धुलिखेल। धुलिखेल नगरपालिकाले कर्मचारीहरूको प्रविधिसम्बन्धी ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको दुईदिने सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी क्षमता विकास तालिम तथा कार्यशाला शनिबार सम्पन्न भएको छ।
कार्तिक १३ र १४ गते धुलिखेल नगरपालिकाको आयोजनामा नगरसभाहलमा सञ्चालन भएको तालिममा नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, वडा सचिव तथा वडा सहायक कर्मचारी लगायतको सहभागिता रहेको थियो।
तालिमको उद्घाटन धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगमले गरेका थिए भने समापन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले गरेका थिए।

तालिममा धुलिखेल नगरपालिकाका सूचना प्रविधि अधिकृत एवं सूचना अधिकारी बलराम धिमाल र राजकुमार सारुमगरले प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा इन्टरनेटको प्रभावकारी प्रयोग, सूचना प्रविधिको महत्त्व तथा दैनिक कार्यालय सञ्चालन र सेवा प्रवाहमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको उपयोगबारे जानकारी प्रदान गरिएको थियो।
तालिमलाई सहज र प्रभावकारी बनाउन प्रथम र दोस्रो गरी दुई चरणमा सञ्चालन गरिएको थियो। दुवै चरणमा कर्मचारीहरूलाई प्रविधिको व्यावहारिक प्रयोग, डिजिटल माध्यमबाट कार्यसम्पादन तथा एआईको उपयोगसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















