पनौती- सदस्यसँगको सम्बन्ध थप मजबुत बनाउँदै सहकारीका सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले पनौतीमा समूह व्यवस्थापन तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार पनौती नगरपालिका–८ स्थित बन्जारा गाउँमा पनौती सेवा कार्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । पनौती सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक रमेशप्रसाद जंगमको सभापतित्वमा आयोजित कार्यक्रममा सदस्यका राय, सुझाव तथा गुनासा संकलन गर्दै आगामी कार्ययोजना निर्माणमा जोड दिइएको थियो ।
कार्यक्रममा सहकारीको मुख्य कार्यालयका लघुवित्त महाशाखा प्रमुख राजेन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए । उनले बचतको महत्त्व, ऋण लगानी तथा असुली, साधारणसभामा सदस्यको भूमिका र संस्थाले उपलब्ध गराउँदै आएका राहत तथा छुट सुविधाबारे जानकारी गराएका थिए । साथै, प्रभावकारी समूह सञ्चालन तथा संस्थाका परिवर्तित नीति, नियम र व्यवस्थाबारे पनि सदस्यलाई अवगत गराएका थिए ।
पनौती सेवा कार्यालयकी सहायक कार्यालय व्यवस्थापक सबिना सापकोटाले सञ्चालन गरेको कार्यक्रमको व्यवस्थापन लघुवित्त शाखा प्रमुख मिना श्रेष्ठले गरेकी थिइन् ।
कार्यक्रममा सहभागी सदस्यहरूले सहकारीका सेवा तथा नीतिबारे जानकारी लिनुका साथै आफ्ना गुनासा र सुझाव खुलेर राख्न पाएकोमा खुसी व्यक्त गरे । उनीहरूले सदस्यसँगको सम्बन्ध र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्ता अन्तरक्रिया कार्यक्रम प्रत्येक छ महिनामा आयोजना गर्न सुझाव दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















