रोशी- काभ्रेपलाञ्चोक रोशी गाउँपालिका अन्तर्गत सञ्चालन हुन लागेको गौरवको आयोजना ‘नार्के किर्दास खार्पाचोक सडक स्तरउन्नति’ आयोजनालाई थप पारदर्शी, गुणस्तरीय र जनमुखी बनाउन स्थानीय सचेत युवा तथा सरोकारवाला नागरिकहरूले गाउँपालिकाको प्राविधिक शाखा र कार्यकारी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन्।
स्थानीय युवा क्षितिज तामाङको नेतृत्वमा पेस गरिएको यस ध्यानाकर्षण पत्रमा आयोजनाको प्रस्थान विन्दुदेखि लिएर निर्माणको गुणस्तर र स्थानीय समन्वयसम्मका विविध पक्षमा कडा निगरानी तथा नियमनको माग गरिएको छ। गाउँपालिकाको कार्यालयमा पुगेर उनीहरुले गाउँपालिका अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिमबहादुर वाइबालाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
के छ ध्यानाकर्षण पत्रमा ?
नार्केबाटै प्रस्थान विन्दु कायम गर्नुपर्ने: यस आयोजनाको प्राविधिक नापजाँच र सुरुवात विन्दु अनिवार्य रूपमा नार्केबाटै कायम हुनुपर्ने र सोही अनुसार डिजाइन फाइनल गर्नुपर्ने स्थानीयको जोडदार माग छ।
पारदर्शी र खुला प्रतिस्पर्धा: बोलपत्र प्रक्रियामा कुनै निश्चित फर्म वा ठेकेदारलाई मात्र लाभ पुग्ने गरी बन्देजकारी सर्तहरू नराखी स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।
गुणस्तरमा शून्य सहनशीलता: ठेक्का प्रक्रिया पश्चात् सम्झौता बमोजिम नाला निर्माण, ग्राभेलको मोटाइ , पर्खाल तथा सडकको चौडाइमा प्राविधिक मापदण्ड अनुसार उच्च गुणस्तर कायम राख्न माग गरिएको छ।
स्थानीय युवा सहभागिता र समन्वय: निर्माण कार्यका लागि आवश्यक जनशक्ति परिचालन गर्दा स्थानीय योग्य युवाहरूलाई प्राथमिकता दिनुपर्ने तथा ठेकेदार, पालिकाका प्रतिनिधि र स्थानीय युवाहरूबीच समन्वय बैठक सञ्चालन गरिनुपर्ने उल्लेख छ।
कानूनी कारबाहीको चेतावनी: खरिद प्रक्रियामा आर्थिक चलखेल वा पदीय दुरुपयोग पाइएमा सूचनाको हक प्रयोग गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म कानुनी उपचारका लागि जान बाध्य हुने चेतावनी दिइएको छ। ध्यानाकर्षण पत्र पेश गर्न गाउँपालिका कार्यालयमा रमेश लामा, मनराज तामाङ, एसिड लामा, राम सिं तामाङ, अजय तामाङ, चन्द्र कुमार लामा, भुसाल माया तामाङ र उत्तम लामा पुगेका थिए ।
उक्त सडक आयोजनाका लागि भ्याटसहित कुल १ करोड ८९ लाख १० हजार २५ रुपैयाँ ६८ पैसा बजेट विनियोजन भई प्रक्रिया अगाडि बढेको छ। स्थानीय बासिन्दाहरूले विकास निर्माणका कार्यमा पारदर्शिता, सुशासन र जनउत्तरदायित्वको उच्च प्रदर्शन हुने अपेक्षा राखेका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















