फाइल फोटो

धुलिखेल- आसन्न तिहार पर्व, २०८३ लाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक जिल्लामा मुख्य तथा सहायक सडकहरूमा टिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले एक सूचना जारी गर्दै यससम्बन्धी जानकारी गराएको हो ।

वि.पी. राजमार्ग, अरनिको राजमार्ग लगायतका सडकहरूमा चाडपर्वको बेला हुने सवारी चाप र त्यसबाट सिर्जना हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारी साधनहरूको आवागमनलाई सहज बनाउन यो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिएका छन् । जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको मिति २०८३ साल असोज/कार्तिक १९ गते बसेको बैठकको निर्णयअनुसार यो प्रतिबन्ध लगाइएको हो ।

सूचना अनुसार मिति २०८३ साल कार्तिक २२ गते बिहान ५:०० बजेदेखि कार्तिक २६ गते बेलुका ९:०० बजेसम्म जिल्ला भित्रका मुख्य र सहायक सडकहरूमा टिपर सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई विशेष अनुरोध गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।