यात्राहरू, ती सहयोद्धाहरूका अनुहार र जीवनको कुनै भरोसा नभएका ती कठिन क्षणहरू ।
यो २०६१ सालतिरको कुरा हो । त्यतिबेला देशमा सशस्त्र द्वन्द्व उत्कर्षतिर अघि बढिरहेको थियो । चारैतिर युद्धको भयावह वातावरण थियो। गाउँबस्तीमा त्रास थियो, सडकहरू असुरक्षित थिए र हरेक यात्रामा मृत्युको सम्भावना लुकेको हुन्थ्यो ।
त्यही समयको एउटा अविस्मरणीय घटनाले आज पनि मेरो मनको गहिराइमा अमिट छाप छोडेको छ। त्यो घटना केवल मेरो व्यक्तिगत जीवनको स्मृति होइन, कठिन परिस्थितिमा सहयोद्धाबीच स्थापित हुने विश्वास, आत्मीयता र सङ्घर्षको एउटा जीवन्त कथा पनि हो ।
अमरसँगको त्यो जिम्मेवारीपूर्ण यात्रा
त्यस यात्रामा मसँगै हुनुहुन्थ्यो, मेरा सहयोद्धा साथी अमर। अमर र म पूर्वी मोर्चाका महत्त्वपूर्ण घटनाहरू समेटिएका भिडियो रेकर्डहरू बोकेर तेह्रथुमबाट संखुवासभाको ऐतिहासिक गुफाबजार हुँदै सोलुखुम्बुतर्फ अघि बढिरहेका थियौँ। हामीले बोकेका ती भिडियो रेकर्डहरू तत्कालीन सङ्घर्षका घटनाहरूलाई सुरक्षित राख्ने महत्त्वपूर्ण दस्तावेज थिए। तिनलाई सुरक्षित गन्तव्यसम्म पुर्याउनु हाम्रो जिम्मेवारी थियो ।
मलाई त्यस क्षेत्रको भूगोल, बाटो र सेल्टरहरूको खासै जानकारी थिएन। तर अमरलाई ती ठाउँहरूको राम्रो जानकारी थियो। उहाँको अनुभव र जानकारीमा भरोसा गर्दै म पाइला चालिरहेको थिएँ। कठिन परिस्थितिमा उहाँ मेरो मार्गदर्शक हुनुहुन्थ्यो भने म उहाँको सहयात्री ।
हामीबीचको सम्बन्ध केवल एउटै बाटोमा हिँडिरहेका दुई व्यक्तिको सम्बन्ध थिएन। त्यो विश्वासमा बाँधिएको सहयात्रा थियो, जिम्मेवारीले जोडिएको आत्मीयता थियो र कठिनाइका बीच एकअर्कालाई भरोसा दिलाउँदै अघि बढ्ने सङ्कल्प थियो ।
मृत्युले शिरमाथि बुट बजारिरहेको रात
यात्राकै क्रममा हामी एक रात नुनढेकीमा बास बस्यौँ। अर्को दिन साँझ संखुवासभाको चैनपुर क्षेत्र नजिकै पोखरी हुँदै बाटो पार गर्नुपर्ने थियो ।
दिन ढल्दै थियो। रातले बिस्तारै आफ्नो अँध्यारो च्यादर फैलाउँदै थियो। हामी पोखरीतर्फ अघि बढिरहेका थियौँ। त्यही बेला अचानक हाम्रो कानमा शाही सेनाका बुट बजेको भयानक आवाज ठोक्कियो ।
त्यो आवाज सामान्य थिएन। त्यसमा एउटा अनिष्टको सङ्केत थियो। हामीले एकछिन पनि ढिलाइ नगरी सडकको मुनितिर झरेर आफूलाई लुकायौँ ।
अँध्यारो रात थियो। सडकमा एम्बुस पड्किन सक्ने आशंकाले सेनाहरू तीव्र गतिमा दौडिरहेका थिए। उनीहरूका बुटको आवाज क्रमशः नजिकिँदै आयो ।
त्यो क्षणको अनुभूति शब्दमा वर्णन गर्न सजिलो छैन। मुटु जोडले धड्किरहेको थियो। सास फेर्दासमेत आवाज निस्केला कि भन्ने डर थियो। वरिपरि घना अन्धकार थियो ।
सेनाहरू दौडिँदै आएर हामी लुकेको ठाउँको डिलमै आइपुगे। उनीहरू ठ्याक्कै हाम्रो शिरमाथि उभिएजस्तो भयो ।
म सेनाका बुटमुनि नै थिएँ। हात बढाएको भए उनीहरूको कपडासम्म समात्न सक्ने दूरीमा। मृत्यु यति नजिकबाट अगाडि उभिएको थियो कि त्यस क्षणको भय आज पनि सम्झँदा शरीरमा सिहरन पैदा हुन्छ ।
मैले अमरलाई हातले चुप लाग्न सङ्केत गरेँ। हामी दुवै निःशब्द थियौँ। त्यहाँ एउटा सानो आवाज वा असावधानीले पनि हाम्रो जीवनको दिशा बदल्न सक्थ्यो ।
त्यो क्षण हामीसँग कुनै ठूलो शक्ति थिएन, कुनै सुरक्षित आश्रय थिएन। हामीसँग थियो त केवल संयम, एकअर्काप्रतिको विश्वास र आफूले बोकेको जिम्मेवारी पूरा गर्नुपर्ने अठोट। समय नै रोकिएजस्तो लाग्थ्यो। एक-एक सेकेन्ड घण्टाजस्तो भारी भइरहेको थियो ।
केही समयपछि परिस्थिति अनुकूल बन्दै गयो। हामी त्यो प्रत्यक्ष जोखिमबाट जोगियौँ र चिचिलातर्फ हुँदै सुरक्षित रूपमा अगाडि बढ्न सफल भयौँ। त्यो रात हामीले जीवनको एउटा कठोर परीक्षा पार गरेका थियौँ ।
सोलुखुम्बुको कठिन भूगोल र सहयात्राको अर्थ
संखुवासभा पार गरेपछि हामी भोजपुर हुँदै फेरि सोलुखुम्बुतर्फ लाग्यौँ। हामी दुई जना मात्रै थियौँ ( म र अमर। कहिलेकाहीँ म उहाँलाई हौसला दिन्थेँ, कहिलेकाहीँ उहाँले मलाई अघि बढ्न प्रेरित गर्नुहुन्थ्यो ।
सोलुखुम्बुको चिसो भूगोल, उकाली(ओराली र झाडीले छोपिएका गोरेटाहरू पार गर्दै हामी अघि बढिरहेका थियौँ। हामीले प्रयोग गर्ने पूर्वनिर्धारित सेल्टर र पोस्टहरूमा सेनाले अघि-अघि नै पुगेर रासन जलाउने तथा संरचनाहरू ध्वस्त पार्ने गरेको खबर पाउँथ्यौँ ।
हाम्रा लागि हरेक दिन नयाँ चुनौती बोकेर आउँथ्यो। कहिले बासको समस्या, कहिले खानपिनको अभाव, कहिले बाटोको अनिश्चितता। त्यस्तो परिस्थितिमा स्थानीय जनताको घरमा आश्रय लिँदै हामीले यात्रा अगाडि बढायौँ । कठिन समयमा अपरिचित मानिसबाट प्राप्त सानो सहयोगको मूल्य कति ठूलो हुँदोरहेछ भन्ने कुरा त्यतिबेला गहिरोसँग महसुस हुन्थ्यो ।
हामीले ती दिनहरूमा भोक, थकान, चिसो र अनिश्चिततासँग सामना गर्यौँ। तर अमर र मेरो बीचमा रहेको विश्वासले कठिन यात्रालाई अघि बढाउन सहयोग गरिरह्यो ।
जीवनका कतिपय सम्बन्धहरू सुखका दिनमा बनेका हुँदैनन्। ती दुःख, अभाव, जोखिम र अनिश्चितताका बीच जन्मिन्छन् । त्यसैले ती सम्बन्धहरू समयसँगै अझ गहिरा र अर्थपूर्ण बन्दै जान्छन् ।
गन्तव्यसम्मको अन्तिम यात्रा
पूर्वबाट रामेछापतर्फ आउँदा पनि हामीले चाहेर आफ्ना पूर्वनिर्धारित सेल्टरहरू प्रयोग गर्न पाएनौँ। हामीले दिउँसोको समयमा बाइनाकुलरबाट बाटो र वरपरको अवस्था हेर्दै, सेनाको गस्ती तथा उपस्थितिबारे जानकारी लिँदै यात्रा अगाडि बढाउँथ्यौँ ।
यसरी कठिन भूगोल पार गर्दै हामी भकान्जे पुग्यौँ। त्यसपछि रामेछापको बाम्ती भण्डार हुँदै उत्तरतर्फ मुख्यालय पुग्ने यात्रा जारी राख्यौँ। अन्ततः हामी गन्तव्यमा पुग्यौँ ।
हामीले आफूसँग सुरक्षित राखेका युद्धसम्बन्धी सामग्री र पूर्वी मोर्चाका अमूल्य भिडियो रेकर्डहरू जिम्मेवार निकायलाई बुझायौँ। त्यो क्षण हाम्रो यात्राको महत्त्वपूर्ण चरण पूरा भएको थियो ।
आजको अनुभूति
आज धेरै समय बितिसकेको छ। २०६१ सालको त्यो घटना इतिहासको एउटा पानामा सीमित भएको हुन सक्छ, तर मेरो स्मृतिमा त्यो अझै जीवन्त छ ।
२०६१ सालका ती कठिन दिनहरूले मलाई जीवनको मूल्य बुझाए। मृत्युको सम्भावना नजिकबाट देख्दा बाँच्नुको अर्थ अझ गहिरो हुँदोरहेछ। सहयोद्धासँग कठिन बाटो पार गर्दा विश्वासको महत्त्व बुझिँदोरहेछ ।
म ती दिनहरूको स्मरण गर्दा केवल आफ्नो साहसको कथा सुनाउन चाहन्नँ । म त सहयोद्धा अमरसँगको त्यो अविस्मरणीय सहयात्रालाई सम्मानपूर्वक स्मृतिमा राख्न चाहन्छु ।
२०६१ सालको त्यो रात मेरो जीवनको एउटा यस्तो अध्याय हो, जहाँ मृत्यु नजिक थियो, तर जीवनप्रतिको आशा मरेको थिएन। अँध्यारो गहिरो थियो, तर मनभित्रको विश्वास निभेको थिएन । बाटो कठिन थियो, तर सहयोद्धाको साथ छुटेको थिएन ।
समय बितेर जाला, उमेर बढेर जाला, तर जीवनका केही स्मृतिहरू कहिल्यै पुराना हुँदैनन् । यसरी कठिन भूगोल पार गर्दै हामी भकान्जे पुग्यौँ। त्यसपछि रामेछापको बाम्ती भण्डार हुँदै उत्तरतर्फ मुख्यालय पुग्ने यात्रा जारी राख्यौँ। अन्ततः हामी गन्तव्यमा पुग्यौँ ।
हामीले आफूसँग सुरक्षित राखेका युद्धसम्बन्धी सामग्री र पूर्वी मोर्चाका अमूल्य भिडियो रेकर्डहरू जिम्मेवार निकायलाई बुझायौँ । त्यो क्षण हाम्रो यात्राको महत्त्वपूर्ण चरण पूरा भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















