भक्तपुर । तामाङ सांगीतिक क्षेत्रमा विगत लामो समयसम्म सक्रिय गायक चन्द्र सिं दोङको स्वरमा दुई दशक अन्तरालपछि फेरि  नयाँ तामाङ दोहोरी गीत ‘धोङ जोला चरी मैना’ सार्वजनिक भएको छ। तामाङ दोहोरीको मौलिक मिठास र सांगीतिक स्वाद समेटिएको उक्त गीत गायक दोङको आधिकारिक युट्युब च्यानलमार्फत बजारमा आएको हो।

तामाङ गीतसंगीतप्रति समर्पित गायक दोङले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै यसपटक श्रोता तथा दर्शकमाझ नयाँ कोशेली पस्किएका हुन्। गीतमा चन्द्र सिं दोङ र सुमिना लोको स्वर रहेको छ भने शब्द तथा संगीत सपुत दोङले तयार पारेका हुन्। गीतको एरेन्ज विश्व दोङले गरेका छन् भने अडियो मिक्सिङ दिपेश प्रधानले गरेका हुन्।

गायक चन्द्र सिं दोङको सांगीतिक यात्रा वि.सं. २०५२ सालदेखि सुरु भएको हो। ‘बोन्बोला तेमरेल, लामाला खे’ एल्बमबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनले वि.सं. २०५५ सालमा ‘डिहिला म्हेन्दो’ एल्बमको चौथो भागसम्म आफ्नो स्वर दिएका थिए।

विशेषगरी जनवादी गीतसंगीतमार्फत जनताको आवाज, माटोको सुगन्ध र सामाजिक यथार्थलाई गीतका माध्यमबाट अभिव्यक्त गर्दै आएका दोङको सांगीतिक यात्रामा अनेकौँ संघर्ष, अनुभव र समयका उतारचढाव जोडिएका छन्। लामो समयदेखि संगीतलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउँदै आएका उनले नयाँ गीतमार्फत तामाङ मौलिक संगीत र दोहोरी परम्परालाई निरन्तरता दिने प्रयास गरेका छन्।

‘धोङ जोला चरी मैना’ तामाङ दोहोरीको मिठास मन पराउने श्रोता तथा संगीतप्रेमीका लागि नयाँ सांगीतिक उपहार बनेको छ। तामाङ भाषा, संस्कृति र मौलिक सांगीतिक पहिचानलाई गीतसंगीतका माध्यमबाट जीवन्त राख्न यस्ता सिर्जनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

गीत सुन्नका लागि: गायक चन्द्र सिं दोङको आधिकारिक युट्युब च्यानलमा ‘धोङ जोला चरी मैना’ खोजेर सुन्न सकिनेछ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।