काभ्रेपलाञ्चोक- अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ ।

थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी निर्माणलाई अहिले तीव्रता दिइएको सूर्यविनायक–धुलिखेल आयोजनाले जनाएको छ ।

त्यस क्रममा केही दिनदेखि बनेपा बजार क्षेत्रमा ढल व्यवस्थापनसँगै पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्रको काम थालिएको हो । भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १६ किलोमिटर सडकखण्डलाई छ लेनको कामअन्तर्गत दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो ।

साँगा–धुलिखेलतर्फको आठ किलोमिटर दूरीको सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते भएको सम्झौता अनुसार २०८२ मङ्सिर २५ गते सम्पन्न गर्नुपर्ने थियो । त्यसका लागि लामा कन्स्ट्रक्सन प्रालीले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएकामा तोकिएको अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएपछि थप एक वर्ष समय थपिएको हो ।

सूर्यविनायकदेखि साँगा र साँगादेखि धुलिखेलसम्मको १५ दशमलव आठ किमी सडक दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर विजयकुमार महतोले आयोजनाको कामलाई निर्धारित समयमा नै सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताए । उनका अनुसार हालसम्म काभ्रेपलाञ्चोक तर्फ साँगादेखि धुलिखेलसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ ।

भक्तपुरतर्फ सूर्यविनायकदेखि साँगासम्म ५४ प्रतिशत काम भएको महतोको भनाइ छ ।

भक्तपुरतर्फ सडक विस्तारको काम ढिलो ठेक्का सम्झौता भएकाले कम प्रगति देखिएको आयोजनाले जनाएको छ । काभ्रेपलाञ्चोक तर्फ हालसम्म साढे तीन किलोमिटर सडक छ लेनमा नै पहिलो लेयरको कालोपत्र भएको महतोले जानकारी दिए।

“साँगादेखि धुलिखेलसम्मको सात दशमलव नौ किमी सडकमध्ये साढे छ किमी चार लेनमा पहिलो लेयरको कालोपत्र भएको र अब काभ्रेतर्फ डेढ किमी सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको छ”, महतोले भने । साँगा–धुलिखेल खण्डको निर्माण व्यवसायीसँगको सम्झौताको म्याद आगामी मङ्सिर २३ गतेसम्म रहेकाले कुनै अप्ठ्यारो परिस्थिति नआए निर्धारित समयमै मुख्य काम सकिने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार सूर्यविनायकदेखि साँगा खण्डमा हालसम्म ‘साइड स्ट्रक्चर’को काम लगभग सकिएको छ । भक्तपुरतर्फ हालसम्म डेढ किमी सडक छ–लेनमै पहिलो कालोपत्र सकिएको छ भने साँगाको अण्डरपासमा दुई लेनमा एक दशमलव दुई किमी सडकमा पहिलो तहको कालोपत्र भएको महतोले जानकारी दिनुभयो । भक्तपुरतर्फ सडक विस्तारको म्याद आगामी फागुन महिनामा सकिँदैछ ।

सूर्यविनायक–साँगा खण्डको सात दशमलव तीन किमी सडकका लागि विसं २०७९ पुसमा आशिषकुमार श्रेष्ठ–बन्धन–भगवती जेभीसँग भ्याटसहित रु तीन अर्ब ८८ करोड ९३ लाखमा आयोजनासँग ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीले समयसीमाभित्र मुख्य कामसक्ने र बाँकी कामका लागि केही समय थपेर २०८४ असार महिनाभित्र सडकको सम्पूर्ण काम सम्पन्न गराउन सकिने महतोको भनाइ छ । सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्ड विस्तारको कामले पछिल्लो महिनादेखि तीव्रता लिए पनि राजमार्ग अन्तर्गतको जगाति खोला, महादेवखोला, पुण्यमाता खोलामा पुल नबनेका कारण यातायात सञ्चालनमा केही समस्या देखिएको छ । ती स्थानमा राति मालवाहक सवारीसाधन सञ्चालन हुने भएकाले पुल निर्माण हुने स्थानमा खाल्डाखुल्डी र सवारीसाधनको जाम हुने गरेको छ । -रासस

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।