काठमाडौं- विदेशमा पसिना बगाएर बचेको रकमबाट तामाङ समाज यूएईले नेपालका विकट बस्तीका विद्यार्थी र विद्यालयलाई ठूलो आर्थिक तथा शैक्षिक सहयोग प्रदान गरेको छ। समाजले आफ्नो ‘शिक्षाका लागि समाज’ (सपोर्ट माई स्कुल) कार्यक्रम अन्तर्गत काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति, सामुदायिक विद्यालयहरूलाई नगद सहयोग, बाढीप्रभावितलाई राहत तथा कला र सञ्चार क्षेत्रका प्रतिभाहरूलाई नगदसहित सम्मान गरेको हो।
नेपाल तामाङ घेदुङको सभाहल चुच्चेपाटीमा शनिबार बागमती प्रदेश सरकारका मन्त्री ज्ञानबहादुर तामाङको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।
विद्यार्थीलाई छात्रवृत्ति र विद्यालयलाई लाखौँको सहयोग
समाजले सन् २०१२ देखि सञ्चालन गर्दै आएको कार्यक्रम अन्तर्गत धादिङको अर्मखु माविमा कक्षा १० मा अध्ययनरत अञ्जु तामाङ, काभ्रेपलाञ्चोकको सेतीदेवी माविबाट एसईई उत्तीर्ण निर्मान तामाङ र सिन्धुपाल्चोकको जालपादेवी माविमा अध्ययनरत छात्रा बिबिसा थिङ तामाङलाई जनही रु. २०/२० हजार नगद छात्रवृत्ति प्रदान गरेको छ।
त्यस्तै, ओखलढुंगाको भगवती आधारभूत विद्यालय र सिन्धुलीको नवज्योती आधारभूत विद्यालयलाई रु. १ लाख ११ हजार १११ का दरले सहयोग हस्तान्तरण गरिएको छ। सन् २०२५ देखि सहयोग रकम वृद्धि गर्दै समाजले रौतहटको हिलेश्वर आधारभूत विद्यालयलाई रु. १ लाख ५५ हजार ५५५ प्रदान गरेको छ।
कला, सञ्चार र बाढीपीडितलाई सहयोग
भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएबापत गायक तथा संगीतकार फूलकुमार बम्जन र सञ्चार क्षेत्रबाट योगदान पुर्याएबापत नेपाल टेलिभिजनका सम्पादक एवं प्रस्तोता वीरबल तामाङलाई दोसल्ला, तामाङ गोइलो, रु. २५ हजार नगद र सम्मानपत्रद्वारा सम्मान गरियो। संस्थागत योगदानका लागि संस्थापक अध्यक्ष छत्र लामा, पूर्व अध्यक्षहरू डिल्लीराम तामाङ र महेश मोक्तानलाई पनि सम्मान गरियो।
सोही अवसरमा भोटेकोशी बाढीप्रभावितका लागि संकलित रु. १ लाख २० हजार ५०५ राहत रकम नेपाल तामाङ घेदुङलाई हस्तान्तरण गरिएको थियो।
‘थोपा थोपा मिलाएर गरिएको सहयोग सराहनीय’
कार्यक्रमका प्रमुख अतिथि मन्त्री ज्ञानबहादुर तामाङले वैदेशिक रोजगारीमा रहेका युवाहरूले थोपा थोपा मिलाएर समुदायको शैक्षिक उन्नयनका लागि गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो।
संस्थापक अध्यक्ष छत्रबहादुर लामाले शिक्षाको कमीकै कारण तामाङ समुदाय पछाडि परेकाले यो अभियान थालिएको स्मरण गराउनुभयो। नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण तामाङ र समाजका अध्यक्ष सुरेन तामाङले अबको ध्यान एआई र प्रविधियुक्त गुणात्मक शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
सफलता थिङ तामाङको सहजीकरणमा सम्पन्न सो कार्यक्रममा तामाङ समाज यूएई नेपाल सम्पर्क समितिका अध्यक्ष निशान लामाले स्वागत मन्तव्य राख्नुभएको थियो भने विभिन्न क्षेत्रका अगुवाहरूले समाजको कार्यको प्रशंसा गर्नुभएको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















