भक्तपुर । तामाङ भाषा, कला, संस्कृति र मौलिक संगीतको प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार गरिएको तामाङ दोहोरी गीत ‘म्हार ढुङरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। कालिका तामाङ र बुद्धिमाया तामाङ मोक्तानको प्रस्तुतिमा तयार भएको उक्त गीतले तामाङ मौलिक दोहोरीको स्वाद दर्शकमाझ पस्किने अपेक्षा गरिएको छ।

तामाङ गीतसंगीतको मौलिक पहिचान बोकेको ‘म्हार डुङरी’ मा चर्चित गीतकार तथा संगीतकार ज्ञानदास तामाङको शब्द तथा संगीत रहेको छ भने गीतमा गायक मादन ग्लानले स्वर दिएका छन्।

म्युजिक भिडियोको निर्देशन तथा छायांकन सुनिल कुमार मोक्तानले गरेका हुन्। भिडियोमा नवमोडल सागर गोले र क्यालिआना तामाङ मुख्य भूमिकामा देखिएका छन्। क्यालिआना तामाङको यो दोस्रो म्युजिक भिडियो हो भने सागर गोलेले यसै गीतमार्फत म्युजिक भिडियोमा पहिलोपटक अभिनय गरेका छन्।

त्यसैगरी, भिडियोमा तामाङ कमेडी क्षेत्रका परिचित कलाकार उदश लामा (ट्यापे), सन्तोष गोले, गोर्खा घिसिङ, हिमाल योञ्जनलगायत कलाकारहरूको अभिनय रहेको छ।

गीतकार तथा संगीतकार ज्ञानदास तामाङ तामाङ गीतसंगीतका क्षेत्रमा परिचित नाम हुन्। नेपाली प्रेमगीतसँगै तामाङ समुदायका लागि विभिन्न लोकप्रिय गीत सिर्जना गर्दै आएका उनले ‘व्हाम्सी एदा थान्के म्हान्मु’ जस्ता गीतमार्फत आफ्नो सांगीतिक पहिचान स्थापित गरेका छन्। उनका सिर्जनाले तामाङ संगीतप्रेमीमाझ विशेष स्थान बनाएका छन्।

‘म्हार डुङरी’ मा प्रेमभाव, मौलिकता र तामाङ दोहोरीको सांगीतिक परम्परालाई समेट्ने प्रयास गरिएको छ। तामाङ भाषा, संस्कृति र सांगीतिक पहिचानलाई नयाँ पुस्तामाझ पुर्‍याउन गीतसंगीतले महत्वपूर्ण भूमिका खेल्ने विश्वास निर्माण पक्षले लिएको छ।

परिचित सर्जक तथा कलाकारहरूको सहभागितामा तयार भएको ‘म्हार डुङरी’ ले तामाङ गीतसंगीतप्रेमी दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

‘म्हार ढुङरी’ को म्युजिक भिडियो हेर्नुहोस्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।